मिस्र र कूशका निम्ति भविष्यवक्ता यशैया चिन्ह बन्छन्
20
जुन वर्ष अश्शूरका राजा सर्गोनले तर्तानलाई पठाए, अनि तिनी अश्दोदमा आए, र अश्दोदसँग लड़ाइँ गरेर त्यसलाई कब्जा गरे, 2 त्यही समयमा आमोसका छोरा यशैयाद्वारा परमप्रभु यसो भन्दै बोल्नुभयो: “जाऊ, आफ्नो कम्मरबाट भाङ्ग्राको लुगा खोल र आफ्नो पाउबाट आफ्नो जुत्ता फुकाल!” अनि उनले त्यसै गरे, उनी नाङ्गो र खाली खुट्टा हिँड़े। 3 अनि परमप्रभुले भन्नुभयो: “जसरी मिस्र र कूशका निम्ति चिन्ह र अचम्मको काम हुनलाई मेरो दास यशैया तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड़्यो, 4 त्यसरी नै मिस्रको शर्मका निम्ति अश्शूरको राजाले दुवै जवान र वृद्धहरूलाई, नाङ्गो र खाली खुट्टा, अँ, चाकसमेत उदाङ्गो पारिएको अवस्थामा मिस्रीहरूलाई कैदी र कूशीहरूलाई बन्दी बनाएर लैजानेछन्। 5 अनि तिनीहरू तिनीहरूको आशा कूशसँग, र तिनीहरूको महिमा मिस्रसँग भयभीत र लज्जित हुनेछन्। 6 अनि यस समुद्रको किनारका बासिन्दाहरूलेक त्यस दिनमा भन्नेछन्: ‘हेर, हाम्रो आशा यस्तै रहेछ, जसकहाँ हामी अश्शूरको राजाबाट छुटकारा पाउन भनी सहायताका निम्ति भागेर गयौं? तब हामी कसरी उम्कौंला?’ ”