दमस्कसको विरोधमा भविष्यवाणी
17
“दमस्कसको विषयमा भविष्यवाणी: हेर, दमस्कस एउटा शहर हुनदेखि हटाइनेछ; अनि यो त ध्वंस पारिएको खण्डहर हुनेछ। 2 अरोएरका शहरहरू त्यागिएका छन्; ती त भेड़ाबाख्राहरूका निम्ति हुनेछन्, जो त्यहाँ लेट्नेछन्, र कसैले तिनलाई भयभीत पार्नेछैन। 3 अनि एप्रैमबाट किल्‍ला, अनि दमस्कसबाट राज्य, र अरामको बचेको भागको अन्त हुनेछ; इस्राएलीहरूको महिमाजस्‍ता तिनीहरू हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्‍छ
4 अनि त्यस दिन यस्तो हुनेछ: याकूबको महिमा फितलो पारिनेछ, र उसको मासुको मोटोपन दुब्लो पारिनेछ। 5 अनि कटनी गर्नेले खड़ा अन्‍न बटुल्दा र आफ्नो पाखुराले अन्‍नका बालाहरूको कटनी गर्दा जस्तो हुन्छ, त्यस्तै हुनेछ; रपाईहरूको बेंसीमा कसैले अन्‍नका बालाहरू बटुल्दा जस्तो हुन्छ, त्यस्तै हुनेछ। 6 तरै पनि जैतुनको रूख हल्‍लाउँदा माथिल्‍लो हाँगाको टुप्पामा दुई-तीनवटा फल रहेझैं, त्यसका फलाइला हाँगाहरूमा चार-पाँचवटा रहेझैं त्यसमा सिला-फलहरू छोड़िनेछन्, परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ। 7 त्यस दिन मानिसले आफ्ना सृष्‍टिकर्तातिर आँखा उठाउनेछ, र त्यसका आँखाहरूले इस्राएलका पवित्र जनलाई हेर्नेछन्। 8 तर त्यसले ती वेदीहरूमाथि आँखा लगाउनेछैन, जुन वेदीहरू त्यसका हातहरूको काम हो, न ता त्यसका औंलाहरूले बनाएको चीजतिर अर्थात् अशेराका खाँबाहरू र सूर्यका मूर्तिहरूतिर हेर्नेछ। 9 त्यस दिन त्यसका बलिया-बलिया शहरहरू वनमा छोड़िएको चीजजस्ता हुनेछन्, अर्थात् त्यो माथिल्‍लो हाँगाजस्तो, जसलाई तिनीहरूले इस्राएलीहरूको खातिर छोड़े; अनि त्यहाँ उजाड़स्थान हुनेछ। 10 तिमीले आफ्नो उद्धारका परमेश्‍वरलाई बिर्सेका छौ र आफ्नो बलको चट्टानको सम्झना गरेका छैनौ; यसैकारण तिमीले मनोहर बोटबिरुवाहरू रोप्‍नेछौ, र त्यसमा बिराना कलमहरू लगाउनेछौ; 11 दिनमा तिमीले आफ्नो बोटबिरुवा बढ़्‍न लाउनेछौ, र बिहान तिमीले आफ्नो बीउ लहलहाउन लाउनेछौ; तर पीर र असाध्य शोकको दिनमा कटनीचाहिँ एउटा राश हुनेछ।
12 धेरै जातिका मानिसहरूको भीड़लाई हाय, जसले समुद्रको गर्जनले झैं हल्‍ला मच्‍चाउँछन्! जाति-जातिको बगाइलाई हाय, जो सामर्थी पानीको बगाइझैं ओइरिन्छन्! 13 जाति-जातिहरू धेरै पानीको बगाइझैं ओइरिन्छन्; तर परमेश्‍वरले तिनीहरूलाई हकार्नुहुनेछ, र तिनीहरू टाढ़ा-टाढ़ा भाग्‍नेछन्; अनि हावाको अघि पहाड़हरूको भुसझैं र भुमरीको अघि फनफनी घुम्‍ने धूलोझैं तिनीहरू लखेटिनेछन्। 14 अनि साँझमा, हेर, आतङ्क! बिहान हुनुभन्दा अघि त्यो छैन रहेछ! हामीलाई लुटपिट गर्नेहरूको हिस्‍सा र हामीलाई धुतधात गर्नेहरूको भाग यही हो।”