राजा हिजकियाहको शासनकालमा परमप्रभुको विरोधमा अश्शूरका राजा सनहेरिबको हाँक
36
अनि राजा हिजकियाहको चौधौं वर्षमा यस्तो भयो: अश्शूरका राजा सनहेरिबले यहूदाका सबै पर्खालले घेरिएका शहरहरूमाथि चढ़ाइ गरे, र तिनलाई कब्जा गरे। 2 अनि अश्शूरका राजाले एउटा ठूलो सेनाको साथमा रब्-शाकेलाई लाकीशबाट यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। अनि उनी माथिल्लो तलाउको कुलाको छेउमा, धोबीको जमिनको मूलबाटोमा उभिए। 3 तब राजघरानाका अधिकारी एल्याकिम, जो हिल्कियाहका छोरा थिए, मुन्सीक शेब्ना र आसापका छोरा इतिहास लेखक योआ उनीकहाँ निस्केर गए।4 अनि रब्-शाकेले उनीहरूलाई भने: “अब हिजकियाहलाई यसो भनिदेओ, अश्शूरका राजाले, ती महान् राजाले यसो भन्दै हुनुहुन्छ: यो केको भरोसा हो, जसमाथि तिमी भर पर्छौ? 5 ‘मसित लड़ाइँ गर्ने युक्ति र पराक्रम छ’ भनी तिमी भन्छौ, तर म भन्छु: यी त ओठका शब्दहरू मात्र हुन्; अब कसमाथि भर परेर तिमीले मेरो विरोधमा विद्रोह गर्छौ? 6 हेर, तिमी ता त्यस भाँचिएको निगालोरूपी लाठीमाथि अर्थात् मिस्रमाथि भर पर्छौ; त्यसमाथि भर परेर जसकसैले टेक्योक भने त्यो उसको हातभित्र पस्नेछ, र त्यसलाई छेंड़्नेछ; मिस्रको राजा फराओ त्यसमाथि भर पर्नेहरू सबैका निम्ति यस्तै हो। 7 तर तिमीले मलाई ‘हामी परमप्रभु हाम्रा परमेश्वरमाथि भरोसा गर्छौं’ भन्छौ भने, के तिनी उही ईश्वर होइनन् र, जसका उच्च स्थानहरू र जसका वेदीहरू हिजकियाहले हटाए, अनि यहूदा र यरूशलेमलाई यसो भने: ‘तिमीहरूले यस वेदीको सामु दण्डवत् गर्नू!’? 8 यसकारण अब, विन्ती छ, मेरा मालिक अश्शूरको राजाकहाँ केही धितो राख! र म तिमीलाई दुई हजार घोड़ाहरू दिइहाल्नेछु – तिमीले आफ्नो पट्टिबाट तीमाथि घोड़चढ़ीहरूलाई चढ़ाउन सक्छौ भने! 9 तब कसरी तिमीले मेरा मालिकका सानाभन्दा साना कर्मचारीहरूका एकजना कप्तानको मुख फर्काउँछौ त? र रथहरू र घोड़चढ़ीहरूका निम्ति मिस्रमाथि भरोसा राख्छौ त? 10 अनि अब के म परमप्रभुविनाख यो देश नाश गर्नलाई यसको विरोधमा माथि आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो: ‘यस देशमाथि चढ़ाइ गर र यसलाई नाश गर!’ ”
11 तब एल्याकिम, शेब्ना र योआले रब्-शाकेलाई भने: “कृपया आफ्ना दासहरूसँग अरामी भाषामा बोल्नुहोस्; किनकि हामी त्यो बुझ्छौं; यी पर्खालमाथि भएका मानिसहरूले सुन्ने गरी हामीसँग यहूदी भाषामा नबोल्नुहोस्!” 12 तर रब्-शाकेले भने: “के मेरा मालिकले मलाई तिम्रो मालिक र तिमीकहाँ मात्र यी कुराहरू बोल्न पठाउनुभएको हो र? के पर्खालमाथि बस्ने ती मानिसहरूले तिमीहरूसँगै आफ्नो दिसा खाऊन् र आफ्नै पिसाप पिऊन् भनेर मलाई तिनीहरूकहाँ पठाउनुभएको होइन र?”
13 तब रब्-शाकेले उभिएर चर्को सोरले कराएर यहूदी भाषामा यसो भने: “अश्शूरका राजा, ती महान् राजाका वचनहरू सुन: 14 राजा यसो भन्नुहुन्छ, हिजकियाहले तिमीहरूलाई धोका दिन नपाऊन्; किनकि तिनले तिमीहरूलाई छुटकारा दिन सक्दैनन्। 15 अनि ‘निश्चय नै परमप्रभुले हामीलाई छुटाउनुहुनेछ; यो शहर अश्शूरका राजाको हातमा सुम्पिइनेछैन’ भन्दै हिजकियाहले तिमीहरूलाई परमप्रभुमाथि भरोसा पर्न नलगाऊन्। 16 हिजकियाहको कुरा नसुन! किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ: सौगात लिएर मसँग सम्झौता गर, र निस्केर मकहाँ आओ; तब तिमीहरू हरेकले आ-आफ्नो दाखको बोटबाट, र हरेकले आ-आफ्नो नेभाराको रूखबाट खाओ, र तिमीहरू हरेकले आ-आफ्नो इनारको पानी पिओ! 17 जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै देशजस्तो एउटा देशमा – अन्न र दाखमद्यको देशमा – रोटी र दाखबारीहरूको देशमा लैजाँदिनँ। 18 होशियार बस, नत्र ता कहीं हिजकियाहले, ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुन्छ’ भन्दै तिमीहरूलाई सुर्याउलान्ग! के जाति-जातिका अन्य देवताहरूमध्ये कसैले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाएको छ र? 19 हमात र अर्पादका देवताहरू खोइ, कहाँ छन्? सेपर्वैमका देवताहरू खोइ, कहाँ छन्? अनि के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाए त? 20 यी देश-देशका देवताहरूमध्ये कस-कसले आफ्नो देशलाई मेरो हातबाट छुटाएका छन् त, र परमप्रभुले पनि यरूशलेमलाई मेरो हातबाट छुटाउन सक्लान्?”
21 तर तिनीहरू चुप रहे, र उनलाई एक शब्द पनि जवाफ दिएनन्; किनकि ‘उनलाई जवाफ नदिनू’ भन्ने राजाको आज्ञा थियो। 22 तब राजघरानाका अधिकारी एल्याकिम, जो हिल्कियाहका छोरा थिए, मुन्सीघ शेब्ना र आसापका छोरा इतिहास लेखक योआ आफ्ना च्यातिएका वस्त्रहरूसितै हिजकियाहकहाँ आए, र तिनलाई रब्-शाकेले भनेका कुराहरूङ सुनाइदिए।