सुलेमानको पालकी यरूशलेम फर्कन्छ
3
रातको समयमा मैले आफ्नो पलङमा मेरा प्राण-प्रियलाई खोजें; मैले उहाँलाई खोजें, तर उहाँलाई भेट्टाइनँ।
2 अब म उठ्नेछु, शहरमा चारैतिर सड़कहरूहुँदो जानेछु, र मेरा प्राण-प्रियलाई फराकिला सड़कहरूमा खोज्‍नेछु; मैले उहाँलाई खोजें, तर उहाँलाई भेट्टाइनँ।
3 शहरको चारैतिर घुमिहिँड़्‍ने पहरेदारहरूले मलाई भेट्टाए; तिनीहरूलाई मैले भनें: “के तपाईंहरूले मेरा प्राण-प्रियलाई देख्‍नुभयो?”
4 तिनीहरूलाई छोड़ेर अलिकति अघि बढ़्‍नसाथ मैले मेरा प्राण-प्रियलाई भेट्टाएँ; मैले उहाँलाई पक्रें, र जबसम्म मैले उहाँलाई मेरी आमाको घरमा, अँ, मलाई गर्भधारण गर्नुहुनेको कोठामा ल्याइनँ, तबसम्म मैले उहाँलाई छोड़िनँ।
5 हे यरूशलेमका छोरीहरूहो, म तिमीहरूलाई मृगीहरू र मैदानका हरिणीहरूको शपथ खुवाएर आज्ञा गर्छु: “जबसम्म प्रेमले चाहँदैन, तबसम्म त्यसलाई नउठाओ, र नजगाओ!”
6 धूवाँका खाँबाहरूझैं गन्धरस र लोबान, अँ, व्यापारीका सबै प्रकारका पाउडरले सुगन्धित भएर उजाड़स्थानबाट माथि आउने तिनी को हुन्?
7 उहाँको पलङ हेर! यो सुलेमानको हो; यसको वरिपरि इस्राएलका शूरवीरहरूमध्ये साठीजना शूरवीर छन्।
8 तिनीहरू सबै तरवारधारी, लड़ाइँमा निपुण हुन्; रातको डरले गर्दा हरेक मानिसले आफ्नो तिघ्रामा आफ्नो तरवार भिरेको छ।
9 राजा सुलेमानले लेबानोनका काठहरूबाट आफ्ना निम्ति एउटा पालकी बनाउनुभएको छ।
10 उहाँले त्यसका खाँबाहरू चाँदीका, त्यसको पींध सुनको, त्यसको आसन बैजनी कपड़ाको बनाउनुभयो; त्यसको बीच भागचाहिँ यरूशलेमका छोरीहरूद्वारा प्रेमले जड़िएको थियो।
11 हे सियोनका छोरीहरूहो, निस्केर आओ, र मुकुट पहिरनुभएको राजा सुलेमानलाई हेर, जुन मुकुट उहाँकी आमाले उहाँलाई उहाँको विवाहको दिनमा र उहाँको हृदयको आनन्दको दिनमा पहिराइदिनुभएको थियो।