मोआबको विरोधमा भविष्यवाणी
15
“मोआबको विषयमा भविष्यवाणी; किनकि मोआबको आर एकै रातमा उजाड़ पारियो, र नाश भयो; किनकि मोआबको कीर नगर एकै रातमा उजाड़ पारियो, र नाश भयो; 2 रुनका लागि त्यो माथि बइत र दीबोन नामक उच्‍च स्थानहरूमा उक्लेर गएको छ; मोआबले नबो र मेदबाका निम्ति रोइकराइ गर्नेछ; तिनीहरूका सबै टाउकाहरूमाथि खुइलिएको तालु हुनेछन्, र हरेकको दाह्री काटिएको हुनेछ। 3 तिनीहरूका सड़कहरूमा तिनीहरूले भाङ्ग्राको लुगा आफ्नो कम्मर कस्‍नेछन्; तिनीहरूका कौसीहरू र तिनीहरूका फराकिला सड़कहरूमा हरेकले डाँको छोड़ी-छोड़ी रुँदै रोइकराइ गर्नेछ। 4 अनि हेश्बोन र एलालेह रोइउठ्नेछन्; तिनीहरूको सोर यहजसम्म सुनिनेछ; यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चिच्च्याउनेछन्; त्यसका निम्ति आफ्नो जीवन कष्‍टदायक हुनेछ। 5 मोआबका निम्ति मेरो हृदय रोइउठ्छ; त्यसका भगुवाहरू सोअरसम्म भाग्‍नेछन्, जो तीन वर्षको कोरली हो; किनकि तिनीहरू रुँदै-रुँदै लूहीतको उकालो चढ़्नेछन्; किनकि होरोनैमको बाटोमा तिनीहरूले विनाशको चिच्च्याहट उठाउनेछन्। 6 किनकि निम्रीमको पानी उजाड़ हुनेछ; किनकि घाँस सुकेको छ, कलिलो घाँस नाश भएको छ, कुनै हरियो थोक छँदैछैन। 7 यसकारण जुन प्रशस्त थोक तिनीहरूले प्राप्‍त गरेका छन्, र जे तिनीहरूले जम्मा गरेका छन्, ती कुराहरू तिनीहरूले बैंसहरूको खोलापारि लैजानेछन्। 8 किनकि चिच्च्याहट मोआबका सिमानाहरूको चारैतिर पुगेको छ; त्यसको रोइकराइ एग्लइमसम्म, र त्यसको रोइकराइ बेर-एलीमसम्म पुगेको छ। 9 किनकि दीमोनको पानी रगतले भरिएको हुनेछ; किनकि दीमोनमाथि म अझै थप कुराहरू ल्याउनेछु; मोआबबाट उम्केकोमाथि र देशको बचेको भागमाथि म सिंहहरू ल्याउनेछु।”