एप्रैमका मतवालाहरूलाई धिक्‍कार!
28
“घमण्डको मुकुटलाई, अँ, एप्रैमका मतवालाहरूलाई धिक्‍कार, जसको महिमावान् सुन्दरता ओइलिँदै गरेको फूल हो, जो दाखमद्यले लट्ठ भएकाहरूको उब्जाउ बेंसीको सिरानमा छन्! 2 हेर, प्रभुको एकजना शक्तिशाली र बलवान् जन छन्, जसले असिनाको हुरीले जस्तो, नाश गर्ने आँधीले जस्तो, अँ, उर्लंदै गरेको सामर्थी पानीको बाढ़ले जस्तो तिनीहरूलाई हातले पृथ्वीमाथि फाल्नेछन्। 3 घमण्डको मुकुट, एप्रैमका मतवालाहरू पाउहरूमुनि कुल्चीमिल्ची पारिनेछन्; 4 अनि उब्जाउ बेंसीको सिरानमा भएको त्यसको महिमावान् सुन्दरताचाहिँ ओइलिँदै गरेको फूल र ग्रीष्म ऋतुभन्दा अघि पहिले पाकेको नेभाराझैं हुनेछ, जसलाई यसलाई हेर्नेले देख्छ; जो त्यसको हातमा हुँदा-हुँदै त्यसले यो निलिदिन्छ।
5 त्यस दिन सेनाहरूका परमप्रभु आफ्नो प्रजाको बचेको भागका निम्ति महिमाको मुकुट र सुन्दरताको शिरपेच बन्‍नुहुनेछ; 6 अनि न्याय गर्न बस्‍नेका निम्ति उहाँ न्यायको आत्मा, र लड़ाइँ मूलढोकातिरै फर्काइदिनेहरूका निम्ति उहाँ बल ठहरिनुहुनेछ।
7 तर तिनीहरूचाहिँ दाखमद्यले गर्दा भड़्किएका र मदिराले गर्दा कुबाटोमा लागेका छन्; पूजाहारी र भविष्यवक्ता मदिराको कारणले भड़्किएका छन्; तिनीहरू दाखमद्यद्वारा निलिएका छन्; तिनीहरू मदिराको कारणले कुबाटो लागेका छन्; तिनीहरू दर्शनको सम्बन्धमा भड़्किन्छन्; तिनीहरूले न्यायमा ठेस खान्छन्। 8 किनकि सबै टेबलहरू बान्ता र फोहोरले भरिएका छन्, सुग्घर ठाउँ नै छैन। 9 कसलाई उहाँले ज्ञान सिकाउनुहोला? अनि कसलाई उहाँले खबर बुझ्ने तुल्याउनुहोला? के दूध छुड़ाइएकाहरूलाई, के स्तनहरूबाट हटाइएकाहरूलाई? 10 किनकि आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा; नियममाथि नियम, नियममाथि नियम; अलिकति यहाँ, अलिकति त्यहाँ हुनुपर्छ। 11 किनभने उहाँले यस जातिसित भकभकिने ओठहरू र अर्को भाषामा बोल्नुहुनेछ; 12 जसलाई उहाँले भन्‍नुभयो: ‘विश्राम यही हो, जसद्वारा थाकेकोलाई विश्राम देओ! अनि विश्रान्ति यही हो’; तरै पनि तिनीहरूले सुन्‍न चाहेनन्। 13 तर परमप्रभुको वचन तिनीहरूका निम्ति आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा; नियममाथि नियम, नियममाथि नियम; अलिकति यहाँ, अलिकति त्यहाँ थियो; यस हेतुले कि तिनीहरू जाऊन्, पछिल्तिर लोटून्, टुक्रा-टुक्रा होऊन्, अनि पासोमा परून् र कैदमा लगिऊन्।
14 यसकारण हे गिल्‍ला गर्ने मानिसहरूहो, तिमीहरू, जसले यरूशलेममा भएको यस जातिमाथि शासन गर्दछौ, परमप्रभुको वचन सुन! 15 किनकि तिमीहरूले भनेका छौ: ‘हामीले मृत्युसँग वाचा बाँधेका छौं, र अधोलोकसँग सम्झौता गरेका छौं; जब उर्लिरहेको बाढ़रूपी कोर्रा पार भएर जाला, तब त्यो हामीकहाँ आउनेछैन; किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौं र झूटोपनभित्र लुकेका छौं।’ 16 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हेर, म सियोनमा जगको रूपमा एउटा ढुङ्गो, एउटा जाँचिएको ढुङ्गो, एउटा बहुमूल्य कुना-ढुङ्गो, एउटा दृढ़ जग बसाल्नेछु; जसले विश्‍वास गर्छ, त्यसले हतार गर्नेछैन। 17 अनि म न्यायलाई नाप्‍ने डोरी र धार्मिकतालाई साहुल ठहऱ्याउनेछु; अनि झूटको शरणस्थान असिनाले बहाउनेछ, र पानीले लुक्ने ठाउँ डुबाइदिनेछ। 18 अनि मृत्युसँग बाँधेको तिमीहरूको वाचा रद्द हुनेछ, र अधोलोकसँग गरेको तिमीहरूको सम्झौता टिक्नेछैन; जब उर्लिरहेको बाढ़रूपी कोर्रा पार भएर जाला, तब तिमीहरू त्यसैद्वारा कुल्चीमिल्ची पारिनेछौ। 19 जुन घड़ी त्यो पार भएर जान्छ, त्यस घड़ी त्यसले तिमीहरूलाई लैजानेछ; किनकि बिहानैपिच्छे त्यो पार भएर जानेछ, दिनमा र रातमा पनि; अनि खबर बुझ्नु मात्र पनि व्याकुलताको कारण हुनेछ। 20 किनकि पलङ त्यसमाथि लमतन्‍न पर्ने मानिसभन्दा छोटो छ, र ओढ़्ने आफू त्यससित लपेटिन नपुग्‍ने गरी सानो छ। 21 किनकि परमप्रभु पेराजिम पहाड़मा झैं उठ्नुहुनेछ; गिबोनको बेंसीमा झैं उहाँ क्रोधित हुनुहुनेछ, आफ्नो काम, आफ्नो अनौठो काम गर्नलाई, र आफ्नो कार्य, आफ्नो अद्‌भूत कार्य पूरा गर्नलाई। 22 यसकारण तिमीहरू अब गिल्‍ला गर्नेहरू नहोओ, नत्र ता तिमीहरूका बन्धनहरू कसिला पारिएलान्; किनकि मैले प्रभु सेनाहरूका परमप्रभुबाट सम्पूर्ण पृथ्वीमाथि ठहराइएको सर्वनाशको विषयमा सुनेको छु।
23 कान लगाओ, र मेरो सोर सुन; ध्यान दिएर मेरो कुरा सुन! 24 के बीउ छर्नलाई हलीले दिनभरि जोत्छ? के खोस्रेर त्यसले आफ्नो जमिनका डल्‍लाहरू फुटाउँदै रहन्छ? 25 त्यसले यसको सतह सम्म पारेपछि के त्यसले सुँप छर्दैन र, अनि जीरा छर्दैन र? अनि आ-आफ्नो ठाउँमा लहर-लहरमा गहुँ, तोकिएको जौ र मुड़ुलो गहुँ छर्दैन र? 26 किनकि त्यसका परमेश्‍वरले त्यसलाई सुझबुझको पाठ दिनुहुन्छ र त्यसलाई सिकाउनुहुन्छ। 27 किनभने सुँप कुनै झाँट्ने हतियारले झाँटिदैन, न ता जीरामाथि गाड़ाको चक्‍का गुड़ाइन्छ; तर सुँप लौरोले, र जीरा लाठोले पिटिन्छ। 28 रोटी बनाउने अन्‍न पिँधिन्छ; तर त्यसले यसलाई सधैं झाँटिरहँदैन, न ता यसमाथि आफ्नो गाड़ाको चक्‍का गुड़ाएर र आफ्ना घोड़चढ़ीलाई यसमाथि हिँड़ाएर त्यसले यो पिँध्दछ। 29 यो पनि सेनाहरूका परमप्रभुबाट आउँछ जो सल्‍लाह दिनमा अद्‌भूत हुनुहुन्छ, र कार्य गर्नमा सर्वश्रेष्‍ठ हुनुहुन्छ।”