परमेश्‍वरको जनहरूलाई सान्‍त्‍वना
40
“तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘सान्‍त्‍वना देओ, मेरो प्रजालाई सान्‍त्‍वना देओ! 2 यरूशलेमसँग सान्‍त्‍वनाको कुरा गर, र त्यसलाई कराएर यसो भन: “तिम्रो लड़ाइँ पूरा भयो, तिम्रो अधर्म क्षमा भयो”; किनकि त्यसले आफ्ना सबै पापहरूका निम्ति परमप्रभुको हातबाट दोबर पाएको छ।’
3 उजाड़स्थानमा कराउनेको आवाज: ‘परमप्रभुको बाटो तयार गर, हाम्रा परमेश्‍वरका निम्ति मरुभूमिमा एउटा राजमार्ग सीधा पार!’ 4 हरेक घाटी उचालिनेछ, हरेक पहाड़ र डाँड़ा होच्याइनेछन्, टेढ़ामेढ़ा सीधा पारिनेछ, अनि खाल्टाखुल्टी ठाउँहरू समतल पारिनेछन्। 5 अनि परमप्रभुको महिमा प्रकट हुनेछ, र सबै प्राणीले त्यो एकसाथ देख्‍नेछन्; किनकि परमप्रभुको मुखले यो भनेको छ।
6 त्यस आवाजले भन्यो: ‘कराएर भन्’ अनि उसले भन्यो: ‘कराएर म के भनूँ?’ ‘सबै प्राणी घाँस हो, अनि त्यसको सारा सुन्दरता मैदानको फूलजस्तै; 7 घाँस सुकिजान्छ, फूल ओइलिन्छ; किनकि परमप्रभुको आत्मा त्यसमाथि बहनुहुन्छ; निश्‍चय मानिस घाँस हो। 8 घाँस सुकिजान्छ, फूल ओइलिन्छ; तर हाम्रा परमेश्‍वरको वचन सदा-सर्वदा रहिरहन्छ।’
9 हे शुभ समाचार ल्याउने सियोन, अग्लो पहाड़माथि चढ़्! हे शुभ समाचार ल्याउने यरूशलेम, जोड़ले आफ्नो सोर उचाल्; त्यो उचाल्, नडरा; यहूदाका शहरहरूलाई भन्: ‘हेर, तिमीहरूका परमेश्‍वर!’ 10 हेर, प्रभु यहोवा बलियो हात लिएर आउनुहुनेछ, र उहाँको पाखुराले उहाँका निम्ति शासन गर्नेछ; हेर, उहाँको इनाम उहाँको साथमा छ, र उहाँको काम उहाँको सामु छ। 11 उहाँले आफ्नो बगाललाई गोठालाले झैं चराउनुहुनेछ; उहाँले पाठाहरूलाई आफ्नो पाखुराले बटुल्नुहुनेछ, तिनीहरूलाई आफ्नो छातीमा उठाएर हिँड़्नुहुनेछ र दुहुना भेड़ीबाख्रीहरूलाई बिस्तारै-बिस्तारै डोर्‍याउनुहुनेछ।
इस्राएलका परमेश्‍वर अतुलनीय हुनुहुन्छ
12 कसले समुद्रलाई आफ्नो हातको हत्केलामा नापेको छ, आकाशलाई बित्ताले नापजोख गरेको छ, पृथ्वीको धूला पाथीमा भरेको छ अनि पहाड़हरू पल्‍लामा र डाँड़ाहरू तराजुमा तौलेको छ? 13 कसले परमप्रभुको आत्मालाई बाटो देखाएको छ, अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई सिकाएको छ? 14 कससँग उहाँले सल्‍लाह लिनुभयो; अनि कसले उहाँलाई शिक्षा दियो, र न्यायको मार्गमा उहाँलाई सिकायो, उहाँलाई ज्ञान सिकायो र उहाँलाई समझको मार्ग देखायो? 15 हेर, जातिहरू त बाल्टीको एक थोपाजस्तो मात्र हुन्, र तराजुमा टाँसिएको मसिनो धूलोजस्तो मात्र गनिन्छन्; हेर, उहाँले टापुहरू एउटा कणझैं उठाउनुहुन्छ। 16 अनि आगो बाल्नलाई लेबानोन पनि पर्याप्‍त छैन, न ता होमबलिका निम्ति त्यसका पशुहरू नै पर्याप्‍त हुन्छन्। 17 उहाँको सामु सबै जातिहरू शून्य बराबर छन्; अनि तिनीहरू त उहाँका निम्ति शून्यभन्दा कम र व्यर्थका गनिन्छन्।
18 तब तिमीहरू परमेश्‍वरलाई कोसँग तुलना गर्छौ? अथवा तिमीहरू कुनचाहिँ प्रतिरूपसित उहाँलाई दाँज्छौ? 19 कारिगरले धातु गालेर खोपिएको मूर्ति बनाउँछ; सुनारले त्यसलाई सुनले मोहोर्छ, र चाँदीका सिक्रीहरू ढालेर बनाउँछ। 20 जो भेटी दिन नसक्ने गरी अति गरिब छ, त्यसले नमकिने काठ छान्छ; त्यसले आफ्ना निम्ति एउटा नहल्‍लने खोपिएको मूर्ति तयार गर्नलाई एउटा निपुण कारिगरलाई खोज्छ। 21 के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के शुरुदेखि नै तिमीहरूलाई यो बताइएको थिएन र? पृथ्वीका जगहरू बसालिएको समयदेखि नै के तिमीहरूले बुझेका छैनौ र? 22 पृथ्वीको गोलो परिधिमाथि बस्‍नुहुने उहाँ हुनुहुन्छ, र त्यसका बासिन्दाहरू फट्याङ्ग्रासरह छन्; उहाँले आकाशहरूलाई पर्दाझैं टाँग्‍नुहुन्छ, र त्यसमा बस्‍न तिनलाई पालझैं फैलाउनुहुन्छ; 23 उहाँले शासकहरूलाई शून्य ठहराउनुहुन्छ; उहाँले न्यायकर्ताहरूलाई व्यर्थका तुल्याउनुहुन्छ। 24 अँ, तिनीहरू रोपिनेछैनन्; अँ, तिनीहरू छरिनेछैनन्; अँ, तिनीहरूको ठुटाले पृथ्वीभित्र जरा हाल्नेछैन; अनि उहाँले तिनीहरूमाथि फुक्नुहुनेछ, र तिनीहरू ओइलिनेछन्, अनि भुमरीले तिनीहरूलाई नलका ठुटाझैं उठाएर लैजानेछ। 25 तब तिमीहरू मलाई कससँग तुलना गर्छौ? अथवा म को समान हुनेछु?, पवित्र जनले भन्‍नुहुन्‍छ। 26 आफ्ना आँखाहरू माथि उठाएर हेर, यिनीहरूलाई कसले सृष्‍टि गर्नुभयो? उहाँले यिनीहरूको गणलाई गन्ती गरी-गरी निकालेर ल्याउनुहुन्छ; आफ्नो शक्तिको महान्‌ताद्वारा उहाँले ती सबैलाई नाम काढ़ी-काढ़ी बोलाउनुहुन्छ; किनकि उहाँ सामर्थ्यमा बलवान् हुनुहुन्छ; एउटै पनि नआईकन छोड़िँदैन।
27 हे याकूब, ‘मेरो मार्ग परमप्रभुबाट लुकेको छ, र मेरो न्याय मेरा परमेश्‍वरबाट हटेर गइसकेको छ’ भनी तिमी किन भन्छौ?, अनि हे इस्राएल, तिमी किन यस्तो बोल्छौ? 28 परमप्रभु सनातनका परमेश्‍वर, सारा पृथ्वीका सृष्‍टिकर्ता न लल्याकलुलुक हुनुहुन्छ, न थाक्नुहुन्छ भनी के तिमीले जानेका छैनौ? अथवा के तिमीले सुनेका छैनौ? उहाँको समझ पत्त नलगाई नसक्नुको छ। 29 उहाँले लल्याकलुलुक भएकोलाई शक्ति दिनुहुन्छ; अनि बलहीनलाई उहाँले बल बढ़ाइदिनुहुन्छ। 30 जवानहरू पनि लल्याकलुलुक हुनेछन् र थाक्नेछन्, अनि जवान मानिसहरू बिलकुलै ठेस खाएर लड़्नेछन्; 31 तर परमप्रभुको बाटो हेर्नेहरूचाहिँ नयाँ बल पाउँदै जानेछन्; उनीहरू चीलहरूझैं पखेटाले उँभो-उँभो चढ्नेछन्; उनीहरू दगुर्नेछन्, र थकित हुनेछैनन्; उनीहरू हिँड़्‍नेछन्, र लल्याकलुलुक हुनेछैनन्।”