उद्धारको गीत
26
“त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: ‘हाम्रो एउटा दृढ़ शहर छ; हाम्रा पर्खालहरू र टिल्‍लाको रूपमा परमेश्‍वरले उद्धार ठहर्‍याउनुहुनेछ। 2 तिमीहरूले मूलढोकाहरू खोल, र सत्यता पालन गर्ने धर्मी जाति भित्र पसोस्! 3 जसको मन तपाईंमाथि अड़ेसिएर बसेको हुन्छ, उसलाई तपाईंले शान्ति नै शान्तिमा जोगाइराख्‍नुहुनेछ; किनकि उसले तपाईंमाथि भरोसा राख्दछ। 4 परमप्रभुमाथि तिमीहरूले सदा-सर्वदा भरोसा राख; किनकि प्रभु यहोवामा अनन्त बल छ; 5 किनकि उहाँले उच्‍च स्थानमा बस्‍नेहरूलाई होच्याउनुहुन्छ; त्यस उच्‍च शहरलाई उहाँले तल झार्नुहुन्छ; उहाँले त्यसलाई तल भुइँसम्मै झारेर त्यसलाई माटोमा मिलाउनुहुन्छ। 6 त्यसलाई पाउले, अँ, गरिबका पाउहरूले र दरिद्रहरूका पाइलाहरूले कुल्चीमिल्ची पार्नेछन्।’
7 धर्मी जनको बाटो सीधापन हो; तपाईं हे अति सीधा, तपाईंले धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ 8 हो, हे परमप्रभु, तपाईंका न्यायहरूको मार्गमा हामीले तपाईंको बाटो हेरेका छौं; तपाईंको नाम र तपाईंको सम्झनाप्रति नै हाम्रो मनको चाहना हो। 9 रातको समयमा आफ्नो मनले मैले तपाईंको चाहना गरेको छु; अँ, एकाबिहानै मभित्र भएको मेरो आत्माले म तपाईंको खोजी गर्नेछु; किनकि जब तपाईंका न्यायहरू पृथ्वीमा प्रकट हुन्छन्, तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्। 10 दुष्‍टलाई दया देखाइओस्, तापनि त्यसले धार्मिकता सिक्नेछैन; सीधा चाल चल्ने देशमा पनि त्यसले दुष्‍ट काम गर्नेछ र परमप्रभुको सर्वश्रेष्‍ठतालाई देख्‍नेछैन।
11 हे परमप्रभु, तपाईंको उठेको हात तिनीहरूले देख्‍नेछैनन्; तर मानिसहरूप्रतिको आफ्नो जलन तिनीहरूले देख्‍नेछन्, र लज्जित हुनेछन्; अँ, तपाईंका विरोधीहरूको आगोले तिनीहरूलाई निल्नेछ। 12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुनेछ; किनकि तपाईंले नै हाम्रा निम्ति हाम्रा सबै कामहरू गर्नुभएको छ। 13 हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि अधिकार जमाएका छन्; तर तपाईंद्वारा मात्र हामी तपाईंको नाम लिन्छौं 14 मरेकाहरू जीवित हुनेछैनन्; मृतकहरू फेरि उठ्नेछैनन्; यसकारण तपाईंले तिनीहरूलाई भेट गर्नुभयो, तिनीहरूलाई नाश पार्नुभयो र तिनीहरूको सारा सम्झनाधरि मेटाइदिनुभयो। 15 हे परमप्रभु, तपाईंले यस जातिलाई बढ़ाउनुभएको छ, अँ, तपाईंले यस जातिलाई बढ़ाउनुभएको छ; तपाईं महिमित हुनुभएको छ; तपाईंले यसलाई टाढ़ा पृथ्वीका सबै छेउहरूसम्म हटाउनुभएको छ।
16 हे परमप्रभु, सङ्कष्‍टको समयमा तिनीहरूले तपाईंलाई भेटे; जब तपाईंको ताड़ना तिनीहरूमाथि पर्‍यो, तब तिनीहरूले एउटा साउती पोखाए। 17 गर्भवती स्त्री आफ्नो जन्माउने समय नजिक आउँदा जसरी पीड़ित हुन्छे, र आफ्ना व्यथाहरूले गर्दा रुन्छे-कराउँछे, हे परमप्रभु, हामी तपाईंको दृष्‍टिमा त्यस्तै भएका थियौं। 18 हामी गर्भवती भएका थियौं, हामी व्यथामा परेका थियौं, हामीले मानौं हावा जन्मायौं; पृथ्वीमा हामीले कुनै छुटकाराको काम गरेका छैनौं, न ता संसारका बासिन्दाहरू नै खसेका छन्। 19 तेरा मरेकाहरू जीवित हुनेछन्, मेरो मृत शरीर, तिनीहरू फेरि उठ्नेछन्। हे धूलोमा बस्‍नेहरूहो, जाग, र गीत गाओ; किनकि तेरो शीत झारपातको शीतजस्‍तो छ, अनि पृथ्वीले मरेकाहरूलाई उकेलिदिनेछ।
20 हे मेरो प्रजाहो, आऊ, आफ्ना कोठाहरूभित्र पस, र आफ्नो पछि आफ्ना ढोकाहरू थुन; क्रोध नहटुन्जेल, थोरै क्षणसम्म लुकिबस! 21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट निस्केर आउनुहुन्छ; अनि पृथ्वीले आफ्नो रगत प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि ढाक्नेछैन।”