मिस्र देशको विरोधमा भविष्यवाणी
19
“मिस्रको विषयमा भविष्यवाणी: हेर, परमप्रभु वेगसँग उड़्ने बादलमाथि सवार हुनुहुन्छ, र मिस्रभित्र आउनुहुनेछ; अनि उहाँको उपस्थितिमा मिस्रका मूर्तिहरू हटाइनेछन्, र त्यसभित्र मिस्रको हृदय पग्लनेछ। 2 अनि म मिस्रीहरूलाई मिस्रीहरूकै विरोधमा उठाउनेछु; अनि तिनीहरू हरेकले आफ्नै दाजुभाइको विरोधमा, अनि हरेकले आफ्नो छिमेकीको विरोधमा लड़ाइँ गर्नेछ – एउटा शहरले अर्को शहरको विरोधमा, र एउटा राज्यले अर्को राज्यको विरोधमा। 3 अनि मिस्रको आत्माले तिनीहरूकै बीचमा हरेश खानेछ; अनि म त्यसको सल्‍लाह नष्‍ट गरिदिनेछु; अनि तिनीहरूले मूर्तिहरू, मोहनी लाउनेहरू, भूतप्रेत खेलाउनेहरू र टुनामुना गर्नेहरूकहाँ सोधखोज गर्नेछन्। 4 अनि मिस्रीहरूलाई म कठोर मालिकहरूको हातमा सुम्पिदिनेछु; अनि एकजना निष्‍ठुर राजाले तिनीहरूमाथि राज्य गर्नेछन्, प्रभु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ।
5 समुद्रको पानी सुक्नेछ, र नदीको पानी घटेर सुक्खा हुनेछ। 6 अनि नदीहरू गनाउनेछन्; अनि माजोरका खोलानालाहरू घटेर रित्ता हुनेछन् र सुक्नेछन्; अनि निगालो र पटेर ओइलिनेछन्। 7 नील नदीको किनारमा भएका र नील नदीको मुखनिर भएका कागते-निगालाहरू, र नील नदीको किनारमा छरिएको हरेक थोक ओइलिनेछ, हटाइनेछ र केही रहनेछैन। 8 अनि सबै मछुवाहरूले बिलौना गर्नेछन्, अनि नील नदीमा बल्छी थाप्‍ने सबैले विलाप गर्नेछन्, र पानीमा जाल हान्‍नेहरू झोक्रिनेछन्। 9 अनि मिहिन मलमलको काम गर्नेहरू र सुती कपड़ा बुन्‍नेहरू लज्जित हुनेछन्। 10 अनि त्यसका सबै आधारहरू टुक्रा-टुक्रा पारिनेछन् – ज्यालामा काम गर्ने सबैको मन दुःखित हुनेछन्।
11 साँच्‍चै सोअनका शासकहरू मूर्ख हुन्; फराओका बुद्धिमान् सल्‍लाहकारहरूको सल्‍लाह विवेकहीन भएको छ; तिमीहरू फराओलाई कसरी भन्छौ: ‘म बुद्धिमान्‌हरूको छोरा हुँ, प्राचीन राजाहरूको छोरा हुँ?’ 12 तिनीहरू कहाँ छन्? तेरा बुद्धिमान् मानिसहरू कहाँ छन्? र तिनीहरूले अहिले नै तँलाई भनून्, र सेनाहरूका परमप्रभुले मिस्रको विषयमा के योजना गर्नुभएको छ, सो तिनीहरूले जानून्। 13 सोअनका शासकहरू मूर्ख भएका छन्; नोपका शासकहरूले धोका खाएका छन्; जो मिस्रका कुलहरूको कुनाढुङ्गा थिए, तिनीहरूले नै त्यसलाई भड़्काइदिए। 14 परमप्रभुले त्यसको बीचमा टेढ़ो आत्मा मिलाइदिनुभएको छ; अनि तिनीहरूले मिस्रलाई त्यसको हरेक काममा मातेको मान्छे आफ्नै बान्तामा धरमरिएझैं गरी भड़्किने तुल्याएका छन्। 15 अँ, मिस्रका निम्ति कुनै काम रहने नै छैन, जुन काम शिर वा पुच्छरले, खजूरको हाँगा वा नर्कटले गर्न सक्छ।
16 त्यस दिन मिस्र स्त्रीहरूजस्‍तो हुनेछ; अनि सेनाहरूका परमप्रभुको हातको हल्‍लाइले गर्दा जुन हल्‍लाइ उहाँले मिस्रमाथि हल्‍लाउनुहुन्छ, त्यो डराउनेछ र भयभीत हुनेछ। 17 अनि यहूदा देश मिस्रका निम्ति आतङ्क ठहरिनेछ, हरेक जसले यसको नाम लिन्छ, त्यो सेनाहरूका परमप्रभुको युक्तिले गर्दा आफैसँग भयभीत हुनेछ, जुन युक्ति उहाँले नै त्यसको विरोधमा ठहराउनुभएको हो।
18 त्यस दिन मिस्र देशका पाँचवटा शहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका परमप्रभुको नाममा शपथ खानेछन्; एउटाको नाम ‘विनाशको शहर’ भनिनेछ। 19 त्यस दिन मिस्र देशको बीचमा परमप्रभुका निम्ति एउटा वेदी हुनेछ, अनि त्यसको सिमानानिर परमप्रभुका निम्ति एउटा खाँबा हुनेछ। 20 अनि यो मिस्र देशमा सेनाहरूका परमप्रभुका निम्ति एउटा चिन्ह र एउटा साक्षी हुनेछ; किनकि थिचोमिचो गर्नेहरूको कारणले तिनीहरूले परमप्रभुलाई पुकार्नेछन्, अनि उहाँले तिनीहरूकहाँ एक उद्धारकर्तालाई, अँ, एक महान् व्यक्तिलाई पठाउनुहुनेछ, र उनले तिनीहरूलाई छुटकारा दिनेछन्। 21 अनि मिस्रकहाँ परमप्रभु प्रकट हुनुहुनेछ, अनि त्यस दिन मिस्रीहरूले परमप्रभुलाई चिन्‍नेछन्, अनि बलिदान र भेटी चढ़ाउनेछन्; अँ, तिनीहरूले परमप्रभुका निम्ति भाकल गर्नेछन्, र त्यो पूरा गर्नेछन्। 22 अनि परमप्रभुले मिस्रलाई हिर्काउनुहुनेछ; उहाँले हिर्काउनुहुनेछ, र निको पनि पार्नुहुनेछ; अनि तिनीहरू परमप्रभुकहाँ फर्कनेछन्, र उहाँले तिनीहरूको विन्‍ती सुन्‍नुहुनेछ, र तिनीहरूलाई निको पार्नुहुनेछ।
23 त्यस दिन मिस्रदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ, अनि अश्शूरीहरू मिस्रमा आउनेछन्, र मिस्रीहरू अश्शूरमा जानेछन्; अनि मिस्रीहरूले अश्शूरीहरूसँग मिलेर सेवा गर्नेछन्। 24 त्यस दिन इस्राएल मिस्र र अश्शूरको साथमा तेस्रो देश हुनेछ; अँ, पृथ्वीको बीचमा एउटा आशिष्‌ बन्‍नेछ। 25 जसलाई परमप्रभुले यसो भन्दै आशीर्वाद दिनुहुनेछ: मिस्र, मेरो प्रजा; अश्शूर, मेरा हातको काम; र इस्राएल, मेरो अधिकारको भाग धन्यका होऊन्!”