भविष्यमा हुने सियोनको महिमा
35
“तिनीहरूको कारणले उजाड़स्थान र सुक्खा भूमि आनन्दित हुनेछन्; अनि मरुभूमि रमाउनेछ, र गुलाफझैं फुल्नेछ। 2 त्यो प्रशस्त गरी फुल्नेछ, र आनन्द मनाउँदै र गीत गाउँदै रमाउनेछ; त्यसलाई लेबानोनको महिमा, कर्मेल र शारोनको सर्वश्रेष्‍ठता दिइनेछ; तिनीहरूले परमप्रभुको महिमा, अँ, हाम्रा परमेश्‍वरको सर्वश्रेष्‍ठता देख्‍नेछन्। 3 कमजोर हातहरू बलिया बनाओ! दुर्बल घुँड़ाहरू स्थिर पार! 4 डराउने हृदय भएकाहरूलाई भन: बलिया होओ! नडराओ! हेर, तिमीहरूका परमेश्‍वर बदला लिएर, अँ, परमेश्‍वर प्रतिफल लिएर आउनुहुनेछ; उहाँ आउनुहुनेछ, र तिमीहरूलाई बचाउनुहुनेछ। 5 तब अन्धाहरूका आँखाहरू खोलिनेछन्, र बहिराहरूका कानहरू खोलिनेछन्। 6 तब लङ्गड़ा मृगझैं उफ्रिनेछ, र गुँगाको जिब्रोले गाउनेछ; किनकि उजाड़स्थानमा पानी र मरुभूमिमा खोलाहरू फुटेर निस्कनेछन्। 7 अनि खरिएको जमिन तलाउ, र तिर्खाएको भूमि पानीका धाराहरू बन्‍नेछन्; स्यालहरूको वासस्थानमा, जहाँ तिनीहरू हरेक विश्राम लिन्छन्, निगालो र नर्कटको साथ घाँस हुनेछ। 8 अनि त्यहाँ एउटा राजमार्ग हुनेछ, अँ, एउटा बाटो, जसको नाम ‘पवित्रताको बाटो’ भनिनेछ; अशुद्ध जन त्यसबाट भएर हिँड़्न पाउनेछैन; तर त्यो त उनीहरूका निम्ति हुनेछ; त्यस बाटोमा हिँड़्‍ने यात्रीहरू मूर्ख भए तापनि बाटो बिराउनेछैनन्। 9 त्यहाँ कुनै सिंह हुनेछैन, न ता कुनै हिंस्रक जनावर नै त्यसमा हिँड़्‍नेछ; त्यो त्यहाँ पाइनेछैन; तर दाम तिरेर छुटाइएकाहरू त्यसमा हिँड़्‍नेछन्। 10 अनि परमप्रभुका दाम तिरेर छुटाइएकाहरू फर्कनेछन्, र सियोनमा गीत गाउँदै आउनेछन्; उनीहरूका शिरमाथि सदा रहिरहने आनन्द हुनेछ; उनीहरूले हर्ष र आनन्द प्राप्‍त गर्नेछन्; शोक र सुस्केरा भाग्‍नेछन्।”