धन, दौलत र मानमा हुने व्यर्थता
6
एउटा खराबी छ, जुनचाहिँ मैले सूर्यमुनि देखेको छु, अनि यो प्राय: सबै मानिसहरूमा पाइन्छ।
2 एकजना मानिस छ, जसलाई परमेश्‍वरले धन, दौलत र मान दिनुभएको छ, यहाँसम्म कि त्यसले चाहना गरेका सबै कुराहरूमध्ये एउटै पनि त्यसलाई आफ्नो प्राणका निम्ति कमी हुँदैन; तरै पनि परमेश्‍वरले त्यसलाई त्यसबाट खाने शक्ति दिनुहुन्‍न, तर कुनै पराईले त्यो खाइदिन्छ; यो व्यर्थ हो; अनि यो एउटा खराब रोग हो।
3 कुनै मानिसले सयजना छोराहरूलाई जन्माओस्, धेरै वर्षसम्म बाँचोस् र त्यसको आयु धेरै होस्, तर त्यसको प्राण असल कुराले तृप्‍त भएन भने, साथै त्यसले दफन-संस्कार पनि पाएन भने, म भन्दछु, त्यो मानिसभन्दा त तुहेको बच्‍चा नै असल हो।
4 किनभने यो व्यर्थताको साथमा आउँछ, र अन्धकारमा गइहाल्छ, अनि यसको नाम अन्धकारले ढाकेको हुनेछ।
5 त्यसबाहेक यसले घाम पनि देखेको हुँदैन, न ता कुनै कुरा जानेको हुन्‍छ; अर्कोले भन्दा यसले नै बढ़ी विश्राम पाएको हुन्‍छ।
6 हो, त्यो दुईपल्ट हजार वर्ष बाँच्यो, तर पनि त्यसले कुनै असल कुरा देखेन भने, के सबैजना एकै ठाउँमा जाँदैनन् त?
7 मानिसको सारा परिश्रम त्यसको मुखैका निम्ति हो, र पनि त्यसको प्राण तृप्‍त हुँदैन
8 किनकि एउटा बुद्धिमान् मानिससँग मूर्खसँग भन्दा बढ़ी के छ र? जीवितहरूको सामु कसरी हिँड़्नुपर्छ, सो जान्‍ने गरिबसँग के छ र?
9 मन डुलिहिँड़्नुभन्दा आँखाहरूले देख्‍नु उत्तम हो; यो पनि व्यर्थ हो, र आत्माको खिन्‍नता हो।
10 जे भइरहेको छ, त्यसको नाम पहिल्यै लिइसकेको थियो, र त्यो त मानिस मात्र हो रहेछ भनी जानिएको छ; अनि आफूभन्दा शक्तिशालीसँग त्यो लड़्न सक्दैन।
11 किनकि धेरै कुराहरू छन्, जसले व्यर्थता बढ़ाउँछन्; त मानिससँग बढ़ी के छ र?
12 किनभने यस जीवनमा अर्थात् मानिसले छायाझैं बिताउने त्यसको व्यर्थ जीवनका सबै दिनहरूमा त्यसका निम्ति के असल छ, सो कसले जान्दछ र? किनकि कसले मानिसलाई त्यसको पछि सूर्यमुनि के हुनेछ, सो बताउन सक्छ र?