परमप्रभुमाथि भरोसा नराख्नु मूर्खता हो
31
“धिक्कार तिनीहरूलाई, जो सहायता पाउन तल मिस्रमा जान्छन्, घोड़ाहरूमाथि भर पर्छन् र रथहरूमाथि भरोसा राख्छन्, किनकि ती धेरै छन्; साथै घोड़चढ़ीहरूमाथि पनि भरोसा राख्छन्, किनकि ती खूबै बलिया छन्; तर तिनीहरूले इस्राएलका पवित्र जनमाथि आँखा उठाउँदैनन्, न ता परमप्रभुको खोजी गर्छन्! 2 तर उहाँ पनि बुद्धिमान् हुनुहुन्छ, र खराबी ल्याउनुहुनेछ, अनि आफ्ना वचनहरू टार्नुहुनेछैन; तर उहाँ कुकर्मीहरूको घरानाको विरोधमा र अधर्म गर्नेहरूको सहायताको विरोधमा उठ्नुहुनेछ। 3 अँ, मिस्रीहरू मानिस मात्र हुन्, ईश्वर होइनन्; अनि तिनीहरूका घोड़ाहरू मासु मात्र हुन्, आत्मा होइनन्। जब परमप्रभुले आफ्नो हात पसार्नुहुन्छ, तब सहायता गर्नेले ठेस खानेछ, र सहायता पाउने लड़्नेछ, अनि तिनीहरू सबै एकसाथ नष्ट हुनेछन्।4 किनकि परमप्रभुले मलाई यसो भन्नुभएको छ: जब सिंह, अँ, जवान सिंह आफ्नो शिकारमाथि गर्जन्छ, र त्यसको विरोधमा गोठालाहरूको भीड़ बोलाइन्छ, तब तिनीहरूको सोरसँग त्यो डराउनेछैन, र तिनीहरूको हल्लाखल्लाले त्यो झुक्नेछैन; त्यसरी नै सेनाहरूका परमप्रभु सियोन पर्वतका निम्तिक र त्यसको डाँड़ाका निम्तिक लड़ाइँ गर्न ओर्ली आउनुहुनेछ। 5 पखेटाले उड़िरहेका चराहरूले झैं सेनाहरूका परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ; अनि उहाँले रक्षा गर्दै त्यसलाई छुटाउनु पनि हुनेछ; अनि छोड़ेर जाँदै उहाँले त्यसलाई बचाउनुहुनेछ।
6 जसको विरोधमा इस्राएलीहरूले घोर विद्रोह गरे, उहाँकहाँ तिमीहरू फर्क! 7 किनकि त्यस दिन तिनीहरू हरेकले आफ्ना चाँदीका मूर्तिहरू, र आफ्ना सुनका मूर्तिहरू फालिदिनेछन्,ख जुन मूर्तिहरू तिमीहरूका हातहरूले तिमीहरूका निम्ति पाप हुनलाई बनाएका छन्। 8 तब अश्शूर एउटा तरवारले ढालिनेछ, जुन तरवार ठूलो मानिसको होइन; अनि एउटा तरवारले त्यसलाई भस्म पार्नेछ, जुन तरवार साधारण मानिसको होइन; तर त्यो यस तरवारबाट भाग्नेछ, र त्यसका जवान मानिसहरू बेगारी गर्नेहरू बन्नेछन्। 9 अनि डरले गर्दा त्यो आफ्नो गढ़मा अघि बढ़ेर जानेछ; अनि त्यसका शासकहरू झण्डा देखेर भयभीत हुनेछन्। परमप्रभु, जसको आगो सियोनमा छ, र जसको भट्टी यरूशलेममा छ, यसो भन्नुहुन्छ।”