सबैको एउटै दशा हुन्‍छ
9
किनभने यो सबै कुरा जाँचेर पत्ता लगाउन सकूँ भनेर मैले यो सबै कुरा आफ्नो हृदयमा राखें: धर्मी जनहरू र बुद्धिमान् मानिसहरू अनि उनीहरूका कामहरू परमेश्‍वरको हातमा हुँदा रहेछन्; मानिसले न प्रेमलाई न घृणालाई बुझ्न सक्दो रहेछ; तापनि सबै कुरा तिनीहरूकै सामु छँदै छन्।
2 सबै कुरा सबैमाथि बराबरी आइपर्छन् –धर्मी जनमाथि र अधर्मीमाथि एउटै घटना आइपर्छ; भलो, शुद्ध र अशुद्धमाथि पनि; बलिदान चढ़ाउने र बलिदान नचढ़ाउनेमाथि पनि; जस्तो भलोमाथि, त्यस्तै पापीमाथि पनि; त्यस्तै शपथ खाने र शपथ खानदेखि डराउनेमाथि पनि आइपर्छ।
3 सूर्यमुनि गरिएका सबै कुराहरूमध्ये एउटा खराबी यो हो: सबैको एउटै दशा हुन्‍छ; अँ, मानिसका सन्तानहरूको हृदय पनि खराबीले भरपूर छ, अनि तिनीहरू जीवित रहँदा तिनीहरूको हृदयमा पागलपन हुन्‍छ, र त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जान्छन्।
4 जो सबै जीवितहरूसँग जोड़िएको छ, उसका निम्ति आशा छ; किनभने जिउँदो कुकुरचाहिँ मरेको सिंहभन्दा उत्तम हो।
5 किनकि जीवितहरूले ‘हामी मर्छौं’ भनी जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्, न ता अब उसो तिनीहरूका निम्‍ति केही प्रतिफल हुन्‍छ; किनभने सम्झनाधरि बिर्सिएको छ।
6 साथै तिनीहरूको प्रेम र तिनीहरूको घृणा, अँ, तिनीहरूको डाहा पनि नष्‍ट भइसक्यो; अब उसो सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको कहिल्यै कुनै हिस्‍सा हुँदैन।
जीवन उपभोग गर!
7 आफ्नो बाटो लाग, आफ्नो रोटी आनन्दसित खाऊ र आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर तिम्रा कामहरूसँग पहिल्यै प्रसन्‍न हुनुभएको छ।
8 तिम्रा वस्त्रहरू सधैं सेता होऊन्; अनि तिम्रो शिरमाथि तेलको कमी नहोस्!
9 सूर्यमुनि परमेश्‍वरले तिमीलाई दिनुभएको तिम्रो व्यर्थको सारा जीवनभरि नै, तिम्रो व्यर्थताका सबै दिनहरूमा आफ्नी पत्‍नीसँग जीवन उपभोग गर, जसलाई तिमी प्रेम गर्छौ; किनकि यस जीवनमा, अँ, तिमीले सूर्यमुनि मेहनतसित गरेको तिम्रो परिश्रमबाट तिम्रो भाग यही हो।
10 तिम्रो हातले गर्नलाई जे भेट्टाउँछ, त्यो आफ्नो शक्तिभर गर; किनभने चिहानमा, जहाँ तिमी जाँदैछौ, कुनै काम, कुनै युक्ति, कुनै ज्ञान र कुनै बुद्धि हुँदैन।
11 म फर्कें, र सूर्यमुनि मैले देखें: दौड़ फुर्तिलाहरूका निम्ति होइन रहेछ, न ता लड़ाइँ बलवान्‌हरूका निम्ति हुँदो रहेछ, न ता रोटी बुद्धिमान्‌हरूका निम्ति, न धन समझदार मानिसहरूका निम्ति, न ता अनुग्रह निपुण मानिसहरूका निम्ति हुँदो रहेछ; तर ती सबैमाथि समय र संयोग आइपर्दो रहेछ।
12 किनकि मानिसले पनि आफ्नो समय जान्दैन; दुष्‍ट जालमा परेका माछाहरूजस्तै र पासोमा फसेका चराहरूजस्तै मानिसका सन्तानहरू पनि दुर्दिनमा फस्छन्, जब त्यो एक्‍कासि तिनीहरूमाथि आइपर्छ।
बलभन्दा बुद्धि नै उत्तम हो
13 सूर्यमुनि मैले यो बुद्धि पनि देखेको छु, र यो मलाई ठूलो लाग्यो:
14 एउटा सानो शहर थियो, जसमा थोरै मानिसहरू थिए; अनि त्यसको विरोधमा एउटा ठूला राजा आए, त्यसलाई घेरा हाले र त्यसको विरोधमा ठूला-ठूला घेराबन्दी बनाए।
15 अनि त्यसभित्र एकजना गरिब बुद्धिमान् मानिस भेट्टाइयो; अनि उसले नै त्यस शहरलाई आफ्नो बुद्धिले छुटायो; तैपनि यस गरिब मानिसलाई कसैले सम्झना गरेन।
16 तब मैले भनें: ‘बलभन्दा बुद्धि नै उत्तम हो’; तर पनि गरिब मानिसको बुद्धि तुच्छ ठानिन्छ, र उसका वचनहरूको सुनाइ हुँदैन।
17 मूर्खहरूमाथि शासन गर्ने मानिसको चिच्च्याहटभन्दा बुद्धिमान् मानिसहरूका वचनहरू शान्त भावमा बढ़ी सुनिन्छन्।
18 लड़ाइँका हातहतियारहरूभन्दा बुद्धि उत्तम हो; तर एकैजना पापीले धेरै असल कुराहरू नष्‍ट पार्छ।