यहूदाका राजा आहाज हताश हुने बेलामा आएको ईश्‍वरवाणी
7
अनि यस्तो भयो: यहूदाका राजा उज्जियाहका नाति, योतामका छोरा आहाजका दिनहरूमा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकहले यरूशलेमसित लड़ाइँ गर्नलाई त्यसमाथि चढ़ाइ गरे, तर त्यसलाई जित्‍न सकेनन्। 2 अनि दाऊदको घरानालाई ‘अरामले एप्रैमसँग सन्धि गरेछ’ भन्‍ने कुरा सुनाइयो। तब जसरी वनका रूखहरू हावाले हल्‍लिन्‍छन्‌, त्यसरी नै तिनको हृदय, र तिनको प्रजाको हृदय हल्‍लियो। 3 तब परमप्रभुले यशैयालाई भन्‍नुभयो: “अब धोबीको जमिनको मूलबाटोमा, माथिल्‍लो तलाउको कुलोको अन्त्यमा आहाजलाई भेट्न निस्केर जाऊ – तिमी र तिम्रा छोरा शआर-याशूब; 4 र उसलाई भन: ‘होशियार बस, र शान्त रह; यी धूवाँ निस्किरहेका अगुल्टाका दुईवटा पुच्छरदेखि र अरामको साथमा रसीन र रमल्याहका छोराको भयङ्कर रिसदेखि नडराऊ, र तिम्रो हृदय काँतर नहोस्! 5 किनभने अराम, एप्रैम र रमल्याहका छोराले तिम्रा विरोधमा यसो भन्‍ने दुष्‍ट सल्‍लाह लिएका छन्: 6 “आओ, हामी यहूदामाथि चढ़ाइ गरौं, त्यसलाई हैरान पारौं, हाम्रा निम्ति त्यसलाई तोड़फोड़ गरौं र त्यसको बीचमा एकजना राजालाई, अर्थात् ताबेलको छोरालाई नियुक्त गरौं!” 7 प्रभु यहोवाले यसो भन्‍नुहुन्‍छ: “यो सल्‍लाह टिक्नेछैन, न ता पूरा हुने नै छ। 8 किनभने अरामको शिर दमस्कस हो, अनि दमस्कसको शिरचाहिँ रसीन हो; अनि पैंसट्ठी वर्षभित्र एप्रैम एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ। 9 अनि एप्रैमको शिर सामरिया हो, अनि सामरियाको शिरचाहिँ रमल्याहको छोरा हो। तिमीहरूले विश्‍वास गरेनौ भने निश्‍चय नै तिमीहरू स्थापित हुनेछैनौ।”
परमप्रभुले दिनुहुने चिन्ह: इम्मानुएल
10 अनि परमप्रभुले आहाजलाई फेरि यसो भन्‍नुभयो: 11 “परमप्रभु आफ्ना परमेश्‍वरबाट आफ्ना निम्ति एउटा चिन्ह माग; चाहे त्यो गहिराइको होस्, चाहे त्यो माथि उच्‍चाइको, माग!” 12 तर आहाजले भने: “म माग्‍नेछैनँ, न ता म परमप्रभुलाई परीक्षा नै गर्नेछु।” 13 अनि उनले भने: “हे दाऊदको घराना, अब तिमीहरू सुन! के तिमीहरूका निम्ति मानिसहरूलाई थकित तुल्याउनु सानो कुरा हो र? तर के तिमीहरू मेरा परमेश्‍वरलाई पनि थकित तुल्याउँछौ? 14 यसकारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ: हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्‍नेछिन्। 15 खराबलाई कसरी इन्कार गर्नु र असललाई कसरी चुन्‍नु, सो नजानेसम्म उसले दही र मह खानेछ। 16 किनकि त्यस बालकले खराबलाई इन्कार गर्न र असललाई चुन्‍न जान्‍नुभन्दा अघि नै जुन देशलाई तिमीले घृणा गर्दछौ, त्यो आफ्ना दुवै राजाहरूबाट त्यागिएको हुनेछ। 17 परमप्रभुले तिमीमाथि, तिम्रो प्रजामाथि र तिम्रा पिताको घरानामाथि यस्ता दिनहरू ल्याउनुहुनेछ, जो एप्रैम यहूदाबाट अलग भएको दिनदेखि आजसम्म आएका छैनन्, अर्थात् अश्शूरका राजालाई।
18 अनि त्यस दिन यस्तो हुनेछ: परमप्रभुले मिस्रका नदीहरूको पल्‍लो छेउमा भएको झिङ्गालाई, र अश्शूरको देशमा भएको मौरीलाई सुसेली मारेर बोलाउनुहुनेछ। 19 अनि तिनीहरू आउनेछन्, र तिनीहरू सबै उजाड़ बेंसीहरूमा र चट्टानहरूका दुलाहरूमा, साथै सबै काँड़ाहरूमाथि र सबै पोथ्राहरूमाथि बस्‍नेछन् 20 त्यस दिन प्रभुले नदीपारिकाहरूबाट भाड़ामा लिएको छुराद्वारा, अँ, अश्शूरको राजाद्वारा शिर र खुट्टाका रौं खौरनुहुनेछ; अनि त्यसले दाह्री पनि उड़ाइदिनेछ 21 अनि त्यस दिन यस्तो हुनेछ: एकजना मानिसले एउटा कोरली गाई र दुईवटा भेड़ाहरू पाल्नेछ 22 अनि यस्तो हुनेछ: तिनीहरूले दिएको दूधको प्रशस्तताले गर्दा उसले दही खानेछ; किनकि यस देशमा छोड़िएको हरेकले दही र मह खानेछ। 23 त्यस दिन यस्तो हुनेछ: हरेक ठाउँ, जहाँ हजार चाँदीका रुपियाँ बराबरको हजार दाखका बोटहरू थिए, त्यो काँड़ेझाङ र काँड़ाहरूका निम्ति हुनेछ। 24 मानिस काँड़हरू र धनु लिएर त्यहाँ आउनेछ; किनभने सारा देश काँड़ेझाङ र काँड़ैकाँड़ा हुनेछ। 25 अनि सबै पहाड़हरू जो कोदालोले खनिन्थे, त्यहाँ तिमी काँड़ेझाङ र काँड़ाहरूको डरले आउनेछैनौ; तर त्यो त गोरुहरू पठाउने र भेड़ाबाख्राहरूले कुल्चीमिल्ची पार्ने ठाउँ हुनेछ।”