कूश देशका निम्ति परमप्रभुको सन्देश
18
“पखेटाहरूले छाया पार्ने फटफटाउने देशलाई हाय, जो कूशका नदीहरूको पारिपट्टि छ; 2 जसले यसो भन्दै राजदूतहरूलाई समुद्रबाट, अँ, पानीको सतहमाथि-माथि नर्कटका जहाजहरूमा पठाउँछ: ‘हे फूर्तिला दूतहरूहो, तिमीहरू छरपस्ट पारिएको र खुइलिएको अन्यजातिकहाँ – यस्तो एउटा जातिकहाँ जाओ, जो शुरुदेखि अहिलेसम्म नै भयानक छ, जो नापिएको र कुल्चिएको अन्यजाति हो, जसको देशलाई नदीहरूले लुटेका छन्! 3 हे संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बस्‍नेहरूहो, जब पहाड़हरूमाथि झण्डा उठाइन्छ, तब हेर! अनि जब तुरही फुकिन्छ, तब सुन!
4 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो: म विश्राम लिनेछु; अनि झारपातहरूमाथि सफा ताप परेझैं, र कटनीको गर्मीको समयमा शीत बोकेको बादलझैं म आफ्नो वासस्थानमा हेर्नेछु 5 किनकि कटनीको अघि, जब कोपिला फक्रिसकेको हुन्छ, र जब फूलबाट बढ़ेर आएको अमिलो अङ्‍गुर पाकिरहेको हुन्छ, तब उहाँले ती मसिना हाँगाहरू हँसियाहरूले छिँवल्नुहुनेछ, र ती हाँगाहरू काटेर मिल्काइदिनुहुनेछ। 6 तिनीहरू पहाड़हरूका हिंस्रक पक्षीहरू र पृथ्वीका पशुहरूका निम्ति एकसाथ छोड़िनेछन्; अनि ती पक्षीहरूले तिनीहरूमाथि गर्मी महिना काट्नेछन्, र पृथ्वीका ती सबै पशुहरूले तिनीहरूमाथि जाड़ो महिना काट्नेछन्।
7 त्यस समयमा, छरपस्ट भएको र खुइलिएको जातिबाट, शुरुदेखि अहिलेसम्म नै भयानक जातिबाट, जो नापिएको र कुल्चिएको अन्यजाति हो, जसको देशलाई नदीहरूले लुटेका छन्, सेनाहरूका परमप्रभुको नामको ठाउँमा अर्थात् सियोन पर्वतमा सेनाहरूका परमप्रभुकहाँ एउटा भेटी ल्याइनेछ।”