परमप्रभुको प्रशंसाको गीत
12
“अनि त्यस दिन तिमीले भन्‍नेछौ: ‘हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु; तपाईं मसित रिसाउनुभएको भए तापनि तपाईंको रिस मरेको छ, र तपाईंले मलाई सान्‍त्‍वना दिनुभएको छ। 2 हेर, परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा राख्‍नेछु, र डराउनेछैनँ; किनकि प्रभु यहोवा मेरो बल र मेरो गीत हुनुहुन्छ; अनि उहाँ मेरो उद्धार पनि हुनुभएको छ।’ 3 यसैकारण तिमीहरूले उद्धारका मुहानहरूबाट आनन्दसाथ पानी भर्नेछौ। 4 अनि त्यस दिन तिमीहरूले भन्‍नेछौ: ‘परमप्रभुको प्रशंसा गर; उहाँको नाम पुकार; जाति-जातिका मानिसहरूको बीचमा उहाँका कामहरूको वर्णन गर; उहाँको नाम उच्‍च छ भनी सुनाओ! 5 परमप्रभुका निम्ति गीत गाओ; किनकि उहाँले सर्वश्रेष्‍ठ काम गर्नुभएको छ; यो कुरा सारा संसारमा थाहा होस्! 6 हे सियोनको बासिन्दाहो, सोर उचालेर चिच्च्याऊ; किनकि तिम्रो बीचमा इस्राएलका पवित्र जन महान् हुनुहुन्छ।’ ”