राजा हिजकियाहकहाँ बाबेलका राजदूतहरू पठाइए
39
त्यस बेला बाबेलका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाहकहाँ पत्रहरू र एउटा सौगात पठाए; किनकि तिनी बिरामी भएर निको भएको कुरा उनले सुनेका थिए। 2 अनि हिजकियाह तिनीहरूसँग खुशी भए, र तिनीहरूलाई आफ्ना बहुमूल्य थोकहरूको भण्डार, अर्थात् चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, अनि आफ्ना हातहतियारहरू राख्‍ने सारा घर र आफ्ना भण्डारहरूमा भएका सबै थोकहरू देखाए; तिनको भवनभित्र र तिनको सम्पूर्ण अधिकार-क्षेत्रभित्र हिजकियाहले तिनीहरूलाई नदेखाएको कुनै पनि कुरा थिएन।
3 तब भविष्यभक्ता यशैया राजा हिजकियाहकहाँ आएर तिनलाई भने: “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट तपाईंकहाँ आएका हुन्?” अनि हिजकियाहले भने: “तिनीहरू टाढ़ा देशबाट, अँ, बाबेलबाट आएका हुन्।” 4 तब उनले भने: “तपाईंको भवनमा तिनीहरूले के-के देखेका छन्?” अनि हिजकियाहले जवाफ दिए: “मेरो भवनमा भएका सबै थोकहरू तिनीहरूले देखेका छन्; मेरा भण्डारहरूमा मैले तिनीहरूलाई नदेखाएको कुनै पनि थोक छैन।” 5 तब यशैयाले हिजकियाहलाई भने: “सेनाहरूका परमप्रभुको वचन सुन्‍नुहोस्! 6 हेर, यस्ता दिनहरू आउनेछन्, जब तिम्रो भवनमा भएका सबै थोकहरू र तिम्रा पितापुर्खाहरूले आजको दिनसम्म साँचेर राखेका कुराहरू बाबेलमा लगिनेछन्; केही पनि छोड़िनेछैन, परमप्रभु भन्‍नुहुन्‍छ। 7 अनि तिनीहरूले तिमीबाट निस्केर आउने तिम्रा कतिपय छोराहरूलाई लैजानेछन्, जसलाई तिमीले जन्माउनेछौ, र उनीहरू बाबेलका राजाको दरवारमा नपुंसक हुनेछन्।” 8 तब हिजकियाहले यशैयालाई भने: “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असल हो।” अनि तिनले भने: “किनकि मेरा दिनहरूमा चाहिँ शान्ति र सत्यता रहिरहनेछन्।”