इस्राएलको छुटकारा
27
“त्यस दिन परमप्रभुले आफ्नो कठोर, ठूलो र शक्तिशाली तरवारले त्यो छेंड़्ने सर्प लिव्यातानलाई, अँ, त्यो टेढ़ो सर्प लिव्यातानलाई दण्ड दिनुहुनेछ; अनि उहाँले समुद्रमा भएको अजिङ्गरलाई मार्नुहुनेछ।
2 त्यस दिन तिमीहरूले एउटा रातो दाखमद्यको दाखबारीको विषयमा, अँ, त्यसको गीत गाओ! 3 म, परमप्रभुले त्यसको रखवाली गर्छु, हरेक क्षण म त्यसमा पानी हाल्नेछु; कसैले त्यसलाई चोट नपारोस् भनी म रातोदिन त्यसको रखवाली गर्नेछु। 4 ममा तातो रिस छैन; कसले लड़ाइँमा काँड़ेझाङ र काँड़ाहरू मेरो विरोधमा खड़ा गर्ला? तिनीहरूको बीचबाट म जानेथिएँ, र तिनीहरूलाई एकसाथ जलाउनेथिएँ। 5 नत्रभने मसँग मेलमिलाप गर्नलाई त्यसले मेरो बल समातोस्! अँ, त्यसले मसँग मेलमिलाप गरोस्!
6 आउनेवाला दिनहरूमा याकूबले जरा हाल्नेछ; इस्राएल फुल्नेछ, र कोपिला हाल्नेछ; अनि उनीहरूले संसारको सतहलाई फलले भरिदिनेछन्। 7 त्यसलाई हिर्काउनेहरूलाई जसरी उहाँले हिर्काउनुभयो, के त्यसरी नै उहाँले त्यसलाई हिर्काउनुभयो? अथवा के जसरी उहाँद्वारा तिनीहरू मारिए, के त्यही तिनीहरूको काटमारअनुसार त्यो मारियो? 8 केही हदसम्म, त्यसलाई पठाइदिएर तपाईंले त्यससित झगड़ा गर्नुहुनेछ; पूर्वी हावाको दिनमा उहाँले आफ्नो कठोर हावाद्वारा त्यसलाई हटाउनुहुनेछ। 9 तब यसद्वारा याकूबको अधर्म शुद्ध पारिनेछ, अनि उसको पाप हटाएको सम्पूर्ण फल यो हो: जब त्यसले वेदीका ढुङ्गाहरू चूर पारिएका खरीमट्टीहरूझैं पार्दछ, तब अशेरा र सूर्यका मूर्तिहरू खड़ा हुनेछैनन्। 10 किनभने पर्खालले घेरिएको शहर उजाड़ हुनेछ; वासस्थान त्यागिनेछ र उजाड़स्थानझैं छोड़िनेछ; त्यहाँ बाछा चर्नेछ, त्यहाँ लेट्नेछ र यसका हाँगाहरू खाइदिनेछ। 11 जब यसका हाँगाहरू ओइलिन्छन्, तब ती भाँचिनेछन्; स्त्रीहरू आउनेछन्, र तिनमा आगो लाउनेछन्; किनकि यो समझ नभएको जाति हो; यसकारण जसले उनीहरूलाई बनाउनुभयो, उहाँले उनीहरूमाथि दया राख्‍नुहुनेछैन, र जसले उनीहरूलाई रच्‍नुभयो, उहाँले उनीहरूलाई कृपा देखाउनुहुनेछैन।
12 अनि त्यस दिन यस्तो हुनेछ: नदीको नालीदेखि लिएर मिस्रको नदीसम्म परमप्रभुले झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरूहो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ। 13 अनि त्यस दिन यस्तो हुनेछ: ठूलो तुरही फुकिनेछ, र जो अश्शूरको देशमा नाश भइरहेका छन् र जो मिस्र देशमा निकालिएका छन्, तिनीहरू आउनेछन्, र तिनीहरूले यरूशलेममा, पवित्र पर्वतमा परमप्रभुलाई दण्‍डवत्‌ गर्नेछन्।”