एउटा पुत्र दिइएको छ: शान्तिको राजकुमार
9
“तरै पनि त्यो अँध्यारोपना यस देशको सङ्कटको समयको जस्तो हुनेछैन, जुन बेला उहाँले पहिले जबूलूनको देश र नप्‍तालीको देशलाई हलुका कष्‍ट दिनुभयो, तर त्यसपछि यसलाई समुद्रको मार्गमा, यर्दनपारि, अन्यजातिहरूको गालीलमा भारी कष्‍ट दिनुभयो। 2 अन्धकारमा हिँड़्‍ने मानिसहरूले ठूलो ज्योति देखेका छन्; मृत्युको छायाको देशमा बस्‍नेहरूमाथि ज्योति चम्केको छ। 3 तपाईंले यस जातिको संख्या बढ़ाउनुभएको छ; तपाईंले आनन्द बढ़ाउनुभएको छैन; तिनीहरू तपाईंको सामु कटनीको बेलामा हुने जस्तो आनन्दले, र लुटको माल बाँड़्दा मानिसहरू रमाउने जस्तो आनन्दले आनन्द मनाउँछन्। 4 किनकि तपाईंले त्यसको भारीको जुवा र त्यसको काँधको लौरा, अँ, त्यसलाई थिचोमिचो गर्नेको डण्डा मिद्यानको दिनमा झैं भाँचिदिनुभएको छ। 5 किनकि योद्धाको हरेक लड़ाइँ होहल्‍लापूर्ण हुन्‍छ, र रगतमा लपेटिएको लुगा – त्यो जलाउनका निम्ति आगोको आहार हुनेछ। 6 किनभने हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, हामीलाई एउटा पुत्र दिइएको छ; अनि शासन उहाँको काँधमाथि हुनेछ; अनि उहाँको नाम अद्‌भूत सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्तकालका पिता, शान्तिका राजकुमार कहलिनेछ। 7 दाऊदको सिंहासनमाथि र उनको राज्यमाथि, त्यसलाई स्थापित गर्न अनि न्याय र धार्मिकताद्वारा त्यसलाई समाल्नलाई अबदेखि उसो अनन्त-अनन्तसम्म उहाँको शासनको वृद्धिको र शान्तिको अन्त हुनेछैन। सेनाहरूका परमप्रभुको जोशले यो गर्नेछ।”
समारियाको दण्ड
8 “प्रभुले याकूबकहाँ एउटा वचन पठाउनुभयो, र त्यो इस्राएलमाथि ओर्लिएको छ। 9 अनि सबै मानिसहरूले, अँ, एप्रैम र समारियाको बासिन्दाले जान्‍नेछन्, जसले घमण्ड र हृदयको कठोरतामा यसो भन्छन्: 10 ‘इँटाहरू त झरे, तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौं; किम्बूका रूखहरू त काटिए, तर हामी तिनलाई देवदारका रूखहरूले बदली गर्नेछौं।’ 11 यसैकारण परमप्रभुले रसीनको विरोधमा त्यसका विरोधीहरूलाई उठाउनुहुनेछ, र त्यसका शत्रुहरूलाई सुर्‍याउनुहुनेछ; 12 अघिल्तिर अरामीहरू र पछिल्तिर पलिस्तीहरू; अनि मुख बाएर तिनीहरूले इस्राएललाई निल्नेछन्। यति भएर पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
13 किनभने यी मानिसहरू आफूलाई हिर्काउनेपट्टि फर्किंदैनन्, न ता सेनाहरूका परमप्रभुको खोजी नै गर्छन्। 14 यसैकारण परमप्रभुले एकै दिनमा इस्राएलबाट शिर र पुच्छरलाई, खजूरको हाँगा र नर्कटलाई काट्नुहुनेछ। 15 वृद्ध र आदरणीय मानिस – तिनीचाहिँ शिर हुन्; अनि झूट बोल्न सिकाउने भविष्यवक्ताचाहिँ पुच्छर हो। 16 किनकि यस जातिका अगुवाहरूले तिनीहरूलाई कुबाटोमा लगाउँछन्, र उनीहरूद्वारा डोरिएकाहरू नष्‍ट हुन्छन् 17 यसैकारण प्रभु तिनीहरूका जवानहरूसित आनन्दित हुनुहुनेछैन, न ता तिनीहरूका टुहुराहरू र विधवाहरूमाथि नै दया देखाउनुहुनेछ; किनकि हरेक मानिस कपटी र कुकर्मी हो; अनि हरेक मुखले मूर्खता बोल्छ। यति भएर पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
18 किनकि दुष्‍टता आगोझैं जल्छ; त्यसले काँड़ेझाङ र काँड़ाहरू भस्म पार्नेछ, अनि वनका झाड़ीहरूमा आगो लगाइदिनेछ, र धूवाँको मुस्ला मास्तिर गएझैं ती फेरो मार्दै उँभो-उँभो जानेछन्। 19 सेनाहरूका परमप्रभुको क्रोधले गर्दा देश अँध्यारो भएको छ, र मानिसहरू आगोको आहारसरह हुनेछन्; कसैले पनि आफ्नो भाइलाई बाँकी राख्‍नेछैन। 20 अनि त्यसले दाहिने हातपट्टि काट्नेछ, र पनि भोकै रहन्छ; त्यसले देब्रे हातपट्टि खानेछ, तर पनि तृप्‍त हुनेछैन; तिनीहरू हरेकले आफ्नै पाखुराको मासु खानेछन्; 21 मनश्शेले एप्रैमलाई, र एप्रैमले मनश्शेलाई; अनि तिनीहरू एकसाथ मिलेर यहूदाको विरोधमा हुनेछन्। यति भएर पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।”