बाबेलको पतनको भविष्यवाणी
13
बाबेलको भविष्यवाणी, जुन भविष्यवाणी आमोसका छोरा यशैयाले दर्शनमा देखे: 2 “तिमीहरूले नाङ्गो पहाड़माथि एउटा झण्डा खड़ा गर; तिनीहरूतिर आफ्नो सोर उचाल; हात हल्‍लाओ; र तिनीहरू भारदारहरूका मूलढोकाहरूभित्र पसून्! 3 मैले मेरा पवित्र गरिएकाहरूलाई आज्ञा दिएको छु; अँ, मैले आफ्नो रिसका निम्ति मेरा शूरवीरहरूलाई बोलाएको पनि छु, अर्थात् उनीहरूलाई, जो मेरो सर्वश्रेष्‍ठतामा रमाउँछन्। 4 पहाड़हरूमा धेरै-धेरै मानिसहरूको जस्तो, भीड़को आवाज! भेला भएका जाति-जातिका राज्यहरूको खैलाबैलापूर्ण कोलाहल! सेनाहरूका परमप्रभुले लड़ाइँ गर्ने सेना भर्ना गर्नुहुन्छ। 5 उनीहरू टाढ़ा देशबाट, आकाशको छेउबाट आउँछन्; अँ, परमप्रभु उहाँका क्रोधका हतियारहरू लिएर सारा देश नाश गर्न आउनुहुन्छ। 6 तिमीहरूले रोइकराइ गर! किनभने परमप्रभुको दिन नजिकै छ; विनाशको रूपमा यो सर्वशक्तिमान्‌बाट आउनेछ। 7 यसकारण सबै हातहरू लल्याकलुलुक हुनेछन्, र हरेक मानिसको हृदय पग्लनेछ; 8 अनि तिनीहरू भयभीत हुनेछन्; वेदना र शोकहरूले तिनीहरूलाई पक्रनेछन्; सुत्केरी व्यथामा परेकी स्त्रीलाई झैं तिनीहरू पीड़ित हुनेछन्; तिनीहरू छक्‍क परेर एक-अर्कालाई हेर्नेछन्; तिनीहरूका अनुहारहरू ज्वालाहरूजस्‍तै हुनेछन्।
9 हेर, देश उजाड़ पार्न भनी क्रोध र बल्दो रिसले क्रूर भएर परमप्रभुको दिन आउँदैछ; अनि उहाँले त्यसका पापीहरूलाई त्यसबाट नाश पार्नुहुनेछ। 10 किनकि आकाशका ताराहरू र त्यसका नक्षत्रहरूले आफ्नो ज्योति दिनेछैनन्; सूर्य झुल्कँदा-झुल्कँदै अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योतिको चमक दिनेछैन। 11 अनि म संसारलाई त्यसको दुष्‍टताको कारणले, र दुष्‍टहरूलाई तिनीहरूको अधर्मको कारणले दण्ड दिनेछु; अनि म घमण्डीहरूको हठीपना सखाप गरिदिनेछु र अत्याचारीहरूको अहङ्कार तल झारिदिनेछु। 12 म मानिसलाई निखुर सुनभन्दा, अँ, मानिसलाई ओपीरको सुनभन्दा दुर्लभ तुल्याउनेछु। 13 यसकारण म आकाशहरू हल्‍लाउनेछु, अनि सेनाहरूका परमप्रभुको क्रोधमा र उहाँको बल्दो रिसको दिनमा पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ। 14 अनि यो त पिछा गरिएको मृग र गोठालाविनाको भेड़ाजस्तो हुनेछ; तिनीहरू हरेक आ-आफ्ना जातिकहाँ फर्कनेछन्, र हरेक आ-आफ्नो देशमा भागेर जानेछन्। 15 फेला पारिएको हरेक मानिस वारपार घोचिनेछ; अनि त्यससँग फेला परेको हरेक मानिस तरवारले ढालिनेछ। 16 अनि तिनीहरूका बालबच्‍चाहरू तिनीहरूकै आँखाहरूको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्, तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्‍नीहरू भ्रष्‍ट पारिनेछन्
17 हेर, म तिनीहरूको विरोधमा मादीहरूलाई उभाड़्नेछु, जसले चाँदीको वास्तै गर्नेछैनन्; अनि सुनचाहिँ – त्यसमा तिनीहरूले खुशी मान्‍नेछैनन्। 18 अनि तिनीहरूका धनुहरूले जवान मानिसहरूलाई पछारेर टुक्रा-टुक्रा पार्नेछन्; अनि तिनीहरूले गर्भको फलमाथि दया राख्‍नेछैनन्; तिनीहरूको आँखाले केटाकेटीहरूलाई पनि छोड़्‍नेछैन। 19 अनि राज्य-राज्यको महिमा, त्यो बाबेल, कल्दीहरूको त्यो सर्वश्रेष्‍ठ सुन्दरता, परमेश्‍वरले सदोम र गमोरालाई पल्टाइदिनुहुँदा जस्तो भएको थियो, त्यस्तै हुनेछ। 20 त्यो कहिल्यै बसोबास गरिनेछैन, न ता पुस्तौंपुस्तासम्म त्यहाँ कोही बस्‍नेछ; कुनै अरबीले धरि त्यहाँ पाल टाँग्‍नेछैन, न ता गोठालाहरूले त्यहाँ आफ्नो गोठ बनाउनेछन् 21 तर मरुभूमिमा बस्‍ने पशुहरू त्यहाँ लेट्नेछन्; अनि तिनीहरूका घरहरू रोइकराउने पशुहरूले भरिनेछन्; शुतुर्मुर्गहरूले त्यहाँ वास बस्‍नेछन्, र जङ्गली बोकाहरू त्यहाँ उफ्रनेछन्। 22 अनि तिनीहरूका उजाड़ घरहरूमा टापुहरूका जङ्गली पशुहरू, र तिनीहरूका मनोहर महलहरूमा स्यालहरू कराउनेछन्; अनि त्यसको समय नजिकै छ, र त्यसका दिनहरू लम्मिनेछैनन्।”