टायरको विरोधमा भविष्यवाणी
23
“टायरको विषयमा भविष्यवाणी: हे टार्शिशका जहाजहरूहो, रोइकराइ गर; किनकि त्यो उजाड़ पारिएको छ, र कुनै घर छैन, न कुनै पस्‍ने ठाउँ छ; कित्तीमको देशबाट यो तिनीहरूकहाँ प्रकट भएको हो। 2 हे टापुका बासिन्दाहरूहो, चुप रहो; सिडोनका व्यापारीहरूले, जो समुद्र पार गरेर जान्छन्, तँलाई भरिदिएका छन्। 3 अनि ठूला-ठूला पानीको छेउका शिहोरको बिउ र नदीको कटनीचाहिँ त्यसको कमाइ हो; अनि त्यो जाति-जातिहरूको व्यापार-केन्द्र हो। 4 हे सिडोन, लज्जित हो; किनकि समुद्रले, अँ, समुद्रको बलले यसो भनेको छ: ‘मलाई प्रसूति-वेदना भएको छैन, न ता मैले जन्माएको छु, न जवान मानिसहरूलाई पालनपोषण गरेको छु, न कन्याहरूलाई हुर्काएको छु।’ 5 मिस्रको विषयमा भएको खबरदेखि झैं तिनीहरू टयारको खबरदेखि नै साह्रै पीड़ित हुनेछन्। 6 पार गरेर टार्शिश जाओ, हे टापुका बासिन्दाहरूहो, रोइकराइ गर! 7 के तिमीहरूको रमाहट गर्ने शहर यही हो, जसको अवस्थिति प्राचीनकालदेखिको हो? त्यसका आफ्नै पाउहरूले त्यसलाई परदेशी भई बसोबास गर्नलाई टाढ़ा-टाढ़ा लैजानेछन्।
8 टायर, त्यो मुकुट पहिरिने शहर, जसका व्यापारीहरू शासकहरू हुन्, जसका व्यवसाय गर्नेहरू पृथ्वीका आदरणीय मानिसहरू हुन्, त कसले त्यसको विरुद्ध यस्तो युक्ति रच्यो? 9 अँ, सबै महिमाको घमण्ड कलङ्कित पार्न र पृथ्वीका सबै आदरणीय मानिसहरूलाई तुच्छ ठहऱ्याउनलाई सेनाहरूका परमप्रभुले नै यो योजना गर्नुभएको हो।
10 हे टार्शिशकी छोरी, नदीझैं आफ्नो देशबाट पार भएर जा, अब उसो त्यहाँ कुनै रोकटोक छैन। 11 उहाँले आफ्नो हात समुद्रमाथि पसार्नुभयो; उहाँले राज्यहरू हल्‍लाउनुभयो; परमप्रभुले त्यस व्यापारी-शहरको विरुद्ध, त्यसका गढ़हरू नाश गर्न भनी आज्ञा गर्नुभएको छ। 12 अनि उहाँले भन्‍नुभयो: हे सिडोनकी छोरी, थिचोमिचोमा परेकी कन्या, तैंले कहिल्यै फेरि आनन्द मनाउन पाउनेछैनस्; उठ्, कित्तीमकहाँ पार गरेर जा; त्यहाँ पनि तैंले चैन पाउनेछैनस्। 13 कल्दीहरूको देश हेर्! त्यो एउटा जाति नै थिएन; अश्शूरीहरूले त्यसलाई उजाड़स्थानमा बस्‍नेहरूका निम्ति स्थापित गरे; तिनीहरूले त्यसका धरहराहरू बनाए; तिनीहरूले त्यसका महलहरू खड़ा गरे; अनि उहाँले त्यसलाई एउटा खण्डहर तुल्याउनुभयो। 14 हे टार्शिशका जहाजहरूहो, रोइकराइ गर; किनकि तिमीहरूको बल बरबाद भएको छ।
15 त्यस दिन यस्तो हुनेछ: एउटा राजाका दिनहरूअनुसार सत्तरी वर्षसम्ममा टायर बिर्सिइनेछ; सत्तरी वर्ष बितेपछि टायरले वेश्याले झैं गाउनेछ 16 हे बिर्सिएकी वेश्या, वीणा ले; शहरको वरिपरि घुम्; सुमधुर संगीत बजा, धेरै गीतहरू गा, र तेरो सम्झना गरियोस्! 17 अनि सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: परमप्रभुले टायरलाई भेट्नुहुनेछ, अनि त्यो आफ्नो कमाइतिर फर्कनेछे, र पृथ्वीको सतहमाथि भएका संसारका सबै राज्यहरूसँग व्यभिचार गर्नेछे। 18 अनि त्यसको व्यापारको माल र त्यसको कमाइचाहिँ ‘परमप्रभुका निम्ति पवित्र’ तुल्याइनेछ; त्यो भण्डारमा राखिँदैन, न ता सञ्‍चय गरिन्छ; किनकि परमप्रभुको उपस्थितिमा बस्‍नेहरूले प्रशस्त खाऊन् र दामी वस्त्र पहिरून् भनेर त्यो व्यापारको माल तिनीहरूका निम्ति हुनेछ।”