यिशाईका पुत्रको शान्तिको राज्य
11
“अनि यिशाईको ठुटाबाट एउटा टुसा निस्कनेछ, अनि तिनका जराहरूबाट एउटा हाँगा पलाउनेछक; 2 अनि परमप्रभुको आत्मा उहाँमाथि बसिरहनुहुनेछ: बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको डरको आत्मा; 3 अनि परमप्रभुको डरमा उहाँले आनन्द लिनुहुनेछख; अनि आफ्ना आँखाको दृष्टिअनुसार उहाँले न्याय गर्नुहुनेछैन, न ता आफ्ना कानले सुनेअनुसार फैसला गर्नुहुनेछग; 4 तर धार्मिकतासाथ उहाँले गरिबहरूको न्याय गर्नुहुनेछ, र निष्पक्षतामा पृथ्वीका नम्रहरूको फैसला गर्नुहुनेछ; अनि उहाँले पृथ्वीलाई आफ्नो मुखको डण्डीले हिर्काउनुहुनेछ, र आफ्ना ओठहरूको सासले दुष्टलाई मार्नुहुनेछ। 5 अनि धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ, र विश्वासयोग्यताचाहिँ उहाँको जाँघको पटुका हुनेछ।6 अनि ब्वाँसो भेड़ाको पाठासँग बस्नेछ, अनि चितुवा बाख्राको पाठासँग लेट्नेछ; अनि बाछा, जवान सिंह र पालेको पशु एकसाथ बस्नेछन्, अनि एउटा सानो केटाले तिनीहरूलाई डोर्याउनेछ। 7 अनि गाई र भालु सँगै चर्नेछन्; तिनीहरूका बच्चाहरू एकसाथ लेट्नेछन्; अनि सिंहले गोरुले झैं पराल खानेछ। 8 दूध चुस्ने बच्चा साँभे साँपको दुलाको छेउमा खेल्नेछ; अनि दूध छुड़ाइएको बालकले विषालु साँपको बिलमा हात हाल्नेछ। 9 मेरो सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन्, न नाश गर्नेछन्; किनकि जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ, त्यसरी नै पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ।
10 अनि त्यस दिन यिशाईको एउटा जरा हुनेछ, जुन जरा जाति-जातिका मानिसहरूका निम्ति एउटा झण्डाको रूपमा खड़ा हुनेछ; अन्यजातिहरूले उहाँलाई खोज्नेछन्; अनि उहाँको विश्रामस्थल महिमापूर्ण हुनेछ।
11 अनि त्यस दिन यस्तो हुनेछ: प्रभुले आफ्नो प्रजाको बचेको भाग, जो छोड़िएको हुनेछ, अश्शूर, मिस्र, पत्रोस, कूश, एलाम, शिनार र हमातबाट, साथै समुद्रका टापुहरूबाट फर्काएर ल्याउनलाईघ फेरि दोस्रो चोटि आफ्नो हात बढ़ाउनुहुनेछ। 12 अनि उहाँले जाति-जातिका निम्ति एउटा झण्डा खड़ा गर्नुहुनेछ, इस्राएलका निकालिएकाहरूलाई भेला गर्नुहुनेछ र पृथ्वीका चारै कुनाबाट यहूदाका तितरबितर भएकाहरूलाई बटुल्नुहुनेछ। 13 अनि एप्रैमको डाहा हट्नेछ, र यहूदाका विरोधीहरू नष्ट हुनेछन्; एप्रैमले यहूदालाई डाहा गर्नेछैन, र यहूदाले एप्रैमलाई कष्ट दिनेछैन। 14 तर उनीहरू पलिस्तीहरूको काँधमाथि चढ़ेर पश्चिमतिर उड़्नेछन्; उनीहरूले एकसाथ पूर्वकाहरूलाई लुट्नेछन्; उनीहरूले एदोम र मोआबमाथि हात लगाउनेछन्; अनि अम्मोनीहरूले उनीहरूको आज्ञापालन गर्नेछन्। 15 अनि परमप्रभुले मिस्रको समुद्रको खाड़ीलाई पूर्ण रूपले नाश गर्नुहुनेछ; अनि आफ्नो प्रचण्ड बतासले उहाँले नदीमाथिङ आफ्नो मुड़्कीच हल्लाउनुहुनेछ, त्यसलाई हिर्काएर सात खोलामा विभाजित गर्नुहुनेछ, र जुत्ताहरू लाएर पनि तर्न सकिने बनाउनुहुनेछ। 16 अनि उहाँको प्रजाको बचेको भागका निम्ति, जो छोड़िएको हुनेछ, अश्शूरबाट यस्तै एउटा राजमार्ग हुनेछ, जस्तो मिस्र देशबाट निस्केर आएको दिनमा इस्राएलका निम्ति भएको थियो।”