प्रियतम तिनलाई भेट्न आएका; तिनको सुन्दरताको दोस्रो बयान
5
हे मेरी बहिनी, मेरी दुलही, म आफ्नो बगैंचाभित्र आएको छु; मैले आफ्नो मसलाको साथमा मेरो गन्धरस बटुलेको छु; मैले आफ्नो महसित मेरो महको चाका खाएको छु; मैले आफ्नो दूधसित मेरो दाखमद्य पिएको छु; हे साथीहरूहो, खाओ; हे प्रियहरूहो, पिओ; अँ, प्रशस्त गरी पिओ!
2 म त निदाइरहेकी छु, तर मेरो हृदय जागिरहन्छ; यो त मेरा प्रियको सोर हो, जसले यसो भन्दै ढकढकाइरहनुभएको छ: “मेरी बहिनी, मेरी प्रिया, मेरी ढुकुर, मेरी निष्कलङ्किता, मेरा निम्ति खोलिदिऊ; किनकि मेरो शिर शीतले, र मेरा केशका लर्कनहरू रातका थोपाहरूले लफ्रक्‍क भएका छन्।”
3 मैले आफ्नो वस्त्र फुकालेकी छु; म यो कसरी लगाऊँ? मैले आफ्ना पाउहरू धोएकी छु; म तिनलाई कसरी मैला पारूँ?
4 मेरा प्रियले आफ्नो हात ढोकाको प्वालबाट भित्र हाल्नुभयो; तब मेरो हृदय उहाँका निम्ति प्रेमले उम्लियो।
5 म आफ्ना प्रियका निम्ति खोलिदिन उठें; मेरा हातहरूले गन्धरस, र मेरा औंलीहरूले सुगन्धित गन्धरस आग्लोका हातोहरूमाथि चुहाए।
6 मैले मेरा प्रियका निम्ति खोलिदिएँ; तर मेरा प्रिय हटेर गइसक्नुभएको रहेछ; उहाँ बोल्नुहुँदा मेरो होश हरायो; मैले उहाँलाई खोजें, तर मैले उहाँलाई भेट्टाइनँ; मैले उहाँलाई बोलाएँ, तर उहाँले मलाई जवाफ दिनुभएन।
7 शहरमा वरिपरि घुमिहिँड़्‍ने पहरेदारहरूले मलाई भेट्टाए; तिनीहरूले मलाई हिर्काए; तिनीहरूले मलाई घाइते बनाइदिए; पर्खालहरूका रखवालाहरूले मबाट मेरो घुम्टो खोसेर लगे।
8 हे यरूशलेमका छोरीहरूहो, म तिमीहरूलाई आग्रह गर्दछु: तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने उहाँलाई भनिदेओ: ‘म प्रेमको रोगी छु।’
9 हे स्त्रीहरूमा परम सुन्दरी, कुन कुरामा तिम्रा प्रिय अरू कुनै प्रियभन्दा बढ़ी छन्! कुन कुरामा तिम्रा प्रिय अरू कुनै प्रियभन्दा बढ़ी छन्, र तिमीले हामीलाई यसरी आग्रह गर्दछ्यौ?
10 मेरा प्रिय गोरा र रातापिरा हुनुहुन्छ, अँ, दस हजारमा उत्तम हुनुहुन्छ।
11 उहाँको शिर अति चोखो सुनझैं छ; उहाँका केशका लर्कनहरू बाक्‍ला, र कागझैं काला छन्।
12 उहाँका आँखाहरू पानीका नदीहरूका किनारमा बसेका ढुकुरका आँखाहरूजस्ता छन्, जुन आँखाहरू दूधमा धोइएका र ठीकसँग जड़िएका छन्।
13 उहाँका गालाहरू मसलाहरूको ड्याङ, सुगन्धमय फूलहरूजस्ता छन्; उहाँका ओठहरू सुगन्धित गन्धरस तप्किरहेका लिली फूलहरूजस्ता छन्।
14 उहाँका हातहरू फिरोजा जड़िएका सुनका औंठीहरूजस्ता छन्; उहाँको पेट नीरमणिले मोहोरेको चम्किलो हात्तीदाँतजस्तो छ।
15 उहाँका खुट्टाहरू निखुर सुनका चूलघरहरूमाथि बसालिएका सङ्गमर्मरका खाँबाहरूजस्ता छन्; उहाँको चेहरा लेबानोनजस्तो, देवदारका रूखहरूजस्तो उत्तम छ।
16 उहाँको मुख अति मीठो छ; अँ, उहाँ बिलकुलै मनोहर हुनुहुन्छ। हे यरूशलेमका छोरीहरूहो, यहाँ नै मेरा प्रिय, यहाँ नै मेरा साथी हुनुहुन्छ।