राजा हिजकियाहको आयु पन्ध्र वर्ष बढ़ाइन्छ
38
ती दिनहरूमा हिजकियाह मर्ने गरी बिरामी भए। अनि आमोसका छोरा यशैया तिनीकहाँ आए, र तिनलाई भने: “परमप्रभु यसो भन्‍नुहुन्‍छ, आफ्नो घरानाको व्यवस्था मिलाऊ; किनकि तिमी मर्नेछौ, र बाँच्‍नेछैनौ।” 2 तब हिजकियाहले आफ्नो मुख भित्तापट्टि फर्काएर परमप्रभुलाई प्रार्थना गरे, 3 र भने: “हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्छु, तपाईंको सामु कसरी सत्यतामा र सिद्ध हृदयले हिँड़ेर मैले तपाईंको दृष्‍टिमा जे असल छ, त्यही गरेको छु, सो अब सम्झना गर्नुहोस्!” अनि हिजकियाह धुरुधुरु रोए। 4 तब परमप्रभुको यसो भन्‍ने वचन यशैयाकहाँ आयो: 5 “जाऊ, र हिजकियाहलाई भनिदेऊ: परमप्रभु तिम्रा बुबा दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, मैले तिम्रो प्रार्थना सुनेको छु; मैले तिम्रा आँसु देखेको छु; हेर, म तिम्रो आयुमा पन्ध्र वर्ष थपिदिनेछु। 6 अनि म तिमीलाई र यस शहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु; अनि म यस शहरको रक्षा गर्नेछु। 7 अनि परमप्रभुले आफूले भन्‍नुभएको कुरा पूरा गर्नुहुनेछ भनेर परमप्रभुबाट तिम्रा निम्ति चिन्ह यो हुनेछ; 8 हेर, आहाजको धूपघड़ीमा जुन डिग्रीहरूको छाया तल ढल्किएको छ, त्यो छाया म दस डिग्री पछाड़ि फर्काइदिनेछु।” तब घाम दस डिग्री पछाड़ि फर्क्यो, जति डिग्रीहरू त्‍यो तल ढल्किसकेको थियो।
9 तिनी बिरामी भए, र तिनको बिमारीबाट तिनी निको भएपछि यहूदाका राजा हिजकियाहले लेखेको लेख: 10 “मैले भनें: के म मेरो आयुको बीचमै अधोलोकका ढोकाहरूमा जाऊँ? के मेरा वर्षको बाँकी भाग मबाट हरिएको छ? 11 मैले भनें: म जीवितहरूको देशमा परमप्रभुलाई, अँ, परमप्रभुलाई देख्‍नेछैनँ; संसारका बासिन्दाहरूको साथमा म मानिसलाई फेरि कहिल्यै देख्‍नेछैनँ। 12 मेरो आयु बितिगयो, र गोठालाको पालझैं मबाट लगियो; जुलाहाले झैं मैले आफ्नो जीवन लपेटेको छु; उहाँले मलाई सुकाउँदै लैजाने रोगले नाश गर्नुहुनेछ; दिनदेखि रातसम्ममा तपाईंले मेरो अन्त गर्नुहुनेछ।
13 बिहानसम्म मैले विचार गरिरहें: अँ, सिंहले झैं उहाँले मेरा सबै हड्डीहरू तोड़्नुहुनेछ; दिनदेखि रातसम्ममा तपाईंले मेरो अन्त गर्नुहुनेछ। 14 कर्‍याङ्गकुरुङ्ग वा गौंथलीले झैं मैले चीं-चीं गरें; ढुकुरले झैं मैले विलाप गरें; माथितिर हेर्दा-हेर्दा मेरा आँखाहरू कमजोर भएका छन्; हे परमप्रभु, म थिचोमिचोमा परेको छु; मेरो जमानी बस्‍नुहोस्!
15 म के भनूँ? अँ, उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैले यसो गर्नुभएको छ; म आफ्नो मनको तीतोपनामा आफ्नो सारा आयुभरि बिस्तारी-बिस्तारी हिँड़्‍नेछु। 16 हे प्रभु, यी कुराहरूद्वारा मानिसहरू जिउँछन्, अनि यी सबै कुराहरूमा नै मेरो आत्माको जीवन छ; यसैले तपाईंले मलाई निको पार्नुहुनेछ; अँ, मलाई जीवित राख्‍नुहोस्! 17 हेर्नुहोस्, शान्तिका निम्ति मैले अति तीतो अनुभव गरें, तर तपाईंले चाहिँ मेरो प्राणलाई प्रेम गरेर त्यसलाई विनाशको खाड़लबाट छुटाउनुभयो; किनकि तपाईंले मेरा सबै पापहरू आफ्नो पिठ्यूँपछिल्तिर फ्याँकिदिनुभयो। 18 किनकि अधोलोकले तपाईंको प्रशंसा गर्दैन; मृत्युले तपाईंको स्तुति गर्दैन; तल खाड़लमा पर्नेहरूले तपाईंको सत्यताको आशा गर्न सक्दैनन्। 19 जिउँदो मानिसले, अँ, जिउँदो मानिसले मात्र तपाईंको प्रशंसा गर्नेछ, जस्तो म आज गर्दछु; बुबाले छोराछोरीहरूलाई तपाईंको सत्यता जान्‍न दिन्छन्। 20 मलाई बचाउन परमप्रभु तयार हुनुभयो; यसैले हाम्रो सारा जीवनभरि नै परमप्रभुको भवनमा हामी तारवाला बाजाहरूमा मेरा गीतहरू गाउनेछौं।”
21 किनकि यशैयाले भनेका थिए: “तिनीहरूले नेभाराहरूको एउटा पेड़ा लैजाऊन्, र त्यो त्यस पिलोमाथि मलमको रूपमा लगाइदिऊन, तब तिनी निको हुनेछन्।” 22 अनि हिजकियाहले भनेका थिए: “म माथि परमप्रभुको भवनमा जानेछु भन्‍ने कुराको चिन्ह के हुनेछ?”