राजा कोरेस परमप्रभुको हतियार
45
“परमप्रभु आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्‍नुहुन्‍छ, जसको दाहिने हात जाति-जातिलाई उसको सामु दबाइराख्‍नलाई मैले समातेको छु, अनि उसको सामु दुई खापा भएका ढोकाहरू खोल्नलाई म राजाहरूको कम्मर खुकुलो पार्नेछु, र मूलढोकाहरू बन्द गरिनेछैनन्; 2 मचाहिँ तिम्रो अघि-अघि जानेछु, र खाल्टाखुल्टी ठाउँहरू समतल पार्नेछु; पित्तलका ढोकाहरू म तोड़्नेछु र फलामका आग्लाहरू काटेर टुक्रा-टुक्रा पार्नेछु। 3 अनि म तिमीलाई अन्धकारका धनहरू र गुप्‍त स्थानहरूमा लुकाइराखेको सम्पत्ति दिनेछु, र तिमीलाई नाम काढ़ेर बोलाउनुहुने परमप्रभु इस्राएलका परमेश्‍वर म नै हुँ भनी तिमीले जान्‍न सक। 4 मेरो दास याकूब र मेरो चुनिएको इस्राएलको खातिर मैले तिमीलाई नै तिम्रो नाम काढ़ेर बोलाएको छु; तिमीले मलाई नचिने तापनि मैले तिमीलाई एउटा उपनाम दिएको छु। 5 म परमप्रभु हुँ, र अरू कोही पनि छैन; म बाहेक अरू कुनै परमेश्‍वर छैन; तिमीले मलाई नचिने तापनि मैले तिम्रो कम्मर कसेको छु; 6 यस हेतुले कि मबाहेक अरू कोही पनि छैन; परमप्रभु म नै हुँ, र अरू कोही पनि छैन भन्‍ने कुरा पूर्वकाहरूले र पश्‍चिमकाहरूले जानून्। 7 ज्योति रच्‍ने र अन्धकार सृष्‍टि गर्ने म नै हुँ; शान्ति दिने र विपत्ति सृष्‍टि गर्ने म नै हुँ; यी सबै कुराहरू गर्नुे परमप्रभु म नै हुँ।
परमप्रभु सृष्‍टिको मालिक हुनुहुन्छ
8 हे आकाशहो, माथिबाट चुहाओ! अनि बादलहरूले धार्मिकता बर्साऊन्; पृथ्वी उघ्रोस्, र तिनीहरूले उद्धार फलाऊन्, अनि साथ-साथै धार्मिकता उम्रोस्; म परमप्रभुले यसलाई सृष्‍टि गरेको छु।
9 धिक्‍कार त्यसलाई, जसले आफ्नो रचनाकारसँग झगड़ा गर्छ! खपटाले पृथ्वीका खपटाहरूसँग झगड़ा गरोस्! के चिम्टे माटोले आफूलाई रच्‍ने कुमालेलाई ‘तिमीले के बनाउँदैछौ?’ भन्ला र? अथवा तिम्रो हातको कामले ‘उसका हातहरू छैनन्’ भन्ला र? 10 धिक्‍कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले के जन्माउनुहुन्छ?’ अथवा आमालाई ‘तपाईंले के जन्माउनुभएको छ?’ भनी भन्छ। 11 इस्राएलका पवित्र जन र उसलाई रच्‍नुहुने परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरूले मलाई मेरा छोराछोरीहरूको विषयमा हुन आउने कुराहरू सोध, अनि मेरा हातको कामको विषयमा मलाई आज्ञा गर! 12 मैले नै पृथ्वी बनाएँ, र त्यसमाथि मानिसलाई सृष्‍टि गरें; मैले, अँ, मेरा हातहरूले आकाश फैलाएका हुन्; अनि त्यसको सारा गणलाई मैले आज्ञा गरेको छु। 13 मैले नै उसलाई धार्मिकतामा उठाएको हुँ; अनि म उसका सबै मार्गहरू सीधा पार्नेछु; उसले मेरो शहर निर्माण गर्नेछ; अनि उसले मेरा कैदीहरूलाई विनादाम र विनाइनाम नै जान दिनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ।
14 परमप्रभुले यसो भन्‍नुहुन्‍छ: मिस्रको परिश्रमको फल, अनि कूशको आम्दानी र सबाकाहरू, जो ठूला कदका मानिस हुन्छन्, पारि तिमीकहाँ आउनेछन् र तिम्रा हुनेछन्; तिनीहरू तिम्रो पछि-पछि हिँड़्‍नेछन्; साङ्लामा बाँधिएको अवस्थामा तिनीहरू आउनेछन्, र तिमीलाई दण्‍डवत्‌ गर्नेछन्; अनि ‘निश्‍चय परमेश्‍वर तपाईंमा हुनुहुन्छ, र अरू कोही पनि छैन; अरू कुनै परमेश्‍वर छैन’ भन्दै तिनीहरूले तिमीलाई विन्‍ती गर्नेछन्। 15 हे इस्राएलका परमेश्‍वर, हे उद्धारकर्ता, निश्‍चय तपाईं परमेश्‍वर हुनुहुन्छ, जसले आफूलाई गुप्‍तमा राख्‍नुहुन्छ। 16 ती मूर्तिहरू बनाउनेहरूचाहिँ – तिनीहरू लज्जित हुनेछन्, र तिनीहरू सबै शर्ममा पर्नेछन्; तिनीहरू एकसाथ शर्ममा पर्नेछन्। 17 तर परमप्रभुमा अनन्त उद्धारले इस्राएलको उद्धार हुनेछ; तिमीहरू अनन्त-अनन्तसम्म न लज्जित हुनेछौ, न शर्ममा पर्नेछौ। 18 किनकि परमप्रभु, जसले आकाश सृष्‍टि गर्नुभयो, अँ, परमेश्‍वर आफै, जसले पृथ्वी रच्‍नुभयो र त्यसलाई बनाउनुभयो; उहाँले नै त्यसलाई स्थापित गर्नुभएको छ; उहाँले त्यसलाई व्यर्थमा सृष्‍टि गर्नुभएन, तर त्यो बसोबास गरिओस् भनेर रच्‍नुभयो; उहाँ यसो भन्‍नुहुन्‍छ: परमप्रभु म नै हुँ, र अरू कोही पनि छैन। 19 मैले गुप्‍तमा, पृथ्वीको कुनै अँध्यारो ठाउँमा बोलेको छैनँ; ‘तिमीहरूले मलाई व्यर्थमा खोज!’ भनी मैले याकूबको वंशलाई भनिनँ; म परमप्रभु धार्मिकता बोल्छु; जुन-जुन कुराहरू सठीक छन्, ती कुराहरू म बताउँछु।
20 हे जाति-जातिबाट उम्केकाहरूहो, भेला भएर आओ; एकसाथ नजिक आओ; जसले आफ्नो खोपिएको मूर्तिको काठ खड़ा गर्छन्, र बचाउन नसक्ने देवतालाई प्रार्थना गर्छन्, तिनीहरूसँग ज्ञान छैन। 21 बताओ, र तिनीहरूलाई नजिक ल्याओ; अँ, तिनीहरूले आपसमा सल्‍लाह गरून्; कसले प्राचीनकालदेखि यो सुनाएको छ? कसले त्यस समयदेखि यो कुरा बताएको छ? के म परमप्रभुले होइन र? अनि मबाहेक अरू कुनै परमेश्‍वर छैन – एक धर्मी परमेश्‍वर र उद्धारकर्ता; मबाहेक अरू कोही पनि छैन। 22 हे पृथ्वीका छेउ-छेउका मानिसहरूहो, मलाई हेर, र उद्धार पाओ; किनकि परमेश्‍वर म नै हुँ, र अरू कोही पनि छैन। 23 मैले आफ्नै नाममा शपथ खाएको छु; धार्मिकतासाथ मेरो मुखबाट वचन निस्केर गएको छ, र त्यो फर्कनेछैन: मेरो सामु हरेक घुँड़ा टेकिनेछ, हरेक जिब्रोले शपथ खानेछ। 24 कसैले भन्‍नेछ: ‘निश्‍चय परमप्रभुमा मेरो धार्मिकता र बल छ’; उहाँकहाँ नै मानिसहरू आउनेछन्; तर उहाँसँग क्रोधित हुने सबै लज्जित हुनेछन्। 25 परमप्रभुमा नै इस्राएलको सम्पूर्ण वंश धर्मी ठहरिनेछ, र गर्व गर्नेछ।”