मिस्र देशमाथि भरोसा राख्नु व्यर्थ कुरा हो
30
“परमप्रभु भन्नुहुन्छ: विद्रोही छोराछोरीहरूलाई धिक्कार, जसले सल्लाह त लिन्छन्, तर मबाट होइन; जसले संगठन त बाँध्छन्क, तर मेरो आत्माबाट होइन – पापमाथि पाप थप्नलाई। 2 फराओको बलले आफूलाई बलियो पार्नलाई र मिस्रको छत्रछायामाथि भरोसा पर्नलाई तिनीहरू तल मिस्रमा जान भनी बाटो लाग्छन्, तर तिनीहरूले मेरो मुखबाट सोधखोज गरेका छैनन्। 3 यसकारण फराओको बल तिमीहरूका निम्ति शर्म, र मिस्रको छत्रछायामाथिको भरोसाचाहिँ तिनीहरूको बेइज्जत ठहरिनेछ। 4 किनकि उसका शासकहरू सोअनमा थिए, र उसका राजदूतहरूचाहिँ हानेसमा आइपुगे। 5 तिनीहरू सबै त्यस जातिको कारणले लज्जित भए, जसद्वारा तिनीहरूलाई कुनै फाइदा भएन; जो न सहायता भयो, न फाइदा; तर शर्म मात्र भयो, साथै निन्दा पनि।6 दक्षिणकाख पशुहरूको विषयमा भविष्यवाणीग: कष्ट र वेदनाको देशबाट भएर, जहाँबाट जवान सिंहघ र सिंह, साँभे साँप र उड़्ने विषालु सर्प आउँछन्, तिनीहरूले आफ्नो धनसम्पत्ति जवान गधाहरूको पिठ्यूँमाथि र आफ्नो धन ऊँटहरूका जुराहरूमाथि बोकाएर त्यस जातिकहाँ जान्छन्, जसले तिनीहरूलाई कुनै फाइदा दिँदैन। 7 किनकि मिस्रीहरूले व्यर्थमा र विनाकामको सहायता गर्नेछन्; यसकारण मैले यस विषयमा कराएर भनेको छु: ‘चुपचाप बस्नु नै तिनीहरूको बल हो’।”
एउटा विद्रोही जाति
8 “अब जाऊ, तिनीहरूकै सामु यो कुरा एउटा पाटीमा लेख, अनि यो कुरा एउटा पुस्तकमा लेखिराखङ, र यो आउने समयकाच निम्ति, सदा-सर्वदाका लागि होस्; 9 किनकि यो एउटा विद्रोही जाति हो – झूट बोल्ने छोराछोरीहरू हुन्, यस्ता छोराछोरीहरू, जसले परमप्रभुको व्यवस्था सुन्न चाहँदैनन्; 10 जसले दर्शीहरूलाई भन्छन्: ‘दर्शन नदेख’; अनि भविष्यवक्ताहरूलाई भन्छन्: ‘हाम्रा निम्ति ठीक कुराहरूको भविष्यवाणी नगर; हामीसित चिप्ला कुराहरू बोल; धोका दिने कुराहरू भविष्यवाणी गर! 11 मार्गबाट हटेर जाओ, बाटो छोड़ेर एकातिर लाग, इस्राएलका पवित्र जनलाई हाम्रो सामुबाट हटाओछ!’ 12 यसैकारण इस्राएलका पवित्र जन यसो भन्नुहुन्छ: तिमीहरू यस वचनलाई तुच्छ ठान्छौ, अनि थिचोमिचो र टेढ़ापनमाथि भरोसा पर्छौ र तिनैमाथि भर पर्छौज; 13 यसैकारण यो अधर्म तिमीहरूका निम्ति खस्नै लागेको धाँदोजस्तो हुनेछ, जो अग्लो पर्खालमा भुँड़ी निस्केर आइरहेको छ, जसको विनाश अचानक, एकै झिमिकमा आउँछ। 14 अनि उहाँले त्यसलाई कुमालेको भाँड़ाको फुटाइझैं फुटाउनुहुनेछ, जुन भाँड़ा टुक्रा-टुक्रा पारिन्छ; उहाँले त्यसलाई छोड़्नुहुनेछैन; यसैले त्यसको विनाशमा अगेनाबाट आगो लैजानलाई वा खाड़लबाट पानी झिक्नलाई एउटा खपटोधरि पाइनेछैन।
15 किनभने इस्राएलका पवित्र जन प्रभु यहोवाले यसो भन्नुहुन्छ: फर्केर आउनु र विश्राम लिनुमा तिमीहरूको उद्धार हुनेछ; शान्त रहनु र भरोसा राख्नुमा तिमीहरूको शक्तिबल हुनेछ; तर तिमीहरूले चाहेनौ। 16 तर तिमीहरूले भन्यौ: ‘अहँ; किनकि हामी घोड़ाहरूमाथि चढ़ेर भाग्नेछौं’; यसकारण तिमीहरू भाग्नेछौ। अनि ‘हामी वेगसित दगुर्नेमाथि सवार गर्नेछौं’; यसकारण तिमीहरूलाई पिछा गर्नेहरू फुर्तिला हुनेछन्। 17 एकजनाको हप्कीले एक हजार भाग्नेछन्; पाँचजनाको हप्कीले तिमीहरू तबसम्म भाग्नेछौ, जबसम्म तिमीहरू पहाड़को चुचुरामाथि एउटा घोचाजस्तो र डाँड़ामाथि एउटा झण्डाजस्तो बाँकी रहँदैनौ।”
परमेश्वर अनुग्रही हुनुहुन्छ
18 “अनि यसकारण तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभुले पर्खनुहुनेछ, र यसकारण तिमीहरूमाथि दया देखाउनलाईझ उहाँ उच्च पारिनुहुनेछ; किनकि परमप्रभु न्यायका परमेश्वर हुनुहुन्छ; उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्। 19 किनकि यरूशलेममा मानिसहरू सियोनमा बस्नेछन्; निश्चय तिमी फेरि कहिल्यै रुनेछैनौ; तिम्रो चिच्च्याएको आवाज सुनेर उहाँ तिमीप्रति अति अनुग्रही हुनुहुनेछ; जब उहाँले त्यो सुन्नुहुनेछ, तब उहाँले तिमीलाई जवाफ दिनुहुनेछ। 20 अनि प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्टको पानी दिनुभए तापनि तिम्रा शिक्षकहरू फेरि कहिल्यै कुनातिर हटाइनेछैनन्, तर तिम्रा आँखाहरूले तिम्रा शिक्षकहरूलाई देख्नेछन्; 21 अनि जब तिमीहरू दाहिनेतिर लाग्छौ, वा देब्रतिर लाग्छौ, तब तिम्रा कानहरूले तिम्रो पछिल्तिर यसो भन्ने शब्द सुन्नेछन्: ‘बाटो यो हो; तिमीहरू यसैमा हिँड़!’ 22 अनि तिम्रा खोपिएका चाँदीका मूर्तिहरूको जलप र तिम्रा ढालेर बनाइएका सुनका मूर्तिहरूको पोसाकञ तिमीहरूले अशुद्ध पार्नेछौ; तिमीले तिनलाई मासिक धर्मको खोट लागेको कपड़ाझैं फालिदिनेछौ; तिमीले त्यसलाई भन्नेछौ: ‘पर जा!’
23 तब जुन बिउ तिमीले जमिनमा छर्नेछौ, त्यस तिम्रा बीउका निम्ति वर्षा दिनुहुनेछ; अनि उहाँले तिम्रो जमिनको उब्जनीको रोटी दिनुहुनेछ, र, त्यो उत्तम र प्रशस्त हुनेछ; त्यस दिन तिम्रा गाईबस्तुहरू ठूला-ठूला खर्कहरूमा चर्नेछन्; 24 साथै जमिनको काम गर्ने गोरुहरू र जवान गधाहरूले बेल्चा र नाङलोले निफनेको स्वादिलो दाना खानेछन्। 25 अनि त्यस ठूलो काटमारको दिनमा, जब धरहराहरू ढल्नेछन्, हरेक अग्लो पहाड़माथि र हरेक उठेको डाँड़ामाथि नदीहरू र पानीका खोलाहरू हुनेछन्; 26 अनि चन्द्रमाको प्रकाश सूर्यको प्रकाशजस्तो हुनेछ, र सूर्यको प्रकाश सात गुणा अर्थात् सात दिनको प्रकाशजस्तो हुनेछ; त्यस दिन परमप्रभुले आफ्नो प्रजाको चोटमाट पट्टी बाँध्नुहुन्छ र प्रहारले लागेको घाउ निको पार्नुहुन्छ।
27 हेर, परमप्रभुको नाम टाढ़ाबाट आउँछ, उहाँको रिस दन्किरहेको छ, र त्यसको भारीठ गह्रौं छ; उहाँका ओठहरू क्रोधले भरिएका छन्, र उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ; 28 अनि जाति-जातिलाई व्यर्थताको चाल्नीले चाल्नलाई उहाँको सासड उर्लंदै गरेको खोलाजस्तो छ, जो घाँटीसम्म पुग्नेछ; अनि मानिसहरूलाई भड़्काउनलाई तिनीहरूका बङ्गारामा एउटा लगाम हुनेछ। 29 पवित्र चाड़ मनाइएको रातमा झैं तिमीहरूको गीत हुनेछ; अनि बाँसुरी बजाउँदै परमप्रभुको पर्वतमा, इस्राएलको चट्टानकहाँ आउन भनी गएको बेलामा झैं तिमीहरूलाई हृदयको आनन्द हुनेछ। 30 अनि परमप्रभुले आफ्नो महिमित सोर सुनाउनुहुनेछ, अनि आफ्नो रिसको झोक र भस्म पार्ने आगोको ज्वाला, अँ, मेघको गर्जन, आँधीबतास र असिनाहरूको साथमा आफ्नो तल झरिरहेको पाखुरा देखाउनुहुनेछ। 31 किनकि परमप्रभुको सोरले अश्शूर टुक्रा-टुक्राढ पारिनेछ, जसले लाठोले हिर्काउनुहुनेछ। 32 अनि त्यो ठहराइएको लौरोको हरेक प्रहारण, जुन लौरो परमप्रभुले त्यसमाथि राख्नुहुनेछत, त्यो खैंजड़ी र वीणाहरूको साथमा हुनेछ; अनि हतियारहरू मच्च्याई-मच्च्याई गरेका लड़ाइँहरूमा उहाँ त्यससँग लड़्नुहुनेछ। 33 किनकि पहिलेबाट नै तोपेत नियुक्त गरिएको छ; अँ, राजाकै निम्ति यो तयार पारिएको छ; उहाँले त्यसलाई गहिरो र ठूलो बनाउनुभएको छ; त्यसको चिता आगो र धेरै दाउरा हो; परमप्रभुको सासले, जो गन्धकको खोलाजस्तो छ, त्यसलाई सल्काउँदैछ।”