8
बुद्धिमान् मानिसजस्तो को छ? अनि कसले कुनै कुराको अर्थ जान्दछ? मानिसको बुद्धिले उसको चेहरा चम्काइदिन्छ, र उसको चेहराको कठोरता बदलिन्छ।
राजाको आज्ञा पालन गर!
2 म तिमीलाई सल्‍लाह दिन्छु: परमेश्‍वरको शपथको कारणले नै राजाको आज्ञा पालन गर!
3 तिनको उपस्थितिबाट निस्कन हतार नगर; खराब कुरामा खड़ा नहोऊ; किनकि तिनले आफूलाई जे मन पर्छ, त्यही गर्छन्।
4 राजाको वचनमा अधिकार हुन्‍छ; तब कसले तिनलाई भन्‍न सक्छ: ‘तपाईंले के गर्दै हुनुहुन्‍छ?’
5 जसले आज्ञा पालन गर्छ, उसले कुनै खराबीको महसुस गर्दैन; अनि बुद्धिमान् मानिसको हृदयले दुवै समय र न्याय खुट्‍ट्याउँछ
6 किनभने हरेक कामकुराका निम्ति समय र न्याय हुन्‍छ; यसैले मानिसको दुःख उसमाथि ठूलो हो;
7 किनकि के हुनेछ, सो उसले जान्दैन; किनभने त्यो कहिले हुनेछ, सो कुरा कसले उसलाई बताउन सक्छ र?
8 आत्मालाई रोकेर राख्‍नका निम्ति आत्मामाथि अधिकार भएको कुनै मानिस छैन, न ता मृत्युको दिनमाथि कसैको अधिकार हुन्‍छ, न ता लड़ाइँमा छुट्टी पाइन्छ; अनि दुष्‍टता गर्नेहरूलाई दुष्‍टताले छुटाउनेछैन।
9 यो सबै कुरा मैले देखेको छु, र सूर्यमुनि गरिएको हरेक कामप्रति आफ्नो हृदय लगाएको छु; यस्तो एउटा समय हुन्‍छ, जसमा कुनै मानिसले आफ्नै हानिका निम्ति अर्को मानिसमाथि अधिकार जमाउँछ।
परमेश्‍वरको भय मान्‍नेको भलाइ हुन्‍छ
10 अनि यसरी नै मैले दुष्‍ट मानिसहरू गाड़िएका देखें, जो पवित्रस्थानबाट आए र गए पनि; अनि तिनीहरू त्यस शहरमा बिर्सिए, जहाँ तिनीहरूले यसो गरेका थिए; यो पनि व्यर्थै हो।
11 खराब कामको दण्ड झट्टै दिइँदैन; यसैले मानिसका सन्तानहरूभित्र तिनीहरूको हृदय खराब काम गर्नमा पूर्ण रूपले लग्गू भएको हुन्‍छ।
12 यद्यपि पापीले सयपल्ट खराब काम गरोस्, र आफ्नो आयु बढ़ाओस्, तैपनि म निश्‍चय जान्दछु: जसले परमेश्‍वरको भय मान्दछन्, जो उहाँको सामु डराउँछन्, उनीहरूको भलो हुनेछ;
13 तर दुष्‍टको भलो हुनेछैन, न ता त्यसले आफ्नो आयु छायाजस्तै बढ़ाउनेछ; किनभने त्यो परमेश्‍वरको सामु डराउँदैन।
14 एउटा व्यर्थ कुरा छ, जो पृथ्वीमा गरिन्छ: यस्ता धर्मी जनहरू छन्, जसको दशा दुष्‍टहरूको कामअनुसार हुन्‍छ; फेरि यस्ता दुष्‍ट मानिसहरू हुन्‍छन्, जसको दशा धर्मी जनहरूको कामअनुसार हुन्‍छ; मैले भनें: ‘यो पनि व्यर्थै हो।’
15 तब मैले खुशी-आनन्दलाई सराहना गरें; किनकि सूर्यमुनि मानिसका निम्ति खानु, पिउनु र आनन्द गर्नुभन्दा उत्तम अरू कुनै कुरा छैन; किनभने परमेश्‍वरले सूर्यमुनि उसलाई दिनुभएको उसको जीवनका दिनहरूमा उसको परिश्रमबाट यही उसको साथमा रहनेछ।
16 जब मैले बुद्धि जान्‍नमा र पृथ्वीमाथि गरिने कामधन्धा हेर्नमा आफ्नो मन लगाएँ; (किनभने कोही छ, जसका आँखाहरूमा न दिनले निद्रा देख्छ, न रातले);
17 तब मैले परमेश्‍वरको सबै काम हेरें; अँ, सूर्यमुनि गरिएको काम मानिसले पत्ता लगाउन सक्दैन; किनकि यसलाई खोजिनिकाल्न कुनै मानिसले मेहनत गरे तापनि त्यसले यसलाई पत्ता लगाउनेछैन; अनि त्यत्ति मात्र होइन, कुनै बुद्धिमान् मानिसले यसलाई जान्‍ने विचार गरे तापनि उसले यसलाई पत्ता लगाउन सक्नेछैन।