प्रेमिकाको सुन्दरताको पहिलो बयान
4
हेर, तिमी सुन्दरी छ्यौ! हे मेरी प्रिया; हेर, तिमी सुन्दरी छ्यौ; तिम्रा केशका लर्कनहरूको बीचमा तिम्रा आँखाहरू ढुकुरहरूका जस्ता छन्; तिम्रो केश गिलाद पहाड़बाट देखा परेको बाख्राहरूको बगालझैं छ।
2 तिम्रा दाँतहरू भर्खरै ऊन कत्रेका भेड़ीहरूको बगालजस्तै छन्, जो नुहाइएको ठाउँबाट बाहिर निस्किरहेका छन्, जसमध्ये हरेकले जुम्ल्याहा पाठा बियाउँछ, र जसमध्ये एउटा पनि थारो हुँदैन।
3 तिम्रा ओठहरू सिन्‍दुरे रङ्गको सूतजस्ता छन्; अनि तिम्रो बोली मनोहर छ; तिम्रा केशका लर्कनहरूभित्र तिम्रा कनपटहरू दारिमका फग्ल्याँटाजस्ता छन्।
4 तिम्रो गला हातहतियारहरू राख्‍न बनाइएको दाऊदको धरहराजस्तो छ, जसमा हजार ढालहरू, जम्मै शूरवीरहरूका ठूला ढालहरू झुन्ड्याइएका हुन्छन्।
5 तिम्रा दुई स्तनहरू मृगीका दुई जुम्ल्याहा पाठाजस्ता छन्, जुन पाठाहरू लिली फूलहरूको बीचमा चर्दछन्।
6 दिन ठण्डा नहोउन्जेल र छायाहरू नभागुन्जेल म गन्धरसको पहाड़मा र लोबानको डाँड़ामा जानेछु।
7 हे मेरी प्रिया, तिमी सर्वाङ्ग सुन्दरी छ्यौ; तिमीमा कुनै कलङ्क छँदैछैन।
8 हे मेरी दुलही, मसँग लेबानोनबाट, मसँग लेबानोनबाट आऊ! अमानाको टाकुराबाट, सनीर र हेर्मोनको टाकुराबाट, सिंहका ओड़ारहरूबाट, चितुवाहरूका पहाड़हरूबाट तल हेर!
9 हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ; तिमीले आफ्‍ना आँखाहरूको एउटै हेराइले, तिम्रो गलाको एउटै सिक्रीले मेरो हृदय चोरेकी छ्यौ।
10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा पनि कति उत्तम छ! र तिम्रा तेलहरूको सुगन्धचाहिँ सबै मसलाहरूभन्दा उत्तम छ!
11 हे मेरी दुलही, तिम्रा ओठहरूले महको चाकाले झैं मह चुहाउँछन्; तिम्रो जिब्रोमुनि मह र दूध छन्; अनि तिम्रा वस्त्रहरूको सुगन्धचाहिँ लेबानोनको सुगन्धसरह छ।
12 मेरी बहिनी, मेरी दुलही चारैपट्टि बार लगाइएको बगैंचा, बुज्याइएको मुहान, मोहरछाप ठोकी बन्द गरिएको धारा हुन्।
13 तिम्रा विरुवाहरू मनोहर फलहरू भएको, दारिमहरूको बगैंचा हुन्; जहाँ मेंहदी र जटामसीहरू,
14 अँ, जटामसी र केशर छन्; बोझो र दालचिनी, साथै लोबानका सबै प्रकारका वृक्षहरू; सबै उत्तम-उत्तम मसलाहरूसहित गन्धरस र अगरुहरू छन्;
15 तिमी बगैंचाहरूको धारा, जिउँदा पानीहरूको इनार र लेबानोनबाटका खोलाहरू हौ।
16 हे उत्तरी हावा, जाग्! हे दक्षिणी हावा, आइज! मेरो बगैंचामा बहिदे, र त्यसका सुगन्धहरू बगिनिस्कून्! मेरा प्रिय आफ्नो बगैंचामा आऊन्, र उहाँले त्यसका मनोहर फलहरू खाऊन्!