बाबेलको पतन
21
“समुद्रको उजाड़स्थानको विषयमा भविष्यवाणी: जसरी दक्षिणमा भुमरीहरू पार भएर जान्छन्, त्यसरी नै उजाड़स्थानबाट, एउटा भयानक देशबाट यो आउँछ। 2 एउटा कष्‍टदायक दर्शन मलाई बताइयो; विश्‍वासघातीले विश्‍वासघात गर्छ, र नाश गर्नेले नाश गर्छ। हे एलाम, चढ़ाइ गर! हे मादी, घेरा लगाऊ! त्यसको सबै सुस्केरा मैले बन्द गरेको छु। 3 यसैकारण मेरो कम्मर पीड़ाले भरेको छ; प्रसूति-वेदनामा परेकी स्त्रीको व्यथाझैं व्यथाले मलाई पक्रेको छ; यसको विषयमा सुनेर म झुकाइएको छु; यो देखेर म व्याकुल भएको छु। 4 मेरो मुटु ढुक-ढुक गर्छ, डरले म भयभीत हुन्छु, मेरो चैनको रात उहाँले मेरा निम्ति लगलगीमा बदली गरिदिनुभएको छ। 5 टेबल तयार गर, पहरा बस्‍ने धरहरामा पहरा देओ, खाओ, पिओ; हे शासकहरूहो उठ, ढालमा तेल लगाओ! 6 किनकि प्रभुले मलाई यसो भन्‍नुभएको छ: जाऊ, एउटा पहरेदार ठहराऊ; त्यसले जे देख्छ, सो बताओस्! 7 अनि त्यसले एउटा रथ, एक जोड़ा घोड़चढ़ीको साथ गधाको रथ, र ऊँटको रथ देख्यो; अनि त्यसले खूबै ध्यान दिएर ध्यानसित सुन्यो; 8 अनि त्यो चिच्च्यायो: ‘एउटा सिंह! हे मेरा प्रभु, दिउँसो म निरन्‍तर मेरो पहराको धरहरामाथि उभिरहन्छु, र म सारा रातभरि नै आफ्नो पहरामा खड़ा हुन्छु; 9 अनि हेर्नुहोस्, यहाँ मानिसको एउटा रथ एक जोड़ा घोड़चढ़ीको साथ आउँदैछ।’ अनि त्यसले जवाफ दिएर भन्यो: ‘बाबेल ढल्यो, ढल्यो; अनि उहाँले त्यसका देवताहरूका सबै खोपिएका मूर्तिहरू भुइँमा टुक्रा-टुक्रा पारिदिनुभयो।’ 10 हे मेरो दाइँ गरिएको प्रजा र मेरो खलाको अन्‍नहो, मैले इस्राएलका परमेश्‍वर, सेनाहरूका परमप्रभुबाट जे सुनेको छु, सो मैले तिमीहरूलाई बताएको छु।”
दूमा र अरबका निम्ति परमप्रभुको सन्देश
11 दूमाको विषयमा भविष्यवाणी: सेईरबाट उहाँले मलाई बोलाउनुहुन्छ: “हे पहरेदार, रातको खबर के हो? हे पहरेदार, रातको खबर के हो?” 12 पहरेदारले भन्यो: “बिहानी आउँछ, र रात पनि आउँछ; तिमीहरू सोधखोज गर्छौ भने सोधखोज गर; फर्क, आओ!”
13 अरबको विषयमा भविष्यवाणी: “हे ददानीका यात्री-दलहरूहो, तिमीहरू अरबको वनमा वास बस्‍नेछौ। 14 तेमा देशका बासिन्दाहरूले तिर्खाएकोकहाँ पानी ल्याए; आफ्नो रोटी लिएर तिनीहरूले भागिहिँड़्‍नेलाई भेटे। 15 किनकि उनीहरू तरवारहरूबाट – खिँचिएको तरवारबाट, ताँदो चढ़ाइएको धनुबाट र लड़ाइँको भारी कष्‍टबाट भागेका थिए। 16 किनकि प्रभुले मलाई यसो भन्‍नुभएको छ: ज्यालादार नोकरहरूका वर्षहरूअनुसार एक वर्षभित्र केदारको सारा महिमा मेटिनेछ; 17 अनि धनुर्धारीहरूको संख्याबाट बाँकी रहेका मानिसहरू, केदारका सन्तानका शूरवीरहरू थोरै हुँदै जानेछन्; किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको हो।”