इस्राएलका उद्धारकर्ता
43
“तर अब हे याकूब, तिमीलाई सृष्‍टि गर्नुहुने, अनि हे इस्राएल, तिमीलाई रच्‍नुहुने परमप्रभुले यसो भन्‍नुहुन्‍छ: नडराऊ; किनकि मैले तिमीलाई दाम तिरेर छुटाएको छु; मैले तिमीलाई तिम्रो नाम काढ़ेर बोलाएको छु; तिमी मेरा हौ। 2 तिमी पानीबाट पार भएर जाँदा म तिम्रो साथमा हुनेछु; अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तिमीलाई डुबाउनेछैनन्; तिमी आगोबाट भएर जाँदा तिमी डढ़्नेछैनौ; न ता ज्वाला तिमीमाथि सल्किनेछ। 3 किनभने म, परमप्रभु तिम्रा परमेश्‍वर, इस्राएलका पवित्र जन, तिम्रा उद्धारकर्ता हुँ; मैले तिम्रो छुटकाराको दामको रूपमा मिस्र, तिम्रो सट्टामा कूश र सेबा दिएँ। 4 तिमी मेरो दृष्‍टिमा बहुमूल्य भएका छौ; तिमी आदरयोग्य भएका छौ, र मैले तिमीलाई प्रेम गरेको छु; यसैकारण म तिम्रो सट्टामा मानिसहरू र तिम्रो प्राणको सट्टामा जातिहरू दिनेछु। 5 नडराऊ; किनकि म तिम्रो साथमा छु; म तिम्रो वंश पूर्वबाट ल्याउनेछु र तिमीलाई पश्‍चिमबाट भेला गर्नेछु; 6 म उत्तरलाई भन्‍नेछु: ‘छोड़िदे!’, र दक्षिणलाई भन्‍नेछु: ‘रोकिनराख्! मेरा छोराहरूलाई टाढ़ा-टाढ़ाबाट, र मेरा छोरीहरूलाई पृथ्वीका छेउ-छेउबाट ल्या; 7 मेरो नामले कहलाइने हरेकलाई; किनकि मैले उसलाई आफ्नो महिमाका निम्ति सृष्‍टि गरें; मैले उसलाई रचें; अँ, मैले उसलाई बनाएँ।’
8 अन्धा मानिसहरूलाई, जसका आँखाहरू छन्, र बहिराहरूलाई, जसका कानहरू छन्, निकालेर ल्याऊ! 9 सबै जातिहरू एकसाथ भेला होऊन्, र देश-देशका मानिसहरू जम्मा होऊन्; तिनीहरूमध्ये कसले यो कुरा बताउन सक्छ, र हामीलाई पहिलेका कुराहरू सुनाउन सक्छ? तिनीहरूले आफ्ना साक्षीहरू ल्याऊन्, र धर्मी ठहरिऊन्, नत्र तिनीहरूले सुनून् र भनून्: ‘सत्य त यो रहेछ!’ 10 परमप्रभु भन्‍नुहुन्‍छ: तिमीहरू मेरा साक्षीहरू हौ, र मेरो दास पनि साक्षी हो, जसलाई मैले ‘तिमीहरूले मलाई चिन र विश्‍वास गर’, अनि म उही हुँ भनी जान्‍न सक भनी चुनेको छु; मभन्दा पहिले कोही ईश्‍वर रचिएन, न मेरो पछि नै कोही हुनेछ। 11 म, अँ, म नै परमप्रभु हुँ; अनि मबाहेक अरू कुनै उद्धारकर्ता छैन। 12 मैले बताएँ, र मैले बचाएँ, अनि मैले सुनाएँ, जब तिमीहरूको बीचमा कुनै पराई देवता थिएन; यसैले तिमीहरू मेरा साक्षीहरू हौ, परमप्रभु भन्‍नुहुन्‍छ, अनि परमेश्‍वर म नै हुँ। 13 अँ, दिन हुनुभन्दा पहिल्यै म उही हुँ; अनि मेरो हातबाट छुटाउन सक्ने कोही छैन; म काम गर्नेछु, अनि कसले यसलाई उल्टाउन सक्छ?
14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र जनले यसो भन्‍नुहुन्‍छ: तिमीहरूका निम्ति मैले बाबेलमा पठाएँ र तिनीहरू सबैलाई भगुवाहरूको रूपमा तल ल्याएँ; अनि कल्दीहरूलाई पनि, तिनीहरूको चीत्कारका जहाजहरूमा। 15 परमप्रभु, तिमीहरूका पवित्र जन, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा म नै हुँ।
16 समुद्रमा मार्ग र शक्तिशाली सागरमा बाटो बनाउनुहुने परमप्रभु यसो भन्‍नुहुन्‍छ, 17 जसले रथ र घोड़ा, सेना र सामर्थ्य निकालेर ल्याउनुहुन्छ; तिनीहरू एकसाथ लेट्नेछन्, तिनीहरू उठ्नेछैनन्; तिनीहरू लोप भए, तिनीहरू सलेदोझैं निभे। 18 तिमीहरूले पहिलेका कुराहरूको सम्झना नगर, न ता उहिलेका कुराहरूमाथि सोचविचार गर! 19 हेर, म एउटा नयाँ काम गर्नेछु; अहिले त्यो उत्‍पन्‍न हुनेछ; के तिमीहरूले त्यो जान्‍नुपर्दैन र? अँ, म उजाड़स्थानमा एउटा मार्ग, र मरुभूमिमा नदीहरू बनाउनेछु। 20 वनका पशुहरू – स्यालहरू र शुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्; किनकि मेरो प्रजा र मेरो चुनिएको जनलाई पिउन दिनका निम्ति म उजाड़स्थानमा पानी र मरुभूमिमा नदीहरू बहाउनेछु 21 यस जातिलाई मैले आफ्नै निम्ति रचेको हुँ; तिनीहरूले मेरो प्रशंसाको वर्णन गर्नेछन्।
अविश्‍वासयोग्य इस्राएललाई परमप्रभुको विन्‍ती
22 तर हे याकूब, तिमीले मलाई पुकारेका छैनौ; तर हे इस्राएल, तिमी मदेखि थाकेका छौ। 23 तिमीले मकहाँ आफ्ना होमबलिहरूका पाठाहरू ल्याएका छैनौ, न ता आफ्ना बलिदानहरूद्वारा मेरो आदर गरेका छौ। मैले तिमीलाई अन्‍नबलि चढ़ाउने सेवा गर्न लाएको छैनँ, न ता धूप चढ़ाउन लगाएर तिमीलाई थकित पारेको छु। 24 तिमीले पैसा दिएर मेरा निम्ति सुगन्धित बोझो किनेनौ, न ता तिम्रा बलिदानहरूको बोसोले मलाई तृप्‍त पारेका छौ; तर तिम्रा पापहरूद्वारा मलाई कष्‍ट दिएका छौ, तिम्रा अधर्महरूले मलाई थकित पारेका छौ। 25 म, अँ, म उही हुँ, जसले आफ्नै खातिर तिम्रा अधर्महरू मेटिदिन्छ; अनि म तिम्रा पापहरू सम्झनेछैनँ।
26 मलाई सम्झनामा राख; हामी आपसमा तर्क-वितर्क गरौं; तिमीले आफू निर्दोष ठहरिनलाई आफ्नो कुरा पेस गर! 27 तिम्रा पहिलो पिताले पाप गरे, र तिम्रा शिक्षकहरूले मेरो विरोधमा अपराध गरे। 28 यसैकारण मैले पवित्रस्थानका शासकहरूलाई अशुद्ध तुल्याएको छु, अनि याकूबलाई श्रापका निम्ति, र इस्राएललाई गिल्‍लाहरूका निम्ति सुम्पेको छु।”