यरूशलेमको विरोधमा भविष्यवाणी
22
“दर्शनको बेंसीको विषयमा भविष्यवाणी: अहिले तँलाई के भयो, कि तँ सिङ्गै कौसीमाथि चढ़िस्? 2 तँ हलचलहरूले भरिएको, हौड़ा मच्‍चाउने शहर, अँ, रमाहट गर्ने शहर होस्; तेरा मारिएकाहरू तरवारले मारिएका होइनन्, न ता लड़ाइँमा नै मरेका हुन्। 3 तेरा सबै शासकहरू एकसाथ भागेका छन्, धनुले नहानीकन तिनीहरू कैदी भएका छन्; तँमा भेट्टाइएका सबै एकसाथ बाँधिएका छन्; तिनीहरू टाढ़ा भागेका थिए। 4 यसकारण मैले भनें: ‘मबाट आँखा हटाओ, म धुरुधुरु रुनेछु; मेरा जनहरूकी छोरीको विनाश भएकोमा मलाई सान्‍त्‍वना दिने प्रयत्‍न नगर!’
5 किनकि दर्शनको बेंसीमा यो प्रभु, सेनाहरूका परमप्रभुद्वारा ठहराइएको सङ्कष्‍ट, कुल्चीमिल्ची र व्याकुलताको दिन हो – पर्खालहरू भत्काउने र पहाड़हरूलाई पुकार्ने दिन हो। 6 अनि एलामले मानिसको रथ र घोड़चढ़ीहरूको साथमा ठोक्रा भिर्‍यो, र कीरले ढाल नाङ्गो पार्‍यो। 7 अनि यस्तो हुनेछ: तेरा उत्तम-उत्तम बेंसीहरू रथहरूले भरिभराउ हुनेछन्, र घोड़चढ़ीहरूले मूलढोकामा पाँती बाँध्‍नेछन्। 8 अनि त्यसले यहूदाको रक्षा हटाइदियो, अनि त्यस दिन तैंले वनको भवनको अस्त्रशस्त्रतिर हेरिस्। 9 अनि तिमीहरूले दाऊदको शहरका धाँदाहरू, जो धेरै छन्, देखेका छौ; अनि तिमीहरूले तल्‍लो तलाउको पानी जम्मा गर्‍यौ। 10 अनि तिमीहरूले यरूशलेमका घरहरूको गन्ती लियौ, अनि पर्खाल बलियो पार्नलाई ती घरहरू भत्कायौ; 11 अनि तिमीहरूले पुरानो तलाउको पानीका निम्ति ती दुई पर्खालहरूको बीचमा एउटा दह खन्यौ; तर तिमीहरूले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरेनौ, न ता त्यसलाई धेरै अघि नै बनाउनुहुनेलाई ध्यान दियौ।
12 अनि त्यस दिन प्रभु, सेनाहरूका परमप्रभुले रुन, विलाप गर्न, टाउको मुड़ाउन र कम्मरमा भाङ्ग्राको लुगा कस्‍न बोलाउनुभयो, 13 तर हेर, हर्ष र आनन्द, बहरहरू काट्नु र भेड़ाहरू मार्नु, मासु खानु र दाखमद्य पिउनु पो भइरहेछ! ‘खाऔं, र पिऔं; किनकि भोलि त हामी मर्नेछौं।’ 14 अनि सेनाहरूका परमप्रभुद्वारा मेरो कानमा यो प्रकट गरियो: निश्‍चय नै जबसम्म तिमीहरू मर्दैनौ, तबसम्म यो अधर्म तिमीहरूबाट शुद्ध गरिनेछैन, प्रभु सेनाहरूका परमप्रभुले भन्‍नुहुन्‍छ।”
राजघरानाको अधिकारी शेब्‍नाको विरोधमा भविष्यवाणी
15 “प्रभु सेनाहरूका परमप्रभुले यसो भन्‍नुहुन्‍छ: त्यस भण्डारी शेब्‍नाकहाँ जाऊ, जो राजघरानाको अधिकारी हो, र भन: 16 तेरो यहाँ के छ? अनि तेरो यहाँ को छ, र तैंले यहाँ आफ्ना निम्ति एउटा चिहान त्यस मानिसले जस्तै कुँदेर बनाइस्, जसले अग्लो ठाउँमा आफ्नो चिहान कुँदेर बनाउँछ, र चट्टानमा खोपेर आफ्ना निम्ति एउटा वासस्थान बनाउँछ? 17 हेर्, परमप्रभुले तँलाई एउटा शक्तिशाली हुत्त्‍याइले फ्याँकिदिनुहुनेछ, र तँलाई पक्‍का हुने गरी छोपिदिनुहुनेछ। 18 उहाँले तँलाई निश्‍चय नै बटारेर एउटा ठूलो देशमा गोलीझैं घुइँक्याइदिनुहुनेछ; त्यहाँ तँ मर्नेछस्, र त्यहाँ तेरो महिमाका रथहरू तेरा मालिकको घरानाका निम्ति शर्मको कारण हुनेछन्। 19 अनि म तँलाई तेरो पदबाट धपाउनेछु, र तेरो स्थानबाट उसले तँलाई तानेर तल झार्नेछ।
20 अनि त्यस दिन यस्तो हुनेछ: म हिल्कियाहको छोरा एल्याकिम मेरो दासलाई बोलाउनेछु; 21 अनि म उसलाई तेरो वस्त्र पहिराउनेछु, तेरो पटुकाले उसलाई बलियो पार्नेछु, र तेरो शासन उसको हातमा सुम्पनेछु; अनि ऊ यरूशलेमका बासिन्दाहरू र यहूदाको घरानाका निम्ति बुबा हुनेछ। 22 अनि दाऊदको घरानाको चाबी म उसको काँधमाथि राख्‍नेछु; र उसले खोल्नेछ, र कसैले बन्द गर्नेछैन; अनि उसले बन्द गर्नेछ, र कसैले खोल्नेछैन। 23 अनि म उसलाई एउटा पक्‍का ठाउँमा कीलाझैं गाड़्‍नेछु; अनि ऊ आफ्नो बुबाको घरानाका निम्ति एक महिमित सिंहासन बन्‍नेछ। 24 अनि तिनीहरूले आफ्ना बुबाको घरानाको सारा महिमा अर्थात् वंश र सन्तान, अँ, सबै ससाना भाँड़ाकुँड़ाहरू – कचौराहरूदेखि लिएर सबै सुराहीहरू उसैमाथि झुन्ड्याउनेछन्। 25 सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ: त्यस दिन पक्‍का ठाउँमा गाड़िएको कीला हटाइनेछ, काटिनेछ र खस्‍नेछ; अनि जुन भारी त्यसमाथि थियो, त्यो नष्‍ट भारी हुनेछ; किनकि परमप्रभुले यो भन्‍नुभएको हो।”