धेरै प्रकारका व्यर्थताहरू
4
तब म फर्कें, र सूर्यमुनि गरिएका सबै थिचोमिचोहरूमाथि मैले ध्यान दिएँ; अनि हेर, ती थिचोमिचोमा परेकाहरूका आँसु! तर तिनीहरूलाई सान्‍त्‍वना दिने कोही थिएन; अनि तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा शक्ति थियो, तर तिनीहरूलाई सान्‍त्‍वना दिने कोही भएन।
2 यसैले ती जीवितहरूलाई भन्दा, जो अझ जिउँदा छन्, मैले ती मरेकाहरूको बढ़ी प्रशंसा गरें, जो अघि मरिसके।
3 अँ, ती दुवैभन्दा असल त त्यो मानिस हो, जो अझ जन्मेको छैन र जसले सूर्यमुनि गरिएको खराब काम देखेको छैन।
4 अनि मैले सबै परिश्रम र हरेक कामको निपुणतामाथि ध्यान दिएँ, जसका निम्ति एक मानिसले अर्को मानिसलाई डाहा गर्छ। यो पनि व्यर्थ हो, र आत्माको खिन्‍नता हो।
5 मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नै मासु खान्छ।
6 परिश्रम र आत्माको खिन्‍नताको साथमा दुई मुठी हुनुभन्दा चैनको साथमा एक मुठी हुनु उत्तम हो।
7 तब म फर्कें, र सूर्यमुनि अर्को के व्यर्थता देखें भने,
8 एकजना एकलो मानिस रहेछ, र दोस्रो कोही छैन रहेछ; अँ, उसको न छोराछोरी छ, न दाजुभाइ; तैपनि उसको सारा परिश्रमको अन्त छैन; न ता उसको आँखा धनसम्पत्तिले तृप्‍त हुन्‍छ; न ता उसले भन्छ: ‘कसका निम्ति म परिश्रम गर्दैछु, र आफ्नो प्राणलाई असल कुराको घटीमा राख्दैछु?’ यो पनि व्यर्थै हो, अँ, एउटा साह्रै कष्‍टदायक कुरा हो।
9 एकजनाभन्दा दुईजना असल हुन्; किनभने तिनीहरूले आफ्नो परिश्रमको असल प्रतिफल पाउँछन्।
10 किनकि तिनीहरू लोटे भने एकजनाले आफ्नो साथीलाई उठाउनेछ; तर हाय त्यसलाई, जो लोट्दाखेरि एकलै हुन्‍छ; किनभने त्यसलाई उठाउने अर्को कोही हुँदैन।
11 फेरि, दुईजना सँगै सुते भने तिनीहरू न्याना हुन्‍छन्; तर एकलो भएर एकैजना कसरी न्यानो हुन सक्छ?
12 अनि कसैले एकजनालाई जित्यो भने दुईजनाले त्यसको सामना गर्नेछन्; अनि तीन पोयाले बाटेको डोरी झट्टै चुड़िँदैन।
13 गरिब, तर बुद्धिमान् ठिटोचाहिँ ती वृद्ध, तर मूर्ख राजाभन्दा उत्तम हो, जसले फेरि पनि चेताउनी लिन जान्दैनन्।
14 किनकि आफ्नो राज्यमा ऊ गरिब जन्मेको भए तापनि झ्यालखानाबाट ऊ राज्य गर्न पुग्छ।
15 मैले सूर्यमुनि हिँड़्‍डुल गर्ने सबै जीवितहरूलाई उसको सट्टामा खड़ा हुने दोस्रो ठिटाको साथमा देखें।
16 सबै मानिसहरूको, अँ, तिनीहरूभन्दा पहिले भएकाहरू सबैको कुनै अन्त छैन; साथै पछि आउनेहरू पनि उससँग आनन्दित हुनेछैनन्। साँच्‍चै यो पनि व्यर्थ हो, र आत्माको खिन्‍नता हो रहेछ।