तिनले ती स्त्रीहरूलाई आफ्ना प्रियतमको विषयमा बताउँछिन्
2
मचाहिँ शारोनको गुलाफ र बेंसीहरूको लिली फूल हुँ।
2 काँड़ाहरूको बीचमा लिली फूलझैं छोरीहरूको बीचमा मेरी प्रिया छिन्।
3 वनका रूखहरूको बीचमा स्याउको रूखझैं छोराहरूको बीचमा मेरा प्रिय हुनुहुन्छ। उहाँको छायामुनि म आनन्दित भएर बसें; अनि उहाँको फल मेरो स्वादका निम्ति मीठो थियो
4 उहाँले मलाई भोजको घरमा ल्याउनुभयो; अनि ममाथि उहाँको झण्डाचाहिँ प्रेम थियो।
5 तिमीहरूले सुराही-सुराहीको दाखमद्यले मलाई सम्हालिराख! स्याउहरूले मलाई सान्‍त्‍वना देओ; किनकि म प्रेमको रोगी छु।
6 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगाल्छ।
7 हे यरूशलेमका छोरीहरूहो, म तिमीहरूलाई मृगीहरू र मैदानका हरिणीहरूको शपथ खुवाएर आज्ञा गर्छु: “जबसम्म प्रेमले चाहँदैन, तबसम्म त्यसलाई नउठाओ, र नजगाओ!”
8 मेरा प्रियको आवाज! हेर, उहाँ पहाड़हरूमाथि फड़्को मार्दै, डाँड़ाहरूमाथि उफ्रँदै आउनुहुन्छ।
9 मेरा प्रिय एउटा मृग वा जवान हरिणजस्तो हुनुहुन्छ; हेर, उहाँ नै हाम्रो पर्खालको पछिल्तिर उभिनुहुन्छ; जालीदार झ्यालहरूबाट आफूलाई प्रकट गर्दै उहाँ झ्यालहरूबाट हेर्नुहुन्छ।
10 मेरा प्रियले बोलेर मलाई भन्‍नुभयो: “हे मेरी प्रिया, हे मेरी सुन्दरी, उठ, र आइहाल!
11 किनकि हेर, जाड़ो समय बितिगयो; वर्षा पनि सिद्धियो, र गइसक्यो;
12 पृथ्वीमाथि फूलहरू देखा परिरहेका छन्; चराचुरुङ्गीहरूको गाउने समय आएको छ, र हाम्रो देशमा ढुकुर कुर्लेको सोर सुनिँदैछ;
13 नेभाराको रूखले आफ्ना हरिया-हरिया फलहरूमा सुवास भर्दैछ, अनि दाखका बोटहरूले कोमल अङ्‍गुरद्वारा सुगन्ध फैलाउँदैछन्। हे मेरी प्रिया, हे मेरी सुन्दरी, उठ, र आइहाल!
14 हे मेरी ढुकुर, तिमी जुन चट्टानका दरारहरूमा, भीरपहराका गुप्‍त ठाउँहरूमा हुन्छ्यौ; मलाई तिम्रो चेहरा हेर्न देऊ! मलाई तिम्रो सोर सुन्‍न देऊ; किनकि तिम्रो सोर मीठो छ, र तिम्रो चेहरा सुन्दर छ।
15 हाम्रा निम्ति ती स्यालहरू – ती साना स्यालहरू पक्रिदेओ, जसले दाखका बोटहरू बिगार्छन्; किनकि हाम्रा दाखका बोटहरूमा कोमल अङ्‍गुरहरू लागेका छन्।”
16 मेरा प्रिय मेरा हुनुहुन्छ, र मचाहिँ उहाँकी हुँ; उहाँ लिली फूलहरूको बीचमा चराउनुहुन्छ।
17 जबसम्म दिन ठण्डा हुँदैन र छायाहरू भाग्दैनन्, तबसम्म हे मेरा प्रिय, फर्कनुहोस्, र बेतेरका पहाड़हरूमाथि मृग वा जवान हरिणजस्तो हुनुहोस्!