बुद्धिमान् मानिसको चालचलन
11
आफ्नो रोटी पानीको सतहमाथि फालिदेऊ; किनभने धेरै दिनपछि तिमीले त्यो भेट्टाउनेछौ।
2 सातजनालाई भाग देऊ, अँ, आठजनालाई नै देऊ; किनकि पृथ्वीमाथि केकस्‍तो विपत्ति आइपर्नेछ, सो तिमी जान्दैनौ।
3 बादलहरू पानीले भरिएका छन् भने तिनैले पृथ्वीमाथि आफूलाई रित्त्याउँछन्; अनि रूख चाहे दक्षिणतिर, चाहे उत्तरतिर ढलोस्, त्यो रूख जहाँ ढलेको छ, त्यहीं रहनेछ।
4 जसले हावालाई हेरिबस्छ, त्यसले बीउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यसले कटनी गर्नेछैन।
5 जसरी तिमीले हावाको चाल के हो, सो जान्दैनौ, न ता गर्भवती स्त्रीको गर्भमा हड्डीहरू कसरी बढ़्छन्, सो जान्दछौ, त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्‍वरका कामहरू जान्दैनौ।
6 बिहान तिमीले आफ्नो बीउ छर, र साँझमा आफ्नो हात नरोक; किनभने यो कि त्यो – कुनचाहिँ सफल हुन्‍छ, कि दुवै पो उत्तिकै राम्रा हुन्‍छन् कि, सो तिमी जान्दैनौ।
7 साँच्‍चै ज्योति मीठो हुन्‍छ, र सूर्यलाई हेर्नु आँखाहरूका निम्ति मनोहर कुरा हो।
8 तर कुनै मानिस धेरै वर्षसम्म बाँच्यो भने, त्यसले ती सबै दिनहरू आनन्द गरोस्, र अन्धकारका दिनहरू सम्झना गरोस्; किनकि ती धेरै हुनेछन्। जे हुन आउँछ, त्यो सबै व्यर्थ हो।
हे युवाहो, न्‍याय सम्‍झेर आन्‍नद गर!
9 हे जवान मानिस, आफ्नो जवानीमा आनन्द गर; अनि आफ्नो जवानीका दिनहरूमा तिम्रो हृदयले तिमीलाई आनन्दित तुल्याओस्, अनि आफ्नो हृदयका इच्छाहरूअनुसार र आँखाहरूको दृष्‍टिअनुसार हिँड़! तर तिमीले जानिराख: यी सबै कुराहरूको विषयमा परमेश्‍वरले तिम्रो न्याय गर्नुहुनेछ।
10 यसैकारण आफ्नो हृदयबाट चित्तदु:खाइ हटाऊ, र आफ्नो शरीरबाट खराबी पर सार; किनभने बाल्यावस्था र जवानी व्यर्थै हुन्।