10
“धिक्‍कार तिनीहरूलाई, जसले अधर्ममय नियमहरू स्थापना गर्छन्, र ती आदेश लेख्‍नेहरूलाई, जसले कष्‍टमय कुराहरूको आदेश लेख्छन् – 2 गरिबहरूबाट न्याय खोसेर लैजान, र मेरो प्रजाका दरिद्रहरूबाट अधिकार खोस्‍नलाई, यसैले कि विधवाहरू तिनीहरूका शिकार बनून्, र तिनीहरूले टुहुराहरूलाई लुट्न पाऊन्! 3 अब दण्डको दिनमा र टाढ़ाबाट आउने विनाशमा तिमीहरू के गर्छौ? सहायताका निम्ति तिमीहरू कसकहाँ भागेर जान्छौ? र आफ्नो महिमा कहाँ छोड़्छौ? 4 मविना उनीहरू कैदीहरूमुनि झुक्नेछन्, र मारिएकाहरूमुनि गिर्नेछन्। यति भएर पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।”
हठी अश्शूरमाथिको दण्ड
5 “धिक्‍कार अश्शूरलाई, मेरो क्रोधको लाठो! अनि तिनीहरूको हातमा भएको लौरोचाहिँ मेरो रिस हो। 6 म त्यसलाई एउटा भक्तिहीन जातिको विरोधमा पठाउनेछु; अनि जुन मानिसहरूसित मेरो रिस छ, तिनीहरूको विरुद्ध ‘लुटपिट गर, शिकार लुछलाछ गर, र सड़कहरूको हिलोलाई झैं तिनीहरूलाई कुल्चीमिल्ची पार’ भनी म त्यसलाई आज्ञा दिनेछु। 7 तरै पनि त्यसले त्यस्तो विचारै गर्दैन, न ता त्यसको हृदयले नै त्यस्तो सोच्दछ; तर नाश गर्ने र अनेकौं जातिहरूलाई मेटाइदिने विचार त्यसको हृदयमा छ। 8 किनकि त्यसले भन्छ: ‘के मेरा शासकहरू सबका सब राजाहरू होइनन् र? 9 के कल्नो कर्कमिशजस्तो होइन र? के हमात अर्पदजस्तो, र सामरिया दमस्कसजस्तो होइन र? 10 जस्तो मेरो हातले ती मूर्तिका राज्यहरू फेला पारेको छ, जसका खोपिएका मूर्तिहरू यरूशलेम र सामरियाका खोपिएका मूर्तिहरूभन्दा बढ़ी थिए; 11 के म यरूशलेम र त्यसका मूर्तिहरूसँग पनि त्यस्तै नगरूँ, जस्तो मैले सामरिया र त्यसका मूर्तिहरूसँग गरेको थिएँ?’
12 यसैकारण यस्तो हुनेछ: जब प्रभुले सियोन पर्वत र यरूशलेममाथि आफ्नो सम्पूर्ण काम गरिसिद्ध्याउनुहुन्छ, तब म अश्शूरको राजाको हृदयको कठोरताको फललाई र त्यसका घमण्डले चढ़ेका आँखाहरूको महिमालाई दण्ड दिनेछु। 13 किनकि त्यसले भन्छ: ‘मैले आफ्नो हातको शक्तिले र आफ्नो बुद्धिले यो काम गरेको छु; किनकि म समझदार हुँ; अनि मैले जाति-जातिका मानिसहरूका सिमानाहरू हटाएको छु, तिनीहरूका श्रीसम्पत्ति लुटेको छु र शूरवीर मानिसले झैं ती बासिन्दाहरूलाई दबाएको छु; 14 अनि जाति-जातिका मानिसहरूको धनसम्पत्ति मेरो हातले चराको गुँड़झैं फेला पारेको छ; अनि जसरी कसैले छोड़िएका अन्डाहरू बटुल्छ, त्यसरी नै मैले सारा पृथ्वीलाई बटुलेको छु; अनि पखेटा चलाउने कोही थिएन, न मुख खोल्ने, न चीं-चीं गर्ने कोही थियो।’ 15 के बन्चरोले त्यसलाई चलाउनेको विरुद्ध घमण्ड गर्छ र? अथवा के आराले त्यसलाई चलाउनेको विरुद्ध बढ़ाइ गर्छ र? मानो लौरोले आफूलाई उचाल्नेहरूलाई नै चलाइरहेछ! मानो लाठोले आफू काठ नै होइन झैं गरी आफूलाई उचालिरहेछ! 16 यसैकारण प्रभुले, सेनाहरूका परमप्रभुले त्यसका मोटाघाटाहरूको बीचमा दुब्लोपना पठाउनुहुनेछ, र त्यसको महिमामुनि जलिरहेको आगोजस्तो ज्वाला सल्काउनुहुनेछ। 17 अनि इस्राएलको ज्योति आगो हुनेछ, र उसका पवित्र जनचाहिँ ज्वाला बन्‍नुहुनेछ; अनि यो बल्नेछ, र यसले एकै दिनमा त्यसका काँड़ाहरू र त्यसका काँड़ेझाङहरू भस्म पार्नेछ; 18 अनि यसले त्यसको वनको महिमा र त्यसको फलवान् खेतबारीको महिमा, प्राण र शरीर दुवैलाई नष्‍ट पार्नेछ; अनि तिनीहरू बिमारीले मूर्च्छा खाएझैं हुनेछन्। 19 अनि त्यसका वनका बाँकी रूखहरू यति थोरै हुन्छन्, कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्‍न सक्छ।”
इस्राएलको बाँकी रहेको भाग फर्कनेछ
20 “अनि त्यस दिन यस्तो हुनेछ: इस्राएलको बाँकी रहेको भाग र याकूबको घरानाका उम्केकाहरू अब उसो आफूलाई हिर्काउनेमाथि भर पर्नेछैनन्, तर परमप्रभु, इस्राएलका पवित्र जनमाथि सच्‍चाइसहित भर पर्नेछन्। 21 बाँकी रहेकाहरू, अँ, याकूबको बाँकी रहेको भाग शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछ। 22 किनकि तिम्रो जाति इस्राएल समुद्रका बालुवाझैं भए तापनि तिनीहरूको बचेको भाग मात्र फर्कनेछ; ठहराइएको विनाशको बाढ़ धार्मिकताको साथ उर्लनेछ। 23 किनभने प्रभु, सेनाहरूका परमप्रभुले ठहराइएको सर्वनाश सारा देशको बीचमा ल्याउनुहुनेछ। 24 यसकारण प्रभु, सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे सियोनमा बस्‍ने मेरो प्रजाहो, अश्शूरसँग नडराऊ; त्यसले तिमीलाई लाठोले हिर्काउनेछ, र मिस्रको तरिकाअनुसार तिम्रो विरोधमा आफ्नो लौरो उठाउनेछ। 25 किनकि अब ज्यादा थोरै बेरमा मेरो क्रोध, र तिनीहरूको विनाशको विषयमा मेरो रिस शान्त हुनेछ। 26 अनि सेनाहरूका परमप्रभुले ओरेबको चट्टानमा मिद्यानको काटमारझैं एउटा कोर्रा त्यसमाथि उठाउनुहुनेछ; अनि आफ्नो लौरो समुद्रमाथि उठाइएझैं उहाँले त्यो मिस्रको तरिकामा उठाउनुहुनेछ। 27 अनि त्यस दिन यस्तो हुनेछ: तिम्रो काँधबाट त्यसको भारी, र तिम्रो गर्दनबाट त्यसको जुवा हटाइनेछ; अभिषेकको तेलको कारणले त्यो जुवा तोड़िनेछ
28 त्यो अय्यातमा आएको छ; त्यो मिग्रोनबाट भएर गएको छ; मिक्मासमा त्यसले आफ्नो मालसामान राखिछोड़ेको छ; 29 तिनीहरूले भन्ज्याङ्ग पार गरेका छन्; तिनीहरू गेबामा वास बसेका छन्; रामा भयभीत भएको छ; शाऊलको गिबा भागेको छ। 30 हे गल्लीमकी छोरी, आफ्नो सोर उचालेर चिच्च्याऊ! हे बिचरा अनातोत, लैशसम्म त्यो सुन्‍ने तुल्याऊ! 31 मद्‌मेना भागिहिँड़ेको छ; गेबीमका बासिन्दाहरू आश्रय खोज्छन्। 32 तरै पनि त्यस दिन त्यो नोबमा रहनेछ; त्यसले सियोनकी छोरीको पहाड़ अर्थात् यरूशलेमको डाँड़ाको विरोधमा आफ्नो मुड़्की हल्‍लाउनेछ। 33 हेर, प्रभुले, सेनाहरूका परमप्रभुले डरलाग्दो प्रकारले हाँगा काट्नुहुनेछ; अनि जिउडालमा अग्ला हुनेहरू ढालिनेछन्, र घमण्डीहरू होच्याइनेछन्। 34 अनि उहाँले वनका झाड़ीहरू फलामले ढाल्नुहुनेछ, र लेबानोन एउटा शक्तिशाली मानिसद्वारा ढालिनेछ।”