परमप्रभुको दास
42
“हेर, मेरा दास, जसलाई म सम्हाल्छु! मेरा चुनिएको जन, जससँग मेरो मनक प्रसन्न हुन्छ! मैले तिनीमाथि मेरो आत्मा राखेको छु; तिनले अन्यजातिहरूकहाँ न्याय ल्याउनेछन्। 2 तिनी चिच्च्याउनेछैनन्, न सोर उचाल्नेछन्; न ता तिनले सड़कमा आफ्नो सोर सुनाउनेछन्। 3 किच्च्याइएको निगालोलाई तिनले भाँच्नेछैनन्, धूवाँ निस्किरहेको सलेदोलाई तिनले निभाउनेछैनन्; तिनले न्याय सत्यतामा ल्याइपुर्याउनेछन्। 4 जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्दैनन्, तबसम्म तिनी कमजोर हुनेछैनन्, न ता निराश नै हुनेछन्; अनि टापुहरूले तिनको व्यवस्थाको आशा गर्नेछन्। 5 परमप्रभु परमेश्वर, जसले आकाशहरू सृष्टि गर्नुभयो र तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट पैदा भएका थोकहरू फिंजाउनुभयो, जसले त्यसमाथिका मानिसहरूलाई सास र त्यसमा हिँड़्नेहरूलाई आत्मा दिनुहुन्छ, उहाँ यसो भन्नुहुन्छ: 6 म, परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु; अनि म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु; अनि म तिमीलाई जाति-जातिको वाचा र अन्यजातिहरूको ज्योतिको रूपमा दिनेछु – 7 अन्धा भएका आँखाहरू खोल्नलाई, कैदीहरूलाई कैदबाट र अन्धकारमा बस्नेहरूलाई झ्यालखानाबाट निकाल्नलाई। 8 परमप्रभु म नै हुँ, मेरो नाम यही हो; अनि म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ, न ता मेरो प्रशंसा खोपिएका मूर्तिहरूलाई दिनेछु। 9 हेर, पहिलेका कुराहरू पूरा भए; अनि म नयाँ कुराहरू बताउँछु; ती कुराहरू उत्पन्न हुनुभन्दा पहिल्यै म तिनको विषयमा तिमीहरूलाई बताउँछु।परमप्रभुको प्रशंसा
10 हे समुद्र-यात्रा गर्नेहरू र त्यसमा भएका सबै थोकहरूहो! हे टापुहरू र तिनका बासिन्दाहरूहो, परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, र पृथ्वीको छेउबाट उहाँको प्रशंसा गाओ! 11 उजाड़स्थान र त्यसका शहरहरूले, अनि केदार बस्ने गाउँहरूले, आफ्नो सोर उचालून्; चट्टानकाख बासिन्दाहरूले गाऊन्, पहाड़हरूको टाकुराबाट तिनीहरू चिच्च्याऊन्! 12 तिनीहरूले परमप्रभुलाई महिमा दिऊन्, र टापुहरूमा उहाँको प्रशंसा सुनाऊन्! 13 परमप्रभु शूरवीर मानिसझैं निस्कनुहुनेछ, योद्धाले झैं उहाँले आफ्नो जलन दन्काउनुहुनेछ; उहाँ चिच्च्याउनुहुनेछ, अँ, गर्जनुहुनेछ; उहाँ आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ।
परमप्रभुको सहायताको प्रतिज्ञा
14 धेरै समयदेखि म चुप लागेको छु; म चुपचाप बसेको छु, र आफैलाई रोकेर राखेको छु; तर अब म प्रसूति-वेदनामा परेकी स्त्रीझैं चिच्च्याउनेछु; म नाश पार्नेछु, र ख्वाप्प निल्नेछु। 15 म पहाड़हरू र डाँड़ाहरू उजाड़ पार्नेछु र तिनीहरूका सबै घाँसपात सुकाइदिनेछु; अनि म नदीहरूलाई टापुहरू तुल्याइदिनेछु र तलाउहरू सुकाइदिनेछु। 16 अनि म अन्धाहरूलाई तिनीहरूले नजानेको मार्गमा हिँड़ाउनेछु; म तिनीहरूलाई तिनीहरूले नजानेका बाटाहरूमा डोर्याउनेछु; म तिनीहरूको सामु अन्धकारलाई ज्योति, र टेढ़ामेढ़ा कुराहरूलाई सोझो तुल्याउनेछु। यी कुराहरू म तिनीहरूका निम्ति गर्नेछु र तिनीहरूलाई त्याग्नेछैनँ। 17 खोपिएका मूर्तिहरूमाथि भरोसा राख्नेहरू, ढालिएका मूर्तिहरूलाई ‘तिमीहरू हाम्रा ईश्वरहरू हौ’ भनी भन्नेहरू पछि हट्नेछन्, तिनीहरू साह्रै लज्जित हुनेछन्।
इस्राएल अन्धा र बहिरा छ
18 हे बहिराहरूहो, सुन; अनि हे अन्धाहरूहो, हेर, र तिमीहरूले देख्न सक! 19 मेरो दासबाहेक अरू को अन्धा छ र? अनि मैले पठाएको मेरो दूतजस्तो को बहिरा छ र? जो सिद्ध छ, ऊजस्तो अन्धा को छ? अनि परमप्रभुको दासजस्तो अन्धा को छ र? 20 धेरै कुराहरू तिमीले देख्छौ, तर तिमीले ती पालन गर्दैनौ; उसले कानहरू खोलेको छ, तापनि सुन्दैन। 21 आफ्नो धार्मिकताको कारणले परमप्रभु प्रसन्न हुनुहुन्छ; उहाँले व्यवस्था महान् तुल्याउनुहुनेछ, र आदरयोग्य बनाउनुहुनेछ। 22 तर यो एक डाँका मारिएको र लुटिएको जाति हो; तिनीहरू सबै दुलाहरूमा पासोमा परेका, र झ्यालखानाहरूमा लुकाइएका छन्; तिनीहरू शिकार हुनका निम्ति हुन्, अनि कसैले छुटाउँदैन; तिनीहरू लुटको माल हुनका निम्ति हुन्, अनि कसैले ‘फिर्ता देऊ!’ भन्दैन। 23 तिमीहरूमध्ये कसले यस कुरामा कान लगाउला? पछि हुन आउने समयका निम्ति कसले ध्यान दिएर सुन्ला? 24 कसले याकूबलाई लुटको माल हुनका निम्ति दिनुभयो, र इस्राएललाई डाँकूहरूको हातमा सुम्पिदिनुभयो? के परमप्रभुले नै होइन र, उहाँले, जसको विरोधमा हामीले पाप गरेका छौं? किनकि तिनीहरूले उहाँका मार्गहरूमा हिँड़्न चाहेनन्, न ता तिनीहरू उहाँको व्यवस्थाप्रति आज्ञाकारी भए। 25 यसकारण उहाँले उसमाथि आफ्नो रिसको आगो र लड़ाइँको सामर्थ्य खन्याउनुभयो; अनि त्यसले उसलाई चारैतिरबाट आगो लगाइदिए तापनि उसले थाहा पाएन; अनि त्यसले उसलाई जलायो, तरै पनि उसले यो हृदयमा राखेन।”