धार्मिकताले पूर्ण राज्य
32
“हेर, राजाले धार्मिकतापूर्वक राज्य गर्नेछन्, र शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्। 2 अनि मानिसचाहिँ हावाबतास चल्दा लुक्ने ठाउँजस्तो, र आँधी आउँदा आड़जस्तो, अँ, सुक्खा भूमिमा पानीका नदीहरूजस्तो, तिर्खाएको देशमा ठूलो चट्टानको छायाजस्तो हुनेछ। 3 अनि जसले देख्छन्, तिनीहरूका आँखाहरू धमिला हुनेछैनन्, र जसले सुन्छन्, तिनीहरूका कानहरूले ध्यान दिएर सुन्‍नेछन्। 4 हड़बड़ेहरूको हृदयले पनि ज्ञान बुझ्नेछ, र भकभकेहरूको जिब्रो सफासँग बोल्न तयार हुनेछ 5 मूर्ख मानिस फेरि कहिल्यै भलादमी कहलाइनेछैन, न ता कन्जुस नै मनकारी भनिनेछ। 6 किनकि मूर्ख मानिसले मूर्खता बोल्नेछ, र भक्तिहीन काम गर्नलाई, परमप्रभुको विरोधमा भड़्काउने कुरा बोल्नलाई, भोकाएको मानिसको प्राणलाई रित्तै पार्नलाई र तिर्खाएको मानिसको पिउने कुरा रोकेर राख्‍नलाई त्यसको हृदयले अधर्म गरिरहनेछ। 7 अनि कन्जुसका हतियारहरू पनि खराब हुन्छन्; दरिद्रले ठीक कुरा बोले तापनि झूट कुराहरूद्वारा गरीबहरूलाई नाश गर्नलाई त्यसले त दुष्‍ट युक्तिहरू रच्दछ। 8 तर मनकारीले मनकारी कुराहरूको युक्ति गर्दछ; अनि मनकारी कुराहरूद्वारा ऊ माथि उठ्नेछ।”
ढुक्‍कै बस्‍नुको परिणाम
9 “हे निश्‍चिन्‍त भएर बस्‍ने स्त्रीहरूहो, उठ! हे ढुक्‍कै बस्‍ने छोरीहरूहो, मेरो सोर सुन; मेरो कुरातिर कान लगाओ! 10 हे ढुक्‍कै बस्‍ने स्त्रीहरूहो, धेरै दिन र वर्षसम्म तिमीहरू कष्‍टमा पर्नेछौ; किनकि अङ्‍गुरको फसल हुनेछैन, बटुल्ने काम हुनेछैन। 11 हे निश्‍चिन्‍त भएर बस्‍ने स्त्रीहरूहो, थरथर काम! हे ढुक्‍कै बस्‍नेहरूहो, कष्‍ट पाओ; वस्त्र फुकाल, आफूलाई नाङ्गो पार र आफ्ना कम्मरहरूमा भाङ्ग्राको लुगा कस! 12 तिनीहरूले स्तनहरू, मनोहर खेतबारीहरू र फलवन्‍त दाखको बोटका निम्ति विलाप गर्नेछन्। 13 मेरो प्रजाको जमिनमाथि, अँ, रमाहट गर्ने शहरमा भएका सबै आनन्दका घरहरूमाथि काँड़ाहरू र काँड़ेझाङहरू उम्रनेछन्; 14 किनकि महलहरू त्यागिनेछन्, शहरको भीड़ छोड़िनेछ; किल्‍लाहरू र धरहराहरू सदाका निम्ति गुफाहरू हुनेछन्, जङ्गली गधैनीहरूका लागि आनन्द, भेड़ाबाख्राहरूका लागि खर्क हुनेछन्; 15 जबसम्म माथिबाट आत्मा हामीमाथि खन्याइनुहुनेछैन, र उजाड़स्थान फलवान् खेतबारी हुनेछैन, र फलवान् खेतबारीचाहिँ वन गनिनेछैन। 16 तब उजाड़स्थानमा न्यायले वास गर्नेछ, र फलवान् खेतबारीमा धार्मिकताले वास गर्नेछ। 17 अनि धार्मिकताको काम शान्ति हुनेछ, र धार्मिकताको परिणाम सदाका निम्ति चैन र सुरक्षा हुनेछन्। 18 अनि मेरो प्रजा शान्तिमय निवासमा, सुरक्षित वासस्थानहरूमा र शान्त विश्रामस्थलहरूमा बस्‍नेछन्; 19 अनि असिना पर्दा त्यो वनमाथि खस्‍नेछ; अनि त्यो शहर तल्‍लो स्तरमा होच्याइनेछ। 20 तिमीहरू धन्यका हौ, जसले पानीहरूको छेउमा बीउ छर्दछौ, जसले गोरु र गधाका खुट्टाहरू त्यहाँ पठाउँदछौ।”