असल यो हो
7
सुनामचाहिँ बहुमूल्य तेलभन्दा, र मृत्युको दिनचाहिँ कसैको जन्म-दिनभन्दा असल हो।
2 भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो; किनभने सबै मानिसहरूको अन्त यही हो; अनि जीवित मानिसले यो कुरा आफ्नो हृदयमा राख्‍नेछ।
3 हाँसोभन्दा शोक असल हो; किनकि चेहराको उदासीपनले हृदय असल बनिन्छ।
4 बुद्धिमान्‌हरूको हृदय शोकको घरमा हुन्‍छ, तर मूर्खहरूको हृदय हर्षोल्‍लासको घरमा हुन्‍छ।
5 मानिसका निम्ति मूर्खहरूको गीत सुन्‍नुभन्दा बुद्धिमान्‌को हप्की सुन्‍नु असल हो।
6 किनकि भाँड़ामुनि काँड़ाहरू पड़्केको आवाज जस्तो हुन्‍छ, मूर्खको हाँसो पनि त्यस्तै हुन्‍छ; यो पनि व्यर्थ हो।
7 निश्‍चय थिचोमिचोले बुद्धिमान् मानिसलाई पागल तुल्याउँछ, र घूसले हृदयलाई नष्‍ट पार्छ।
8 कुनै कुराको शुरुभन्दा त्यसको अन्त असल हो; धीरजी आत्माचाहिँ घमण्डी आत्माभन्दा असल हो।
9 रिसाउनलाई आफ्नो आत्मामा हड़बड़ नगर; किनभने मूर्खहरूको छातीमा रिसले वास गर्छ।
10 ‘पहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा असल थिए, यसको कारण के हो?’ भनी नभन; किनभने यस विषयमा तिमीले बुद्धिमानीसाथ सोधखोज गर्दैनौ।
11 पैतृक सम्पत्तिको साथमा बुद्धि हुनु असल हो, र सूर्य देख्‍नेहरूका निम्ति यसबाट लाभ हुन्‍छ।
12 किनकि बुद्धि एउटा आश्रय हो, र पैसा पनि एउटा आश्रय हो; तर ज्ञानको उत्तमता यो हो कि बुद्धिले बुद्धि हुनेहरूलाई जीवित राख्‍नेछ।
13 परमेश्‍वरको कामलाई विचार गर! किनभने जे उहाँले बाङ्गो बनाउनुभएको छ, त्यसलाई कसले सीधा पार्न सक्छ?
14 फलिफापको दिनमा आनन्द मनाऊ, तर विपत्तिको दिनमा विचार गर! परमेश्‍वरले एउटाको साथमा अर्कोलाई पनि राख्‍नुभएको छ, यस हेतुले कि मानिसले आफूपछि के हुने हो, सो बारेमा केही पनि थाहा नपाओस्।
15 मेरा व्यर्थका दिनहरूमा मैले सबै कुराहरू देखेको छु। कुनै धर्मी मानिस छ, जो आफ्नो धार्मिकतामा नाश हुन्‍छ; अनि कुनै दुष्‍ट मानिस छ, जसले आफ्नो दुष्‍टतामा आफ्नो आयु बढ़ाउँछ।
16 ज्यादै धर्मी नहोऊ, न ता आफूलाई बढ़ी बुद्धिमान् तुल्याऊ! तिमीले आफूलाई किन नाश पार्छौ?
17 ज्यादै दुष्‍ट नहोऊ, न ता मूर्ख होऊ! तिमी आफ्नो समयभन्दा पहिल्यै किन मर्छौ?
18 तिमीले यो कुरा पक्रिराखेको असल हो; अँ, यस कुराबाट पनि आफ्नो हात नहटाऊ! किनभने जसले परमेश्‍वरको भय मान्छ, ऊ ती सबैबाट निस्केर आउनेछ।
19 बुद्धिले बुद्धिमान् मानिसलाई शहरमा हुने दसजना शासकभन्दा बढ़ी बलवान् तुल्याउँछ।
20 किनकि पृथ्वीमा भलाइ गर्ने र पाप नगर्ने कुनै धर्मी मानिस छैन।
21 बोलिएका सबै वचनहरूप्रति ध्यान नदेऊ; नत्र ता तिम्रो नोकरले तिमीलाई सरापेको तिमीले सुन्‍नेछौ।
22 किनभने तिम्रो हृदयले जान्दछ, धेरैपल्ट तिमीले पनि त्यसरी नै अरूलाई सरापेका छौ।
23 यो सबै कुरा मैले बुद्धि लगाएर जाँचेको छु; मैले भनें: ‘म बुद्धिमान् हुनेछु’; तर यो त मबाट टाढ़ै रह्‍यो।
24 जे कुरा टाढ़ा छ र ज्यादै गहिरो छ, त्‍यो कुरा कसले भेट्टाउन सक्छ?
25 बुद्धि र कुराहरूको कारण जान्‍न, खोजतलाश गर्न र खोजेर भेट्टाउन, साथै मूर्खता, अँ, मुर्ख्याइँ र पागलपनको दुष्‍टता जान्‍न मैले आफ्नो हृदय लगाएँ।
26 अनि मैले मृत्युभन्दा तीतोचाहिँ त्यस स्त्रीलाई भेट्टाएँ, जसको हृदय पासाहरू र जालहरू हो, जसका हातहरूचाहिँ साङ्लाहरू हुन्; जसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ, ऊ त्यसबाट उम्कनेछ; तर पापीचाहिँ त्यसद्वारा पक्राउ पर्नेछ
27 उपदेशकले भन्छन्: ‘हेर, कारण पत्ता लगाउन मैले एकको पछि अर्को कुरा तौलेर यो पत्ता लगाएको छु:
28 जुन कुरा अझै पनि मेरो मनले खोज्दैछ, तर मैले भेट्टाएको छैनँ: हजारमा मैले एकजना पुरुषलाई भेट्टाएको छु, तर ती सबैको बीचमा मैले एउटै स्त्रीलाई पनि भेट्टाएकै छैनँ।
29 हेर, मैले यो मात्र भेट्टाएँ: परमेश्‍वरले मानिसलाई सीधा चालको बनाउनुभएको हो, तर तिनीहरूले चाहिँ धेरै युक्तिहरू निकालेका रहेछन्।’