नाश गर्नेलाई धिक्‍कार!
33
“धिक्‍कार तँ नाश गर्नेलाई, र तँ आफूचाहिँ नाश भइनस्! धिक्‍कार तँ विश्‍वासघात गर्नेलाई, र तिनीहरूले तँसँग चाहिँ विश्‍वासघात गरेनन्! जब तैंले नाश गर्न छोड़्छस्, तब तँ नाश पारिनेछस्; अनि जब तैंले विश्‍वासघात गरिसक्छस्, तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्।
2 हे परमप्रभु, हामीमाथि अनुग्रहकारी हुनुहोस्; हामीले तपाईंको बाटो हेरेका छौं; हरेक बिहान तपाईं तिनीहरूको पाखुरा बन्‍नुहोस्, सङ्कष्‍टको समयमा हाम्रा उद्धार पनि बन्‍नुहोस्! 3 खैलाबैलाको आवाज सुनेर मानिसहरू भागे; तपाईं उठ्नुहुँदा जाति-जातिहरू तितरबितर भए। 4 अनि झुसिल्कीराले बटुलिएझैं तिमीहरूको लुटको माल बटुलिनेछ; सलहहरू यताउता दगुरेझैं ऊ त्यसमाथि जाइलाग्‍नेछ। 5 परमप्रभु उच्‍च पारिनुभएको छ; किनकि उहाँ उच्‍च स्थानमा वास गर्नुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुभएको छ। 6 अनि उद्धारको भरपूरी, बुद्धि र ज्ञान तिम्रा समयहरूको स्थिरता हुनेछन्; परमप्रभुको डरचाहिँ उसको धन हो।
7 हेर, बाहिर तिनीहरूका शूरवीरहरू चिच्च्याउनेछन्; शान्तिका दूतहरू नमीठो गरी रुनेछन्। 8 मूलबाटाहरू सुनसान छन्, बाटोमा यात्री हिँड़्न छोड़्छ; त्यसले वाचा तोड़ेको छ; त्यसले शहरहरूलाई तुच्छ ठानेको छ, त्यसले मानिसको वास्ता गर्दैन। 9 पृथ्वीले विलाप गर्छ, र झोक्रिन्छ; लेबानोन शर्ममा परेको र ओइलिएको छ; शारोनचाहिँ एउटा मरुभूमिजस्‍तो भएको छ; अनि बाशान र कर्मेलले आफ्ना फल झार्छन्।
10 अब म उठ्नेछु, परमप्रभु भन्‍नुहुन्‍छ; अब म उच्‍च पारिनेछु; अब म आफैलाई उचाल्नेछु। 11 तिमीहरूले भुसलाई गर्भधारण गर्नेछौ, तिमीहरूले नलका ठुटालाई जन्माउनेछौ; तिमीहरूको सासले आगोले झैं तिमीहरूलाई भस्म पार्नेछ। 12 मानिसहरू चुनाका जलाइहरूझैं हुनेछन्; काटिएका काँड़ाहरूझैं तिनीहरू आगोमा जलाइनेछन्।
13 हे टाढ़ा-टाढ़ामा हुनेहरूहो, मैले के-के गरेको छु, सो सुन! अनि हे नजिकमा हुनेहरूहो, मेरो सामर्थ्य स्वीकार गर! 14 सियोनमा पापीहरू भयभीत छन्; थरहरीले कपटीहरूलाई पक्रेको छ; हामीमध्ये को भस्म पार्ने आगोको साथमा वास गर्ला? हामीमध्ये को अनन्त जलनहरूको साथमा वास गर्ला? 15 जो धार्मिकताको साथमा हिँड़्छ, र ठीक कुराहरू बोल्छ, जसले थिचोमिचोहरूद्वारा प्राप्‍त हुने लाभलाई घृणा गर्छ, जसले घूस थाप्‍नबाट आफ्ना हात टकटकाउँछ, जसले रक्तपातको कुरा सुन्‍नबाट आफ्ना कान थुन्छ र जसले खराब कुरा हेर्नबाट आफ्ना आँखाहरू बन्द गर्छ, 16 उसैले उच्‍च स्थानहरूमा वास गर्नेछ; चट्टानहरूका गढ़ीहरू उसको शरणस्थान हुनेछन्; उसलाई उसको रोटी दिइनेछ; उसको पानी कहिल्यै चुक्नेछैन
प्रतापी राजा
17 तिम्रा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्‍नेछन्; तिनीहरूले अति टाढ़ाको देशलाई निहार्नेछन्। 18 तिम्रो हृदयले आतङ्कको विषयमा ध्यान गर्नेछ; लेखक कहाँ छ? तौलने कहाँ छ? त्यो धरहराहरू गन्ती गर्ने कहाँ छ? 19 तिमीले त्यस क्रूर जातिलाई देख्‍नेछैनौ – त्यस जातिलाई, जसको अनौठो भाषा तिमीले ठम्याउन सक्दैनौ, जसको भकभकिने जिब्रो तिमीले बुझ्दैनौ। 20 हाम्रा तोकिएका चाड़हरूको शहर सियोनमाथि दृष्‍टि लगाऊ; तिम्रा आँखाहरूले शान्त वासस्थान यरूशलेमलाई देख्‍नेछन् – एउटा निवासस्थान, जो कहिल्यै उठाएर लगिनेछैन; त्यसका कीलाहरूमध्ये एउटा कीला पनि कहिल्यै हटाइनेछैन, न ता त्यसका डोरीहरूमध्ये एउटा चुँड़िनेछ। 21 तर त्यहाँ हाम्रा निम्ति महिमित परमप्रभु फराकिला नदीहरू र खोलाहरूको एउटा ठाउँ बन्‍नुहुनेछ, जहाँ बहनाहरू भएको कुनै जहाज चल्नेछैन, न ता कुनै शानदार जहाज नै त्यहाँबाट भएर जानेछ। 22 किनभने परमप्रभु हाम्रा न्यायकर्ता हुनुहुन्छ; परमप्रभु हाम्रा व्यवस्थापक हुनुहुन्छ; परमप्रभु हाम्रा राजा हुनुहुन्छ; उहाँले नै हामीलाई बचाउनुहुनेछ। 23 तिम्रा डोरीहरू खकुला भएका छन्, तिनीहरूले आफ्नो मस्तुल राम्ररी बलियो पार्न सकेनन्; तिनीहरूले पाल फैलाउन सकेनन्; त्यस बेला ठूलो लुटको शिकार बाँड़िनेछ; लङ्गड़ाहरूले पनि लुटको माल लिनेछन्। 24 अनि कुनै बासिन्दाले ‘म बिरामी छु’ भन्‍नेछैन; त्यसमा बस्‍ने मानिसहरूको अधर्म क्षमा हुनेछ।”