परमेश्‍वरको भय मान!
5
परमेश्‍वरको भवनमा जाँदा आफ्नो पाउसित होशियारी गर, र मूर्खहरूको बलिदान चढ़ाउनुभन्दा बरु सुन्‍नलाई नजिक आऊ! किनकि मूर्खहरू आफूले खराबी गरिरहेका जान्दैनन्।
2 आफ्नो मुखले बोल्नलाई हड़बड़ नगर, र परमेश्‍वरको सामु कुनै कुरा बोल्नलाई तिम्रो हृदयले हतार नगरोस्; किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्‍छ, र तिमीचाहिँ पृथ्वीमाथि छौ; यसैले तिम्रा शब्दहरू थोरै होऊन्!
3 किनभने ज्यादै कामधन्धा भएको हुनाले सपना देखिन्छ; अनि ज्यादै शब्दहरू बोलेकोबाट मूर्खको सोर चिनिन्छ।
4 जब तिमीले परमेश्‍वरसित भाकल गर्दछौ, तब त्यो पूरा गर्न ढिलो नगर; किनकि उहाँ मूर्खहरूसँग प्रसन्‍न हुनुहुन्‍न; तिमीले जे भाकल गरेका छौ, त्यो पूरा गर!
5 भाकल गरेर पूरा नगर्नुभन्दा भाकलै नगर्नु असल हो।
6 तिम्रो मुखले तिम्रो शरीरलाई पाप गर्न नलगाओस्, र स्वर्गदूतको अघि ‘यो त भूल भएछ’ नभन! तिम्रो सोरले गर्दा परमेश्‍वरलाई किन रिस उठोस्, र किन उहाँले तिम्रा हातको काम नष्‍ट पारून्?
7 किनभने सपनाहरूको भीड़मा व्यर्थताहरू हुन्‍छन्, र शब्दहरूको थुप्रोमा पनि; तर तिमीले परमेश्‍वरको भय मान!
जीवनमा हुने अरू व्यर्थताहरू
8 यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि थिचोमिचो भएको अनि जबरजस्तीसँग न्याय र धार्मिकता खोसिएको देख्यौ भने यस कुरामा छक्‍क नपर; किनकि एक अझ उच्‍च जनले अर्को उच्‍च जनलाई हेरिरहेका हुन्‍छन्; अनि तिनीहरूभन्दा अझ उच्‍च एकजना हुनुहुन्‍छ।
9 अनि भूमिको लाभचाहिँ सबैका निम्ति हो; खेतबारीबाटै राजाको पनि सेवा हुन्‍छ।
10 जसले चाँदीलाई प्रेम गर्छ, त्यो चाँदीले तृप्‍त हुनेछैन; न ता भरपूरीलाई प्रेम गर्ने मानिस फलिफापबाट सन्तुष्‍ट हुनेछ; यो पनि व्यर्थ हो।
11 जब सम्पत्ति बढ़्छ, तब त्यसलाई खानेहरू पनि बढ़्छन्; अनि त्यसलाई आफ्ना आँखाहरूले हेर्नुबाहेक त्यसका मालिकहरूलाई अरू के फाइदा हुन्‍छ र?
12 परिश्रम गर्ने मानिसले चाहे थोरै खाओस्, चाहे धेरै, उसका निम्ति निद्रा मीठो हुन्‍छ; तर धनी मानिसको भरपूरीले उसलाई निदाउन दिँदैन।
13 सूर्यमुनि मैले एउटा दु:खदायी खराबी देखेको छु: त्योचाहिँ त्यो धन हो, जो त्यसका मालिकहरूद्वारा तिनीहरूको हानिका निम्ति साँचेर राखिएको हुन्‍छ।
14 तर त्यो धन खराब कामधन्दाद्वारा नष्‍ट हुन्‍छ; अनि उसले एउटा छोरा जन्माउँछ; तर उसको हातमा केही पनि हुँदैन।
15 आफ्नी आमाको गर्भबाट जसरी त्यो निस्केर आयो, त्यसरी नै त्यो नाङ्गै, जस्तो आयो, त्यस्तै जानलाई फर्किजानेछ; अनि आफ्नो परिश्रमबाट त्यसले आफ्नो साथमा लानलाई केही पनि लैजानेछैन।
16 अनि यो पनि एउटा दु:खदायी खराबी हो: हर प्रकारले त्यो जस्तो आयो, त्यस्तै फर्कनेछ; तब हावाका निम्ति मेहनत गरेर त्यसलाई के लाभ भयो र?
17 आफ्नो जीवनभरि नै त्यसले अन्धकारमा खान्छ, र त्यसको रोगको साथमा त्यसलाई धेरै शोक र क्रोध हुन्‍छ।
18 मैले देखेको असल र सुन्दर कुरा हेर! परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको सारा जीवनभरि त्यसले खाओस्, पिओस् र सूर्यमुनि आफूले मेहनतसित गरेको सारा परिश्रमबाट असल कुरा उपभोग गरोस्; किनकि त्यसको भाग यही हो।
19 अँ, हरेक मानिसका निम्‍ति, जसलाई परमेश्‍वरले धन र दौलत दिनुभएको छ र त्यसलाई त्यसबाट खाने, आफ्नो भाग लिने र आफ्नो परिश्रममा आनन्दित हुने शक्ति दिनुभएको छ – यो पनि परमेश्‍वरको दान हो।
20 किनकि त्यसले आफ्नो जीवनका दिनहरू धेरै सम्झना गर्नेछैन; किनभने परमेश्‍वरले त्यसलाई त्यसको हृदयको आनन्दले जवाफ दिनुहुन्‍छ।