परमेश्‍वर इस्राएलका शासक हुनुहुन्छ
41
“हे टापुहरूहो, मेरो सामु चुपचाप बस; अनि मानिसहरू नयाँ बल पाउँदै जाऊन्; तिनीहरू नजिक आऊन्; तब तिनीहरू बोलून्; हामी न्यायका निम्ति एक-अर्काको नजिक आऔं! 2 कसले पूर्वबाट एउटा धर्मी जनलाई उठाउनुभयो? तिनलाई आफ्नो पाउनिर बोलाउनुभयो, जातिहरूलाई तिनको सामु सुम्पिदिनुभयो र तिनलाई राजाहरूमाथि शासन गर्ने तुल्याउनुभयो? उहाँले तिनीहरूलाई धूलोझैं तिनको तरवारका निम्ति र उड़ाएर लगिएका नलका ठुटाहरूझैं तिनको धनुका निम्ति सुम्पिदिनुभयो। 3 तिनले तिनीहरूलाई पिछा गरे, र आफ्ना पाउले कहिल्यै नहिँड़ेको बाटोमा सुरक्षित अघि बढ़े। 4 कसले शुरुबाट नै पुस्ताहरूलाई बोलाउँदै यो काम गरेर पूरा गर्‍यो? म, परमप्रभुले, जो प्रथम हुँ, अनि पछिल्‍लाहरूसितै म छु; मचाहिँ उही हुँ। 5 टापुहरूले यो देखे, र डराए; पृथ्वीका छेउहरू भयभीत भए; ती नजिक-नजिक सरे, र आइपुगे।
6 तिनीहरू हरेकले आ-आफ्नो छिमेकीलाई सहायता गरे, अनि हरेकले आफ्नो दाजुभाइलाई भन्यो: ‘साहसी होऊ!’ 7 यसरी सिकर्मीले सुनारलाई, अनि हतौड़ीले पिटेर चिल्लो पार्नेले लिहीमाथि घन चुट्नेलाई यसो भन्दै साहस दियो: ‘यो रसाउनका निम्ति तयार छ;’ तब त्यसले त्यो नडगमगाओस् भनेर कीलाहरू ठोकेर त्यसलाई बलियो पार्‍यो।
8 तर हे इस्राएल, तिमी मेरा दास हौ; हे याकूब, जसलाई मैले चुनेको छु – मेरो मित्र अब्राहामको वंश, 9 तिमीलाई मैले समातेर पृथ्वीका छेउहरूबाट लिएँ, र तिमीलाई त्यसका प्रधानहरूबाट बोलाएँ, अनि तिमीलाई भनें: ‘तिमी मेरा दास हौ; मैले तिमीलाई चुनेको छु, र तिमीलाई अफालेको छैनँ; 10 नडराऊ; किनकि म तिम्रो साथमा छु; जिल्ल नपर; किनभने म तिम्रा परमेश्‍वर हुँ; म तिमीलाई बलियो पार्नेछु, अँ, म तिमीलाई सहायता गर्नेछु; अँ, म मेरो धार्मिकताको दाहिने हातले तिमीलाई सम्हाल्नेछु। 11 हेर, तिमीसँग क्रोधित हुने सबै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्, ती शून्यसरह हुनेछन्; अनि तिमीसित झगड़ा गर्नेहरू नाश हुनेछन्। 12 तिमीले तिनीहरूलाई खोज्‍नेछौ, तर तिनीहरूलाई भेट्टाउनेछैनौ, अँ, तिमीसित झगड़ा गर्ने ती मानिसहरूलाई; तिमीसित लड़ाइँ गर्ने मानिसहरू शून्यसरह र व्यर्थका ठहर्नेछन्। 13 किनकि म, परमप्रभु तिम्रा परमेश्‍वर तिमीलाई यसो भन्दै तिम्रो दाहिने हात समात्‍नेछु: नडराऊ, म तिमीलाई सहायता गर्नेछु। 14 हे कीरा याकूब, नडराऊ; हे इस्राएलका जनहरूहो, परमप्रभु, अँ, तिम्रा उद्धारक, इस्राएलका पवित्र जन भन्‍नुहुन्‍छ, म तिमीलाई सहायता गर्नेछु। 15 हेर, म तिमीलाई एउटा नयाँ, दाँतहरू भएका, धारिलो झाँट्ने हतियार बनाउनेछु; तिमीले पहाड़हरू झाँट्नेछौ, र पिटेर धूलो पार्नेछौ, अनि डाँड़ाहरूलाई भुससरह तुल्याउनेछौ। 16 तिमीले तिनीहरूलाई बत्ताउनेछौ, र हावाले तिनीहरूलाई उड़ाएर लैजानेछ, अनि भुमरीले तिनीहरूलाई तितरबितर पार्नेछ; अनि तिमी परमप्रभुमा रमाउनेछौ, र इस्राएलका पवित्र जनमा गर्व गर्नेछौ।
17 जब गरिब र दरिद्रहरूले पानी खोज्छन्, अनि त्यहाँ केही हुँदैन, र तिर्खाले तिनीहरूको जिब्रो सुक्छ, तब म परमप्रभुले तिनीहरूको विन्‍ती सुन्‍नेछु; म इस्राएलको परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैनँ। 18 म अग्ला ठाउँहरूमा नदीहरू, र बेंसीहरूको बीचमा मूलहरू फुटाउनेछु; म उजाड़स्थानलाई पानीको तलाउ, र सुक्खा भूमिलाई पानीका धाराहरू तुल्याउनेछु। 19 म उजाड़स्थानमा देवदार, बबुल, मेहदी र जैतुनको रूख रोप्‍नेछु; म मरुभूमिमा सल्‍ला, धूपी, र गोब्रेसल्‍लाको रूख एकसाथ लगाउनेछु; 20 र ‘यो कामचाहिँ परमप्रभुको हातले गरेको हो, र इस्राएलका पवित्र जनले यसलाई सृष्‍टि गर्नुभएको हो’ भनी तिनीहरूले देखून्, जानून्, विचार गरून् र एकसाथ बुझून्।
ईश्‍वर हौ, तब प्रमाण देओ!
21 परमप्रभु भन्‍नुहुन्‍छ: तिमीहरूको मुद्दा पेस गर; याकूबका राजा भन्‍नुहुन्‍छ: तिमीहरूका बलिया तर्कहरू नजिक ल्याओ! 22 तिनीहरूले सो नजिक ल्याऊन्, र जो हुन आउनेछ, सो हामीलाई बताऊन्; तिनीहरूले पहिलेका कुराहरू, ती के-के हुन्, सो बताऊन्, र हामीले ती कुरामाथि आफ्नो मन लगाएर तिनको अन्त के रहेछ, सो जान्‍न सकौं; अथवा हामीलाई हुन आउने कुराहरू बताओ! 23 यसपछि हुने कुराहरू बताओ, र ‘तिमीहरू ईश्‍वरहरू रहेछौ’ भनी हामीले जान्‍न सकौं; अँ, असल गर, कि ता खराब गर, र हामी छक्‍क पर्नेछौं, र हामीले त्यो एकसाथ देख्‍नेछौं। 24 हेर, तिमीहरू शून्यभन्दा कम छौ, र तिमीहरूको काम केही पनि होइन; अनि जसले तिमीहरूलाई चुन्छ, त्यो घृणित हो। 25 उत्तरबाट मैले एकजनालाई उठाएको छु, र तिनी आउनेछन्; घाम झुल्कने दिशाबाट तिनले मेरो नाम पुकार्नेछन्; अनि तिनी शासकहरूमाथि गिलो माटोमाथि आएझैं, र कुमालेले माटो कुल्चीमिल्ची गरेझैं गरी आउनेछन्। 26 हामीले जान्‍न पाऔं भनेर कसले शुरुदेखि नै बताएको छ र? अँ, ‘उहाँ धर्मी ठहरिनुभयो’ भनी हामीले भन्‍न सकौं भनेर कसले समयभन्दा पहिल्यै बताएको छ र? अँ, बताउने कोही पनि छैन, अँ, सुनाउने कोही पनि छैन; अँ, तिमीहरूका वचनहरू सुन्‍ने कोही पनि छैन। 27 प्रथम हुनुहुनेले सियोनलाई भन्‍नुहुन्‍छ: हेर, तिनीहरूलाई हेर; अनि म यरूशलेमलाई एकजना शुभ समाचार ल्याउने मानिस दिनेछु। 28 किनकि मैले हेरें, तर कोही पनि थिएन; अँ, तिनीहरूको बीचमा पनि मैले हेरें, तर कोही सल्‍लाहकार भएन, र मैले तिनीहरूलाई सोध्दा तिनीहरूले एक वचन जवाफ दिन सकेनन्। 29 हेर, तिनीहरू सबै व्यर्थ हुन्; तिनीहरूका कामहरू केही पनि होइनन्; तिनीहरूका ढालिएका मूर्तिहरू हावा हुन्, र व्यर्थता हुन्।”