बाबेलका निर्जीव मूर्तिहरू र जीवित परमेश्वर
46
“बेलक झुक्छ, नबोक निहुरिन्छ; तिनीहरूका मूर्तिहरू पशुहरू र गाईबस्तुमाथि छन्; तिमीहरूका गाड़ाहरू गह्रौं गरी लादिएका छन्; थाकेको पशुका निम्ति ती भार हुन्। 2 ती निहुरिन्छन्, ती सँग-सँगै झुक्छन्; तिनीहरूले त्यो भारी छुटाउन सकेनन्, तर ती आफै कैदमा गएका छन्।3 हे याकूबको घराना, र इस्राएलको घरानाको बाँकी रहेको भाग हो, मेरो कुरा ध्यानसित सुन, तिमीहरू, जो मद्वारा कोखबाट बोकिएका छौ, तिमीहरू, जो गर्भबाट नै बोकेर हिँड़ाइएका छौ; 4 अनि तिमीहरूको बूढ़ेसकालसम्म पनि म उही हुँ; अनि तिमीहरूको केश फुलेको अवस्थासम्मै म तिमीहरूलाई बोकेर हिँड़ाउनेछु; मैले नै बनाएँ, र म नै बोक्नेछु; अँ, म नै बोक्नेछु, र छुटाउनेछु।
5 तिमीहरू मलाई कोसँग दाँज्छौ, कसको बराबर तुल्याउँछौ? र हामी एकै किसिमका ठहरिनलाई मलाई कोसित तुलना गर्छौ? 6 तिनीहरू थैलीबाट प्रशस्त सुन झिक्छन्, र तराजुमा चाँदी तौलिन्छन्, अनि सुनारलाई भाड़ामा लिन्छन्; अनि त्यसले त्यसबाट एउटा देवता बनाउँछ; तिनीहरू लम्पसार पर्छन्, अँ, तिनीहरूले दण्डवत् गर्छन्। 7 तिनीहरूले त्यसलाई काँधमाथि उठाउँछन्, तिनीहरूले त्यसलाई बोक्छन्, अनि त्यसलाई त्यसकै ठाउँमा राख्छन्, र त्यो खड़ा रहन्छ; त्यो आफ्नो ठाउँबाट यताउता सर्नेछैन; अँ, कसैले त्यसलाई पुकारे पनि त्यसले जवाफ दिन सक्दैन, न ता त्यसले कसैलाई उसको विपत्तिबाट बचाउन सक्छ।
8 हे अपराधीहरूहो, यो कुरा सम्झना गर, पुरुषार्थ देखाओ; यो कुरा आफ्नो हृदयमा विचार गर! 9 प्राचीनकालदेखिका पहिले-पहिलेका कुराहरूको सम्झना गर; किनकि परमेश्वर म नै हुँ, र अरू कोही पनि छैन; म परमेश्वर हुँ, र मजस्तो अरू कोही पनि छैन, 10 म अन्तको कुरा शुरुदेखि नै, र अहिलेसम्म पूरा नभएका कुरा प्राचीनकालदेखि नै यसो भन्दै बताउँछु: ‘मेरो योजना स्थिर रहनेछ; अनि म मेरो सारा शुभेच्छा पूरा गर्नेछु। 11 म पूर्वबाट एउटा हिंस्रक पक्षीलाई, टाढ़ो देशबाट मेरो युक्ति पूरा गर्ने त्यस मानिसलाई बोलाउँछु; अँ, मैले भनेको छु, म त्यो पूरा पनि गर्नेछुख; मैले योजना बनाएको छु, म त्यो गर्ने पनि छु।