दाऊदको शहरलाई हाय!
29
“अरिएललाई, अरिएललाई हाय! त्यस शहरलाई, जहाँ दाऊदले छाउनी हाले! तिमीहरू वर्षमाथि वर्ष थप! चाड़हरू घुम्दै आऊन्! 2 तरै पनि म अरिएललाई सङ्कष्‍टमा पार्नेछु; अनि त्यहाँ विलाप र शोक हुनेछन्; अनि त्यो मेरा निम्ति अरिएलझैं हुनेछ। 3 अनि म तेरो विरोधमा चारैतिर छाउनी हाल्नेछु, तेरो विरोधमा मोर्चा हालेर घेर्नेछु र तेरो विरोधमा घेराबन्दीहरू खड़ा गर्नेछु। 4 अनि तँ तल झारिनेछस्, र भुइँबाट बोल्नेछस्, अनि धूलोबाट बोलिएको तेरो बोली धीमा हुनेछ, भुइँबाट निस्केको तेरो सोर भूतप्रेत खेलाउने मानिसको जस्तो हुनेछ, र धूलोबाट तेरो चीं-चीं गर्ने बोली निस्कनेछ; 5 साथै तेरा परदेशीहरूको भीड़ मसिनो धूलोपीठोजस्तो हुनेछ, र थिचोमिचो गर्नेहरूको भीड़ उड़ाएर लगिएको भुसजस्तो हुनेछ; अँ, यो एकै झिमिकमा अचानक हुनेछ। 6 सेनाहरूका परमप्रभुको तर्फबाट गर्जन, भुइँचालो, ठूलो आवाज, भुमरी, आँधीबेहरी र भस्म पार्ने आगोको ज्वालासित तेरो भेट हुनेछ। 7 अनि अरिएलको विरोधमा लड़ाइँ गर्ने सबै जातिहरूको भीड़, अर्थात् त्यसको र त्यसको गढ़को विरोधमा लड़ाइँ गर्ने र त्यसलाई सङ्कष्‍टमा पार्ने सबैचाहिँ रातको दर्शनको सपनाजस्तो हुनेछन्। 8 अनि यस्तो हुनेछ: भोकाएको मानिसले सपना देख्छ, अनि हेर, त्यसले खाइरहेको छ; तर जब त्यो बिउँझन्छ, तब त्यसको प्राण रित्तै हुन्छ; अथवा तिर्खाएको मानिसले सपना देख्छ, अनि हेर, त्यसले पिइरहेछ; तर जब त्यो बिउँझन्छ, तब हेर, त्यो क्लान्त हुन्छ, र त्यसको प्राण भोकाइराखेकै हुन्छ; सियोन पर्वतसँग लड़ाइँ गर्ने सबै जातिहरूको भीड़ त्यस्तै हुनेछ।
9 पर्ख र चकित होओ! आफूलाई अन्धा तुल्याओ, र अन्धा होओ! तिनीहरू मातेका छन्, तर दाखमद्यले होइन; तिनीहरू धरमरिरहेका छन्, तर मदिराले होइन। 10 किनकि परमप्रभुले तिमीहरूमाथि गहिरो निद्राको आत्मा खन्याउनुभएको छ, र तिमीहरूका आँखाहरू बन्द पार्नुभएको छ; यी भविष्यवक्ताहरू र तिमीहरूका शासकहरूलाई, यी दर्शीहरूलाई उहाँले ढाकिदिनुभएको छ। 11 अनि सम्पूर्ण दर्शन तिमीहरूका निम्ति मोहोरछाप लगाइएको पुस्तकका वचनहरूजस्तो भएको छ, जुन पुस्तक मानिसहरूले लिएर लेख्‍न-पढ़्न जान्‍ने मानिसलाई यसो भन्दै दिन्छन्: ‘म तपाईंलाई विन्‍ती गर्छु, यो पढ़िदिनुहोस् न!’ तर तिनले भन्छन्: ‘म सक्दिनँ; किनकि यो मोहोरछाप लगाइएको छ।’ 12 अनि त्यो पुस्तक लेख्‍न-पढ़्न नजान्‍नेलाई यसो भन्दै दिइन्छ: ‘म तिमीलाई विन्‍ती गर्छु, यो पढ़िदिनुहोस्!’; तर त्यसले भन्छ: ‘म लेख्‍न-पढ़्न जान्दिनँ।’ 13 यसैकारण प्रभुले भन्‍नुभयो: ‘यो जाति आफ्नो मुखले चाहिँ मेरो नजिकमा आउँछ, र आफ्ना ओठहरूले मलाई आदर गर्छ; तर तिनीहरूले आफ्नो हृदय मदेखि टाढ़ा हटाएका छन्, अनि मप्रतिको तिनीहरूको डरचाहिँ मानिसहरूको धर्म-शिक्षाले सिकाइएको मात्र हो। 14 यसैकारण हेर, यस जातिको बीचमा एउटा अचम्मको काम, अँ, एउटा अचम्मको काम र एउटा अद्‌भूत काम गर्नलाई म अघि बढ़्नेछु; किनकि तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नाश हुनेछ, र तिनीहरूका समझदारहरूको समझ लुकाइनेछ।
15 तिनीहरूलाई धिक्‍कार! जसले आफ्नो युक्ति परमप्रभुदेखि लुकाउनलाई गहिराइको खोज गर्छन्, र तिनीहरूका कामहरू अन्धकारमा छन्; अनि तिनीहरूले भन्छन्: ‘कसले हामीलाई देख्छ र? अनि कसले हामीलाई चिन्छ र?’ 16 तिमीहरूको कस्तो टेढ़ा चाल! के कुमाले चिम्टे माटोसरह ठानियोस्, कि बनेको चीजले आफ्नो बनाउनेवालाको विषयमा ‘उनले मलाई बनाएनन्’ भनोस्? अथवा के रचिएको चीजले आफ्नो रचनाकारको विषयमा ‘उनको समझ छैन’ भनोस्?
17 के अझ एकदमै थोरै समयमै लेबानोन एउटा फलवान् खेतबारीमा परिवर्तन हुनेछैन र? अनि त्यो फलवान् खेतबारीचाहिँ एउटा जङ्गल ठानिनेछैन र? 18 अनि त्यस दिन बहिराहरूले पुस्तकका शब्दहरू सुन्‍नेछन्, र धमिलोपनबाट र अन्धकारबाट अन्धाहरूका आँखाहरूले देख्‍नेछन्। 19 अनि नम्र जनहरूले परमप्रभुमा आफ्नो आनन्द बढ़ाउनेछन्; अनि मानिसहरूको बीचका गरिबहरूले इस्राएलका पवित्र जनमा आनन्द मनाउनेछन्। 20 किनकि अत्‍यचारी नाश हुनेछ, गिल्‍ला गर्ने रहनेछैन र अधर्म गर्नलाई जाग्‍नेहरू सबै नष्‍ट हुनेछन्; 21 जसले वचनमा मानिसलाई पाप गर्न लगाउँछन्, मूलढोकामा हप्काउनेलाई पासो थाप्छन् र व्यर्थ कुराका निम्ति धर्मी जनलाई पन्साउँछन्। 22 यसैकारण परमप्रभु, जसले अब्राहमलाई दाम तिरेर छुटाउनुभयो, याकूबको घरानाको सम्बन्धमा यसो भन्‍नुहुन्‍छ: अब याकूब न लज्जित हुनेछ, न ता शर्मले उसको अनुहारको रङ्ग उड़ेको हुनेछ। 23 तर जब उसले आफ्नो बीचमा आफ्ना सन्तानहरूलाई देख्‍नेछ, जो मेरा हातको काम हुन्, तब तिनीहरूले मेरो नामलाई पवित्र मान्‍नेछन्, याकूबका पवित्र जनलाई पवित्र मान्‍नेछन् र इस्राएलका परमेश्‍वरको डर मान्‍नेछन्। 24 अनि आत्मामा भड़्किएर जानेहरूले समझ प्राप्‍त गर्नेछन्, र गनगनाउनेहरूले शिक्षा सिक्नेछन्।”