युवा अवस्‍थामा नै आफ्नो सृष्‍टिकर्तालाई सम्झना गर!
12
अनि आफ्नो जवानीका दिनहरूमा, ती खराब दिनहरू आउनुभन्दा पहिल्यै, अँ, ती वर्षहरू नजिकै आउनुभन्दा अघि नै, जुन घड़ी तिमीले भन्‍नेछौ: ‘यी कुराहरूमा मलाई कति पनि आनन्द छैन’, तिमीले आफ्ना सृष्‍टिकर्तालाई सम्झना गर!
2 अर्थात् सूर्य, उज्यालो, चन्द्रमा र ताराहरू अँध्यारो हुनुभन्दा र झरीवर्षापछि बादलहरू फर्केर आउनुभन्दा पहिल्यै;
3 त्यस दिनमा, जुन समय घरका रक्षकहरू काम्‍नेछन्, बलवान् मानिसहरू झुक्नेछन्, थोरै भएकाले पिँध्‍नेहरूले काम गर्न छोड़्‍नेछन् र झ्यालहरूबाट बाहिर हेर्नेहरू अँध्यारा हुनेछन्;
4 अनि जब पिँधाइको आवाज धीमा हुन्‍छ, तब सड़कमा ढोकाहरू बन्द गरिनेछन्, अनि चराको आवाज सुन्‍नसाथ त्यो उठ्नेछ, र सबै गायिकाहरूको सोर धीमा पारिनेछन्;
5 अँ, तिनीहरू अग्लो कुरादेखि डराउनेछन्, बाटोहुँदो डरैडर हुनेछ र हाड़े बदामको बोट फुल्नेछ, फट्याङ्ग्रो बोझ हुनेछ र चाहना मर्नेछ; किनभने मानिस आफ्नो अनन्त घरमा जानेछ, र विलाप गर्नेहरू सड़कहुँदो फिर्नेछन्;
6 चाँदीको तार चुँड़िनुअघि, सुनको कचौरा फोरिनुअघि, मुहानमा गाग्रो फुट्नुअघि अथवा इनारमा चक्‍का भाँचिनुअघि आफ्ना सृष्‍टिकर्तालाई सम्झना गर!
7 तब माटो जस्तो थियो, त्यस्तै पृथ्वीमा फर्कनेछ; अनि आत्मा परमेश्‍वरकहाँ फर्कनेछ, जसले त्यो दिनुभएको थियो।
8 उपदेशकले भन्छन्: व्यर्थै-व्यर्थ; सबै कुरा व्यर्थ!
9 अनि यसबाहेक उपदेशक बुद्धिमान् भएका हुनाले तिनले मानिसहरूलाई अझै ज्ञान सिकाइरहे; अँ, तिनले ध्यान लगाए, खोजतलाश गरे र धेरै हितोपदेशहरू क्रमैसँग राखिदिए।
10 उपदेशकले आनन्द दिने वचनहरू पाउने यत्‍न गरे, अनि जे लेखिए, ती ठीक थिए, अँ, सत्यका वचनहरू थिए।
11 बुद्धिमान्‌हरूका वचनहरू तीखा सुइराहरूजस्ता हुन्‍छन्, र उक्तिहरूका संग्रहहरू गाड़िएका काँटीहरूजस्ता हुन्‍छन्, जो एउटै गोठालाबाट दिइएका हुन्।
12 अनि यसबाहेक हे मेरा छोरा, यी कुराहरूबाट चेताउनी लेऊ! धेरै पुस्तकहरूको रचनाको अन्त छैन; अनि धेरै अध्ययन गर्नुचाहिँ शरीरलाई थकाउनु हो।
13 सम्पूर्ण कुराको निष्कर्ष के हो, सुनौं: परमेश्‍वरको भय मान, र उहाँका आज्ञाहरू पालन गर; किनभने मानिसको सम्पूर्ण कर्तव्य यही हो।
14 किनकि परमेश्‍वरले हरेक काम र हरेक गुप्‍त कुराको न्याय गर्नुहुनेछ, चाहे त्यो असल होस्, चाहे खराब।