परमप्रभुको प्रशंसा
25
“हे परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; म तपाईंको बढ़ाइ गर्छु, म तपाईंको नामको प्रशंसा गर्छु; किनकि तपाईंले अचम्मका कामहरू गर्नुभएको छ; धेरै अघिका तपाईंका सल्‍लाहहरू विश्‍वासयोग्य र सत्य छन्। 2 किनकि तपाईंले शहरलाई एउटा राश पारिदिनुभयो, पर्खालले घेरिएको शहरलाई एउटा खण्डहर तुल्याइदिनुभयो; परदेशीहरूको महल त शहर नै रहेन; त्यो फेरि कहिल्यै बनाइनेछैन। 3 यसैकारण शक्तिशाली मानिसहरूले तपाईंको महिमा गर्नेछन्; थिचोमिचो गर्ने जातिहरूको शहरले तपाईंको डर मान्‍नेछ। 4 किनकि पर्खालमाथि बजारिने आँधीजस्तो थिचोमिचो गर्नेहरूको झोक्‍काले हान्दा तपाईं गरिबका निम्ति बल, र दरिद्रको सङ्कष्‍टमा उसका निम्ति बल, आँधीबतासबाट बचाउने शरणस्थान र गर्मीबाट जोगाउने छाया बन्‍नुभएको छ। 5 सुक्खा भूमिको गर्मीजस्तै, अँ, बादलको छायाद्वारा गर्मी घटाएजस्तै तपाईंले परदेशीहरूको कोलाहल कम गराउनुहुनेछ; थिचोमिचो गर्नेहरूको गीत होच्याइनेछ।
6 अनि यस पहाड़मा सेनाहरूका परमप्रभुले सबै जातिहरूका निम्ति चिल्‍ला पदार्थहरूको भोज लगाउनुहुनेछ, पुराना दाखमद्यहरूको भोज – मासी नै मासी भएका चिल्‍ला पदार्थहरूको र खारी-खारी तयार पारिएका पुराना दाखमद्यहरूको भोज लगाउनुहुनेछ। 7 अनि यही पहाड़मा उहाँले सबै मानिसहरूमाथि ओढ़ाइएको पोशको मुख र सबै जातिहरूमाथि फैलाइएको घुम्टो नष्‍ट गर्नुहुनेछ। 8 उहाँले मृत्युलाई विजयमा निल्नुहुनेछ; अनि प्रभु यहोवाले सबै चेहराहरूबाट आँसु पुछिदिनुहुनेछ; अनि आफ्नो प्रजाको निन्दा उहाँले सम्पूर्ण पृथ्वीबाट हटाइदिनुहुनेछ; किनकि परमप्रभुले यो बोल्‍नुभएको हो।
9 अनि त्यस दिन यसो भनिनेछ: ‘हेर, यहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ; हामीले उहाँको बाटो हेर्‍यौं, र उहाँले हामीलाई बचाउनुहुनेछ; यहाँ नै परमप्रभु हुनुहुन्छ; हामीले उहाँको बाटो हेर्‍यौं; हामी आनन्दित हुनेछौं, र उहाँको उद्धारमा रमाउनेछौं। 10 किनकि यस पहाड़मा परमप्रभुको हात रहनेछ, र जसरी मलको थाकमा पराल कुल्चीमिल्ची पारिन्छ, त्यसरी नै मोआब उहाँको पाउमुनि कुल्चीमिल्ची पारिनेछ। 11 अनि जसरी पौड़ी खेल्नेले पौड़नलाई आफ्ना हात फैलाउँछ, त्यसरी नै उहाँले तिनीहरूको बीचमा आफ्ना हातहरू फैलाउनुहुनेछ, र तिनीहरूका हातमा भएका लुटका मालहरूको साथ तिनीहरूको घमण्ड तल झारिदिनुहुनेछ; 12 साथै तेरा पर्खालहरूको किल्‍लारूपी उच्‍च गढ़ उहाँले होच्याउनुहुनेछ, तल झार्नुहुनेछ र भुइँसम्मै माटोमा मिलाउनुहुनेछ।”