भविष्यवक्ता हुनलाई यशैयाको बोलावट
6
“राजा उज्जियाह मरेको वर्षमा मैले प्रभुलाई एउटा अग्लो र उच्‍च सिंहासनमाथि बसिरहनुभएको देखें; अनि उहाँको वस्त्रको फेरले मन्दिर भरिएको थियो। 2 त्यस सिंहासनको मास्तिर सराफहरू उभिएका थिए; हरेकका छवटा पखेटा थिए; दुईवटाले तिनले आफ्नो अनुहार ढाकेका थिए, दुईवटाले आफ्ना पाउहरू छोपेका थिए, र दुईवटाले तिनी उड़्थे। 3 अनि एकजनाले अर्कालाई कराएर भने: ‘सेनाहरूका परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरपूर छ!’ 4 अनि ती कराउनेको आवाजले ढोकाका खाँबाहरू हल्‍लिए, अनि भवन धूवाँले भरियो। 5 तब मैले भनें: ‘हाय मलाई; किनभने म नाश भएँ; किनकि म अशुद्ध ओठहरू भएको मानिस हुँ, अनि म अशुद्ध ओठहरू भएका मानिसहरूको बीचमा बस्दछु; किनकि मेरा आँखाहरूले राजालाई, अँ, सेनाहरूका परमप्रभुलाई देखे।’ 6 तब सराफहरूमध्ये एकजना आफ्नो हातमा झरझराउँदो कोइला लिएर मकहाँ उड़ेर आए, जसलाई तिनले चिम्टाले वेदीबाट टिपेका थिए; 7 अनि तिनले त्यो मेरो मुखमाथि राखिदिए, र भने: ‘हेर, यसले तिम्रा ओठहरू छोएको छ; र तिम्रो अधर्म हटाइएको छ, अनि तिम्रो पापको प्रायश्‍चित भएको छ।’
8 अनि मैले प्रभुको यसो भन्‍ने सोर सुनें: ‘म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?’ तब मैले भनें: ‘म यहाँ छु; मलाई पठाउनुहोस्!’ 9 अनि उहाँले भन्‍नुभयो: ‘जाऊ, र यस जातिलाई भन, सुनिरहँदा तिमीहरूले सुन्छौ, तर बुझ्नेछैनौ; अनि हेरिरहँदा तिमीहरूले देख्छौ, तर जान्‍नेछैनौ। 10 यस जातिको हृदय मोटो बनाऊ, तिनीहरूका कानहरू बोधा तुल्याऊ र तिनीहरूका आँखा बन्द गरिदेऊ; नत्र ता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, आफ्ना कानहरूले सुन्लान्, आफ्नो हृदयले बुझ्लान्, अँ, तिनीहरू फर्कलान् र निको होलान्।’ 11 तब मैले भनें: ‘हे प्रभु, कहिलेसम्म?’ अनि उहाँले जवाफ दिनुभयो: ‘जबसम्म शहरहरू उजाड़, बासिन्दाविनाका हुँदैनन्, र घरहरू मानिसविनाका हुँदैनन्, अनि देश पूर्ण रूपले उजाड़ हुँदैन; 12 अनि जबसम्म परमप्रभुले मानिसहरूलाई टाढ़ा हटाउनुहुन्‍न, र देशको बीचमा ठूलो सत्यानाश हुँदैन। 13 तरै पनि यसमा अझ दस भागको एक भाग रहनेछ, अनि त्यो फर्कनेछ, र निलिनेछ; तारपीनको रूख र फलाँटको रूखजस्तै, जसको ढालिएपछि ठुटा रहन्छ; त्यसरी नै पवित्र वंशचाहिँ यसको ठुटा हुनेछ।’ ”