अश्शूर राजाको हमला
8
अनि परमप्रभुले मलाई भन्‍नुभयो: “आफ्ना निम्ति एउटा ठूलो पाटी लेऊ, र त्यसमाथि मानिसको कलमले ‘महेर-शालाल-हाश-बज’को विषयमा लेख!” 2 अनि मैले आफ्ना निम्ति साक्षीको रूपमा विश्‍वासयोग्य साक्षीहरू, अर्थात् पूजाहारी ऊरियाह र यबेरेक्याहको छोरा जकर्याहलाई लिएँ। 3 अनि म भविष्यवक्तिनीकहाँ गएँ; अनि तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। तब परमप्रभुले मलाई भन्‍नुभयो: “उसको नाम ‘महेर-शालाल-हाश-बज’ राख! 4 किनकि यस बालकले ‘मेरा बुबा’, र ‘मेरी आमा’ भनेर पुकार्ने ज्ञान पाउनुभन्दा अघि नै दमस्कसको धनसम्पत्ति र सामरियाको लुटको माल अश्शूरको राजाको सामु उठाएर लगिनेछ।”
5 अनि परमप्रभुले फेरि पनि मलाई यसो भन्‍नुभयो: 6 “यस जातिले बिस्तारै-बिस्तारै बग्‍ने शिलोको पानीलाई रद्द गर्छ, अनि रसीनमा र रमल्याहको छोरामा आनन्द गर्छ; 7 यसकारण अब हेर, प्रभुले नदीको पानीलाई, शक्तिशाली र धेरै पानीलाई अर्थात् अश्शूरको राजालाई त्यसको सारा गौरवसित तिनीहरूमाथि ल्याउनुहुन्छ; अनि त्यो आफ्ना सबै नालाहरूमाथिबाट उर्लेर र आफ्ना सबै किनारहरू ढाकेर आउनेछ; 8 अनि त्यो यहूदाबाट पार भएर जानेछ; त्यो उर्लनेछ र माथिबाट भएर पार जानेछ; त्यो घाँटीसम्मै पुग्‍नेछ; हे इम्मानुएल, त्यसका फैलिएका पखेटाहरूले तिम्रो देशको चौड़ाइ भर्नेछन्‌।”
यस जातिको चालअनुसार नहिँड़!
9 “हे जाति-जातिका मानिसहरूहो, तोड़िओ! अँ, टुक्रा-टुक्रा होओ! अनि हे टाढ़ा-टाढ़ाका सबै देशकाहरूहो, कान लगाओ; आ-आफ्नो कम्मर कस! अनि तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ; आ-आफ्नो कम्मर कस! अनि तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ। 10 आपसमा सल्‍लाह लेओ, तर त्यो विफल हुनेछ; वचन बोल, तर त्यो टिक्नेछैन; किनकि परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ।” 11 किनकि परमप्रभुले बलियो हातले मसित यसरी बोल्नुभयो, र यस जातिको चालअनुसार नहिँड़्नू भनी मलाई यसो भन्दै शिक्षा दिनुभयो: 12 “जुन-जुन कुरालाई यस जातिले षड़्यन्‍त्र भन्छ, तिनलाई तिमीहरूले षड़्यन्‍त्र नभन्‍नू; न ता तिनीहरूको डरले डराउनू, न भयभीत हुनू! 13 सेनाहरूका परमप्रभुलाई नै पवित्र मान्‍नू; अनि उहाँ नै तिमीहरूको डर होऊन्, उहाँ नै तिमीहरूको भय होऊन्। 14 अनि उहाँ पवित्रस्थान बन्‍नुहुनेछ; तर इस्राएलका दुवै घरानाका निम्ति चाहिँ ठेस लाग्‍ने ढुङ्गा र ठक्‍कर खाने चट्टान, र यरूशलेमका बासिन्दाहरूका निम्ति चाहिँ पासो र धराप बन्‍नुहुनेछ। 15 अनि तिनीहरूमध्ये धेरैले ठेस खानेछन्, लड़्नेछन्, टुक्रा-टुक्रा हुनेछन्, पासोमा पर्नेछन् र लगिनेछन्। 16 साक्षीलाई बाँधिराख; मेरा चेलाहरूको बीचमा व्यवस्थामाथि मोहोरछाप लगाऊ! 17 अनि म परमप्रभुको बाटो हेर्नेछु, जसले याकूबको घरानाबाट आफ्नो अनुहार लुकाउनुहुन्छ; अनि म उहाँको बाटो हेर्नेछु।
18 हेर, म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू त इस्राएलमा सियोन पर्वतमा वास गर्नुहुने सेनाहरूका परमप्रभुको तर्फबाट चिन्हहरू र अचम्मका कामहरू भएका छौं। 19 अनि जब तिनीहरूले तिमीहरूलाई भूतप्रेत खेलाउनेहरू र फलाक्‍ने र बरबराउने धामीहरूलाई खोज भनी भन्छन् भने के मानिसहरूले आफ्ना परमेश्‍वरको खोज गर्नुपर्दैन र? के जिउँदाहरूका निम्ति मरेकाहरूलाई सोधपुछ गरिन्छ र? 20 व्यवस्था र साक्षीकहाँ जाओ! यदि तिनीहरूले यस वचनअनुसार बोल्दैनन् भने यो तिनीहरूमा प्रकाश नभएकोले हो। 21 अनि तिनीहरू बेस्सरी चेप्‍टिएर र भोकै भएर यस देशमा घुमिहिँड़्‍नेछन्; अनि यस्तो हुनेछ, जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू क्रोधित हुनेछन्, आफ्नो राजा र आफ्नो परमेश्‍वरलाई सराप्‍नेछन्, र माथितिर हेर्नेछन्। 22 अनि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्, अनि हेर, सङ्कष्‍ट, अन्धकार, वेदनाको अँध्यारोपना; अनि तिनीहरू अन्धकारभित्र धकेलिनेछन्।”