भविष्यवक्ता यशैयाबाट राजा हिजकियाहकहाँ छुटकाराको सन्देश आयो
37
अनि यस्तो भयो: जब राजा हिजकियाहले यो कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते, र भाङ्ग्राको लुगाले आफूलाई ढाकेर परमप्रभुको भवनभित्र गए। 2 अनि तिनले राजघरानाका अधिकारी एल्याकिम, मुन्सी शेब्‍ना र पूजाहारीहरूका बूढ़ा प्रधानहरूलाई भाङ्ग्राका लुगाले ढाकिएको अवस्थामा आमोसका छोरा भविष्यवक्ता यशैयाकहाँ पठाए। 3 अनि तिनीहरूले उनलाई भने: “हिजकियाह यसो भन्दै हुनुहुन्छ, आजको दिन विपत्ति, हप्की र निन्दाको दिन हो; किनकि छोराछोरीहरू जन्मन लागेका छन्, तर जन्माउने शक्ति नै छैन। 4 हुन सक्छ, परमप्रभु तिम्रा परमेश्‍वरले रब्-शाकेका वचनहरू सुन्‍नुहुनेछ – जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन् – र ती वचनहरू खण्डन गर्नुहुनेछ, जुन वचनहरू परमप्रभु तिम्रा परमेश्‍वरले सुन्‍नुभएको छ; यसकारण यस बाँकी रहेको भागका निम्ति, जो बचेको छ, प्रार्थना उठाइदेऊ!”
5 तब हिजकियाहका कर्मचारीहरू यशैयाकहाँ आइपुगे। 6 अनि यशैयाले तिनीहरूलाई भने: “तिमीहरूका मालिकलाई यसो भनिदेओ: परमप्रभु यसो भन्‍नुहुन्‍छ, जुन वचनहरू बोलेर अश्शूरका राजाका कर्मचारीहरूले मेरो निन्दा गरेका तिमीहरूले सुन्यौ, ती वचनहरूसँग नडराऊ; 7 हेर, म त्यसकहाँ एउटा आत्मा पठाउनेछु, र त्यसले एउटा खबर सुन्‍नेछ, र त्यो आफ्नो देशमा फर्कनेछ; अनि म त्यसलाई त्यसकै देशमा तरवारले मार्न लाउनेछु।”
8 तब रब्-शाके फर्के, र तिनले अश्शूरका राजालाई लिब्‍नाको विरोधमा लड़ाइँ गरिरहेका भेट्टाए; किनकि तिनले राजा लाकीशबाट हिँड़िसके भन्‍ने सुनेका थिए। 9 अनि उनले कूशका राजा तिर्हाकाको विषयमा यो सुने: “तिनी तपाईंसित लड़ाइँ गर्नलाई निस्केर आएका छन्।” अनि यो सुनेर उनले हिजकियाहकहाँ यसो भन्दै दूतहरू पठाए: 10 “यहूदाका राजा हिजकियाहलाई यसो भनिदेओ: जुन परमेश्‍वरमाथि तिमी भरोसा राख्छौ, उही तिम्रा परमेश्‍वरले अश्शूरका राजाको हातमा ‘यरूशलेम दिइनेछैन’ भन्दै तिमीलाई धोका नदिऊन्! 11 हेर, अश्शूरका राजाहरूले सबै देशहरूलाई सत्यानाश गरेर तिनीहरूलाई के-के गरे, सो तिमीले सुनेका छौ; त के तिमी उम्कनेछौ त? 12 के मेरा पितापुर्खाहरूले नाश गरेका ती जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाउन सके, जस्तै गोजान, हारान, रेसेप, र तेलस्सारमा बस्‍ने एदेनका सन्तानहरूलाई? 13 हमातका राजा, अनि अर्पादका राजा, अनि सेपर्वैम शहरका, हेनाका र इव्वाका राजा खोइ, कहाँ छन्?” 14 अनि हिजकियाहले ती दूतहरूको हातबाट त्यो पत्र लिए, र त्यो पढ़े; अनि हिजकियाह माथि परमप्रभुको भवनमा गए, र परमप्रभुको सामु त्यो फैलाइदिए।
राजा हिजकियाहको प्रार्थना
15 अनि हिजकियाहले यसो भन्दै परमप्रभुलाई प्रार्थना गरे: 16 “हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर, जो करूबहरूको बीचमा बस्‍नुहुन्छ! तपाईं, केवल तपाईं नै पृथ्वीका सबै राज्यहरूका परमेश्‍वर हुनुहुन्छ; तपाईंले नै आकाश र पृथ्वी बनाउनुभयो। 17 हे परमप्रभु, आफ्नो कान लगाएर सुन्‍नुहोस्; हे परमप्रभु, आफ्ना आँखाहरू खोलेर हेर्नुहोस्, र सनहेरिबका सबै वचनहरू सुन्‍नुहोस्, जसले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन्। 18 साँच्‍ची नै हे परमप्रभु, अश्शूरका राजाहरूले सबै जातिहरूलाई र तिनीहरूका देशहरू उजाड़ पारेका छन्, 19 अनि तिनीहरूका देवताहरूलाई आगोभित्र मिल्काइदिएका छन्; किनकि तिनीहरू त ईश्‍वर थिएनन्, तर मानिसहरूका हातको काम – काठ र ढुङ्गा मात्र थिए; यसैकारण तिनीहरूले तिनलाई नाश पारे। 20 यसकारण अब हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस्, र तपाईं, अँ, तपाईं मात्र परमप्रभु हुनुहुन्छ भनी पृथ्वीका सबै राज्यहरूले जानून्।”
राजा हिजकियाहको प्रार्थनाको उत्तर
21 तब आमोसका छोरा यशैयाले हिजकियाहकहाँ यसो भनिपठाए: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीले मलाई अश्शूरको राजा सनहेरिबको विषयमा जुन प्रार्थना चढ़ाएका छौ, 22 त्यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही हो: ‘सियोनकी छोरी, त्यस कन्याले तँलाई तुच्छ ठानेकी छे, तेरो खिसी गरेर हाँसेकी छे; यरूशलेमकी छोरीले तँमा आफ्नो टाउको हल्‍लाएकी छे। 23 तैंले कसको अपमान गरेको र निन्दा गरेको छस्? अनि कसको विरोधमा तैंले आफ्नो सोर उचालेको छस् र आफ्ना आँखाहरू माथि चढ़ाएको छस्? अँ, इस्राएलका पवित्र जनको विरोधमा! 24 आफ्ना कर्मचारीहरूद्वारा तैंले प्रभुको निन्दा गरेको छस् र यसो भनेको छस्: “मेरा असंख्य रथहरू लिएर म माथि पहाड़हरूको उच्‍चाइमा, लेबानोनका अगलबगलमा आएको छु; अनि म त्यसका सबै अग्ला-अग्ला देवदारका रूखहरू र त्यसका उत्तम-उत्तम सल्‍लाका रूखहरू काटेर ढालिदिनेछु; अनि म त्यसको माथिल्‍लो चुलीमा, र त्यसको कर्मेलको वनमा पस्‍नेछु। 25 मैले कुवा खनेर पानी पिएको छु, र मेरा खुट्टाको पैतालाले घेरा हालिएका ठाउँहरूका सबै नदीहरू सुकाइदिएको छु।” 26 के तैंले सुनेको छैनस्? धेरै समयअघि नै मैले यही ठहराएको हुँ, प्राचीनकालदेखि नै मैले यसको परिकल्पना गरेको हुँ? अहिले मैले यो हुन आउन दिएको छु, कि तैंले नै पर्खालले घेरिएका शहरहरू उजाड़ पारेर तिनलाई भग्‍नावशेषका थुप्राहरू तुल्याउनेछस् 27 यसैकारण तिनीहरूका बासिन्दाहरू शक्तिहीन भए; तिनीहरूले हरेश खाए, र लज्जित भए; तिनीहरू मैदानको घाँसजस्तै, घरका छानाहरूमा उम्रेको घाँसजस्तै र बढ़्‍नुभन्दा पहिल्यै स्याप्य्राक्‍क पारिएको अन्‍नजस्तै भए। 28 तर मलाई तेरो बसाइ, तेरो जावत-आवत र मेरो विरोधमा तेरो क्रोधको विषयमा मलाई थाहा छ। 29 मेरो विरोधको तेरो क्रोध र तेरो कोलाहल मेरा कानहरूमा आइपुगेका छन्; यसकारण म तेरो नाकमा मेरो अङ्कुसे, र तेरा ओठहरूमा मेरो लगाम लगाइदिनेछु, र जुन बाटो भएर तँ आएको थिइस्, त्यही बाटोबाट म तँलाई फर्काइदिनेछु।’
30 अनि तिम्रा निम्ति चिन्ह यो हुनेछ: यो वर्ष तिमीहरूले आफै-आफ उम्रेको खानेछौ, र दोस्रो वर्ष त्यसैबाट पलाएको, अनि तेस्रो वर्षमा तिमीहरूले बीउ छर, कटनी गर, दाखबारीहरू लगाओ र तिनका फलहरू खाओ! 31 अनि यहूदाको घरानाबाट उम्केको बाँकी भागले उँधोतिर फेरि जरा हाल्नेछ, र उँभोतिर फल फलाउनेछ; 32 किनकि यरूशलेमबाट बचेको भाग, र सियोन पर्वतबाट उम्केकाहरू निस्कनेछन्; सेनाहरूका परमप्रभुको जोशले यो गर्नेछ। 33 यसकारण अश्शूरको राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: त्यो यस शहरभित्र आउनेछैन, न ता त्यहाँ एउटा काँड़ नै हान्‍नेछ, न ता यसको सामु ढाल लिएर आउनेछ, न ता यसको विरोधमा ढिस्को नै उठाउनेछ। 34 जुन बाटोबाट त्यो आएको थियो, त्यही बाटो भएर त्यो फर्कनेछ, र यस शहरभित्र आउनेछैन, परमप्रभु भन्‍नुहुन्‍छ। 35 किनकि म आफ्नै निम्ति र मेरो दास दाऊदका निम्ति यो बचाउनलाई यस शहरको रक्षा गर्नेछु।” 36 तब परमप्रभुका दूत निस्के, र अश्शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई प्रहार गरे; अनि तिनीहरू बिहान सबेरै उठ्दा हेर, ती सबै मरेका लासहरू रहेछन्। 37 तब अश्शूरका राजा सनहेरिब त्यहाँबाट हिँड़े, र गएर फर्के, अनि नीनवेमा बसे। 38 अनि यस्तो भयो: आफ्नो देवता निस्रोकको मन्दिरमा दण्‍डवत्‌ गरिरहेको बेलामा तिनका छोराहरू अद्रम-मेलेक र शरेसेरले तिनलाई तरवारले प्रहार गरे; अनि तिनीहरू उम्केर अर्मेनीयाको देशमा गए; अनि तिनको सट्टामा तिनका छोरा एसर-हद्दोनले राज्य गरे।