जाति-जातिको न्याय
34
“हे जातिहरूहो, सुन्‍नलाई नजिक आओ; अनि हे मानिसहरूहो, ध्यान देओ! पृथ्वी र त्यसको भरपूरीले – संसार र त्यसबाट पैदा भएका सबै थोकहरूले सुनून्! 2 किनकि परमप्रभुको क्रोध सबै जातिहरूमाथि, र उहाँको तातो रिस तिनीहरूका सबै सेनाहरूमाथि छ; उहाँले तिनीहरूलाई पूरै नाश पार्नुभएको छ; उहाँले तिनीहरूलाई संहारका निम्ति सुम्पिनुभएको छ। 3 अनि तिनीहरूका मारिएकाहरू बाहिर फालिनेछन्, र तिनीहरूका लासहरूबाट तिनीहरूको दुर्गन्ध माथि निस्कनेछ, अनि तिनीहरूको रगतले पहाड़हरू पग्लनेछन्। 4 अनि आकाशको सारा गण बिलेर जानेछ, र आकाश पुस्तकको मुठा बेरिएझैं लपेटिनेछ; अनि दाखको बोटबाट पात झरेझैं र नेभाराको रूखबाट झरिरहेको नेभाराझैं तिनीहरूको सारा गण खस्‍नेछ।
5 किनकि आकाशमा मेरो तरवार लफ्रक्‍क भिज्नेछ; हेर, न्यायका निम्ति त्यो एदोममाथि र मेरो श्रापमा परेका मानिसहरूमाथि ओर्ली आउनेछ। 6 परमप्रभुको तरवार रगतले भरिएको छ, त्यो बोसोले, अँ, पाठाहरू र बोकाहरूको रगतले, भेड़ाहरूको मिर्गौलाको बोसोले पुष्‍ट पारिएको छ; किनकि बोज्रामा परमप्रभुको एउटा बलिदान, र एदोम देशमा एउटा ठूलो काटमार छ। 7 अनि तिनको साथमा जङ्गली साँढे़हरू, अनि साँढ़ेहरूको साथमा बहरहरू ओर्ली आउनेछन्; अनि तिनीहरूको देश रगतले लफ्रक्‍क भिज्नेछ, र तिनीहरूको धूलोचाहिँ बोसोले पुष्‍ट पारिनेछ।
8 किनकि यो परमप्रभुको बदला लिने दिन हो, अनि सियोनको मुद्दाका निम्ति क्षतिपूर्तिहरूको वर्ष हो। 9 अनि त्यसका नदीहरू अलकत्रा र त्यसको धूलो गन्धकमा परिवर्तन हुनेछन्, अनि त्यसको देश जलिरहने अलकत्रा हुनेछ। 10 त्यो रातोदिन निभ्नेछैन; त्यसको धूवाँ सदा उँभो उठिरहनेछ; पुस्तौंपुस्तासम्म त्यो उजाड़ रहनेछ; सदा-सर्वदा त्यसबाट भएर कोही पनि जानेछैन। 11 तर धनेश र दुम्सीले त्यसलाई आफ्नो अधिकारमा लिनेछन्, अँ, उल्‍लू र कागले त्यसमा वास गर्नेछन्; अनि उहाँले त्यसमाथि उजाड़ताको नाप्‍ने डोरी र शून्यताका ढुङ्गाहरू फैलाउनुहुनेछ। 12 तिनीहरूले त्यसका भारदारहरूलाई राज्यमा बोलाउनेछन्, तर कोही पनि त्यहाँ हुनेछैन, अनि त्यसका सबै शासकहरू शून्य हुनेछन्। 13 अनि त्यसका दरवारहरूमा काँड़ाहरू, त्यसका किल्‍लाहरूमा सिस्‍नु र काँड़ेझाङहरू उम्रनेछन्; अनि त्यो स्यालहरूको वासस्थान, र शतुर्मुर्गहरूको चोक हुनेछ। 14 मरुभूमिमा बस्‍ने पशुहरूले टापुका जङ्गली पशुहरूसँग भेट्नेछन्, जङ्गली बोकाले आफ्नो साथीलाई बोलाउनेछ; रातको जन्तुले पनि त्यहाँ विश्राम लिनेछ, र आफ्ना निम्ति एउटा विश्रामस्थल पाउनेछ। 15 त्यहाँ काँड़झैं उड़्ने साँपले आफ्नो गुँड़ बनाउनेछ, अन्डा पार्नेछ, बचेरा काढ्नेछ र आफ्नो छायामुनि बटुल्नेछ; त्यहीं गिद्धहरू पनि, हरेक आ-आफ्नो जोड़ाको साथमा भेला हुनेछन्।
16 परमप्रभुको पुस्तकबाट सोधखोज गर, र पढ़! तिनमा एउटै पनि पूरा नभई छोड़िनेछैन, कसैलाई आफ्नो जोड़ाको घटी हुनेछैन; किनकि मेरो मुखले नै आज्ञा दिएको हो, र उहाँको आत्माले नै तिनलाई भेला पार्नुभएको छ। 17 अनि उहाँले तिनीहरूका निम्ति गोला हाल्नुभएको छ, अनि उहाँको हातले नाप्‍ने डोरी तानेर त्यो तिनीहरूलाई बाँड़िदिनुभएको छ; तिनीहरूले त्यसलाई सदाका निम्ति आफ्नो अधिकारमा लिनेछन्; तिनीहरूले पुस्तौंपुस्तासम्म त्यसमा वास गर्नेछन्।”