सुलेमानले शूलामाइटको सुन्दरताको तारिफ गर्छन्
6
हे स्त्रीहरूमा परम-सुन्दरी, तिम्रा प्रिय कहाँ गएका छन्? तिम्रा प्रिय कतातिर लागे, कि तिमीसित हामीले उनलाई खोज्नुपर्छ?2 मेरा प्रिय तल आफ्नो बगैंचामा, मसलाका ड्याङहरूहुँदो बगैंचामा चराउन र लिली फूलहरू टिप्न जानुभएको छ।
3 म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरा हुनुहुन्छ; उहाँ लिली फूलहरूको बीचमा चराउनुहुन्छ।
4 हे मेरी प्रिया, तिमी तिर्साजस्तै सुन्दरी, यरूशलेमजस्तो रूपवती, झण्डाहरू लिएर हिँड़ेको फौजझैं भयङ्कर छ्यौ।
5 आफ्ना आँखाहरू मबाट हटाऊ; किनकि तिनीहरूले मलाई जितेका छन्; तिम्रो केश गिलादबाट देखा परेको बाख्राहरूको बगालजस्तै छ।
6 तिम्रा दाँतहरू नुहाएर माथि उक्लिरहेका भेड़ीहरूको बगालजस्तै छन्, जसमध्ये हरेकले जुम्ल्याहा पाठा बियाउँछ, र जसमध्ये एउटा पनि थारो हुँदैन।
7 तिम्रा केशका लर्कनहरूभित्र तिम्रा कनपटहरू दारिमका फग्ल्याँटाजस्ता छन्।
8 साठी रानीहरू, अस्सी उपपत्नीहरू र अनगन्ती कन्याहरू छन्।
9 तर मेरी ढुकुर, मेरी निष्कलङ्किता त एउटी मात्र छिन्; तिनी आफ्नी आमाकी एउटी मात्र, तिनलाई जन्माउनेकी विशेष चुनिएकी हुन्। छोरीहरूले तिनलाई देखे र तिनलाई धन्यकी भने, अँ, रानीहरू र उपपत्नीहरूले पनि; अनि उनीहरूले तिनको प्रशंसा गरे:
10 तिनी को हुन्, जसले प्रभातले झैं हेर्दछिन्, चन्द्रमाझैं सुन्दरी, सूर्यझैं निर्मल छिन्, र झण्डाहरू लिएर हिँड़ेको फौजझैं भयङ्कर हुन्छिन्?
11 बेंसीका फलफूलहरूक हेर्न, दाखको बोटमा कोपिला लागे कि, दारिमका बोटहरूमा फूल लागे कि भनी हेर्न म तल ओखरहरूको बगैंचामा गएँ।
12 मलाई थाहै भएन, मेरो मनले मलाई अम्मिनादिबका रथहरूझैं तुल्याइदिएछ।
13 हे शूलामाइट, फर्क, फर्क! फर्क न फर्क, र हामीले तिमीलाई हेर्न पाऔं! तिमीहरूले शूलामाइटमा के देख्छौ? मानो दुईवटा फौजको जमघटख।